अनि दिपाले उत्तमको प्रस्ताव स्वीकार गरिन्
दिपा खराल ÷ उत्तम रिजाल
जीवन सहज छैन । तर मानिसले मेहनत र लगावबाटै जीवनलाई सहज भने बनाउन
सक्छ । जीवनको सुरुवात पढाइबाट हुन्छ । पढ्ने क्रममा घर र परिवार छाडेर टाढा
जानुपर्ने हुन्छ । त्यही क्रममा नयाँ मानिससँग भेट हुन्छ । कतिपयका नजरहरु ठोकिन्छन् ।
अनि एकअर्कामा मन पराउन थाल्छन् । माया गहिरो बनेपछि जीवनभर सँगै जीउने कसम
खान्छन् । यस्तै भयो दैलेखका उत्तम रिजाल र सुर्खेतकी दिपा खरालको जीवनमा पनि ।
प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको शारासंः
पहिलो भेटमै आकर्षित
उत्तम रिजाल दैलेखबाट जेटिएको ओजेटी गर्न सुर्खेतको साटाखानी पुगे । उनी केही महिना साटाखानीमै बसेर ओजेटी गर्न थाले । ओजेटी गर्ने क्रममा उनको साटाखानीकी दिपा खरालसँग भेट भयो । उत्तम पहिलो भेटमै दिपाप्रति आकर्षित भए ।
त्यो दिनलाई सम्झदै उनी भन्छन, ‘त्यो दिन उनलाई देखेपछि फरक अनुभुति भयो ।’ उनले त्यो दिन नै बोलाउने खोजे । तर बोलाउन सकेनन् । उत्तम बस्ने घर नजिकै दिपाको घर थियो । उनले हरेक दिन उनलाई देख्ने गर्थे । भेट पनि हुन्थ्यो ।
चिनजान भए पनि राम्रोसँग बोलचाल भएको थिएन । लामो समय उत्तम त्यही गाउँमा बसेपछि चिनजान राम्रै भयो । तर कुराकानी भने राम्रोसँग हुदैन्थ्यो । परिचय भने उनीहरु बिचमा भइसकेको थियो । दिपा पनि उत्तमप्रति आकर्षित भएकी थिइन् । तर दुबै जनाले एकअर्कालाई सबै कुरा भन्न सकेका थिएनन् ।
दोस्रो पटकमा प्रेम प्रस्ताव स्वीकार
उनिहरु एकअर्कामा आकर्षित भएको बोलाइ र हेराइबाटै दुबै जनाले बुझेका थिए। दिपाले मन पराएको कुरा उत्तमले बुझेपछि उनले भावनात्मक कुरा गर्न थाले । दिपा अझै आकर्षित र नजिक हुन थालिन् । उत्तमले उनको बानी व्यवहार राम्रो मान्थे ।
कहिलेकाँही भेट भएको बेला उत्तमले दिपाको प्रसंशासमेत गर्थे । दिपा भन्छिन, ‘मन पराएको मान्छेको प्रसंशा सुन्दा संसार जितेको जस्तो लाग्दो रहेछ ।’ अनि दुबै जनाले एक अर्कालाई बुझि सकेका थिए । एकदिन उत्तमले उनलाई भेटेको बेला आफुले मन पराएको कुरा व्यक्त गरे । दिपाले उनको कुरा सुनेपछि सपना जस्तो मानिन् । उनी धेरै खुशी भइन् । किनकी उत्तमलाई उनले साह्रै मन पराएकी थिइन् ।
तर उनले त्यो दिन केही जवाफ नदिएर घर गइन् । अर्को दिन पनि उनीहरु भेट भए । त्यो दिन दिपा अलि लजालु देखिएकी थिइन् । उत्तमले फेरी पनि मन पराएको कुरा दोहोर्याए । त्यसपछि उनले लजाउँदै हुन्छ भनिन् । उनीहरु एकअर्कामा प्रेमी प्रेमीकाको रुपमा सम्बन्ध स्थापित गरे । उनीहरुमा कसैले थाहा पाउछ की ? भन्ने डर थियो ।
दुबै जनाले एकअर्कालाई मन पराउने भएको हुँदा उनीहरुले जस्तो परिस्थिति आए पनि मायालाई टुट्न नदिने बाचा गरे । अनि अगाडी बढे ।
परिवारको सल्लाहमा विहे
दिपाको परिवारले उत्तम साटाखानीमा नै बस्ने भएको हुँदा सबै बानी व्यवहार थाहा पाएका थिए । उनीहरुले केटाकेटी दुबैको मन मिल्छ भने विवाह गर्न अवरोध नहुने बताए । उता उत्तमको परिवारले पनि विवाह गर्न सहमति दिए ।
अनि उनीहरुले परिवारकै सल्लाहमा २०६० सालमा दिपाको जन्म दिनमै विवाह गरेर दैलेख पुगे । विवाह गर्दा दुबैजना परिपक्क भइसकेका थिए । दिपालाई विवाह गरेर अर्काको घरमा जाँदा केही नराम्रो लाग्यो । बेलाबेलामा उत्तमले सम्झाउथे ।
