कोपा अमेरिका : कोरोना हटस्पट ब्राजिलमा खेल, खेलाडीहरू धमाधम संक्रमित

काठमाडौं । कोरोना महामारीले आक्रान्त बनेको ब्राजिलमा सोमबार बिहानदेखि ‘कोपा अमेरिका’ शुरू हुन गइरहेको छ । पहिलो खेलमा आयोजक ब्राजिल र भेनेजुएलाले प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।
तर, प्रतियोगितालाई कोरोनाले सताउने संकेत दिएको छ । कोपा अमेरिकाको पहिलो खेलका लागि आएका भेनेजुएलाका १२ खेलाडी तथा प्रशिक्षण टीमका सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि खेल नै अन्योलमा परेको हो ।
कोरोना महामारीबाट आक्रान्त ब्राजिलमा प्रतियोगिता आयोजना हुँदा हजारौं मानिसको निधन हुनसक्ने भन्दै रोक्नका लागि त्यहाँको सर्वोच्च अदालतमा मुद्धा नै परेको थियो। अदालतले गत शुक्रबार ‘कोपा अमेरिका’ आयोजना गर्ने ढोका खोलिदिएको हो। अदालतले प्रतियोगिता रोक्नुनपर्ने आदेश दिएको छ ।
प्रतियोगिता शुरू हुनुभन्दा २४ घन्टाअघि गरिएको परीक्षणमा टीमका खेलाडी तथा प्रशिक्षणसहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको दक्षिण अमेरिकी फूटबल महासंघ (कोनमेबोल) ले जनाएको छ। कोनमेबोलले संक्रमण देखिएका खेलाडी र पधाधिकारीहरूलाई छुट्टै होटलमा आइसोलेसन गरिएको जनाएको छ।
यद्यपि; संक्रमित देखिएका कसैलाई पनि लक्षण देखिएको छैन। खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सोमबार बिहान पौने ३ बजे हुने आयोजक ब्राजिलसँगको खेलका बारेमा कुनै जानकारी दिइएको छैन ।
भेनेजुएलाको टीम शुक्रबार ब्राजिल आइपुगेको हो। दक्षिण अमेरिकाका १० टिमको सहभागिता रहने प्रतिस्पर्धा जुलाई १० सम्म हुने कार्यतालिका रहेको छ।






