पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, रोकिए उपभोग्य सामान बोकेका गाडी

जुम्ला । लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
दैलेखको किटु, कालीकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ। आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
‘राजमार्ग अवरुद्ध हुँदा कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर आएका गाडी बाटोमा रोकिएका छन्,’ उनले भने, ‘वर्षा नरोकिएका कारणले पहिरो पन्छाए पनि पुनः पहिरो आउँदा राजमार्ग खुलाउन समस्या भएको छ।’