उत्तमलाई देखेर उनी मोहित हुन्थिन् । उनीहरु घरमा पुगे । उत्तम र घर परिवारको मायाले उनी सबैसँग घुलमिल भइन ।
जीवनमा संघर्ष
उनीहरुलाई गास, बास र कपासको अभाव भएन । तर उनीहरुले विवाहपछि आफ्नो उच्च शिक्षा अध्ययन पूरा गर्नुपर्ने थियो । पढाइमा दुबैजनाले मेहेनत गरेका थिए । उनीहरुबिचमा काम गर्दा सल्लाह र सहकार्य भने सानोसानो कुरामासमेत हुने गथ्र्यो ।
उच्च शिक्षा पढ्दै थिए । पढाइमा मेहेनत गरेका उनीहरुका छोराछोरी पनि जन्मिए । उनीहरुमा जिम्मेवारी पनि बढ्दै थियो । आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने, छोराछोरीको स्याहार गर्नुपर्ने । उनीहरु धेरै संघर्ष गरे ।
तर उनीहरुले आफ्नो मेहेनतलाई कहिले छोडेनन् । उत्तमको उच्च शिक्षा २०६९ सालमा सकियो । उनी शिक्षकको जागिरमा जोडिए । उनीहरुमा केही सहज भयो । दुबैले आफ्नो उच्च शिक्षा हासिल गरे ।
अहिले उत्तम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गुराँस गाउँपालिका ६ पिलाडीको प्रधानाध्यापक छन् । भने दिपा सफल गृहणी र व्यवसायी बनेकी छन् । उनीहरुले आफ्नो जीवनलाई सहज बनाएर अगाडी लिएका छन् ।
विवाहपछिको जीवनलाई सहज बनाउन मेहेनत र मायामा विश्वास हुनुपर्ने उनीहरु बताउँछन् ।
बाल्यकाल
बुवा देवप्रसाद रिजाल र आमासावित्रा रिजालको कोखबाट विस २०४२ चैत १३ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ६ पिलाडीमा उत्तम रिजालको जन्म भएको हो । गाउँमा जन्मिएका उनको बाल्यकाल सामान्य खालको थियो ।
विद्यालय शिक्षासम्म गाउँमै पढेका उनले जयजनता मावि जोरेवाँझबाट २०५७ सालमा एसएदलसी पास गरे । उच्च शिक्षा भने २०६७ मा शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन् । बाल्यकालमा उनले घरको काम गर्दै पढ्दै गरेका हुन् । उनी घरको एक्लो छोरा हुन् । उनको बुवाले कृषिसहित विभिन्न व्यवसायिक काम गर्थे ।
यस्तै बुवा भवानीप्रसाद खराल र आमा सावित्रा खरालको कोखबाट विस २०४२ साल माघ ३ गते सुर्खेतको साटाखानीमा दिपा खरालको जन्म भएको हो । उनको परिवार पनि मध्यम खालको थियो । उनको बाल्यकाल पनि सामान्य र रमाइलोमा वितेको थियो । सानो कक्षा साटाखानी चौरासेमा पढेकी उनले एसएलसी पास पनि त्यही विद्यालयबाट २०६५९ सालमा गरिन् ।
आइएड शिक्षा क्याम्पस सुर्खेतबाट गरेकी उनले त्यही क्याम्पसबाट नै २०६९ सालमा उच्च शिक्षा हासिल गरिन् । दयालु स्वभावकी उनी सहयोगी पनि छन् ।
खाने पकाउने काम पालैपालो
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् ।
सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । दुबै जना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोग विना कुनै काम गर्दैनन् । यो जोडी विदाको समयमा फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् ।
उनीहरु पर्यटकीय स्थलहरूः कुपिन्डे दह, गुराँस भ्यु टावर, नेपालगंज, दैलेखका पञ्चकाशी क्षेत्र आदी ठाउँमा जाने गर्दछन् । खाना बनाउने काम पनि बाँडफाँड गरेर दुबै जनाले काम गर्छन् । आपसी विश्वास र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बनेका छन ।
उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।





