भारतमा थप ४४ हजार १११ नयाँ संक्रमित, सक्रिय संक्रमित पाँच लाखभन्दा कम

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना संक्रमित भएका छन्। सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ।
सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या बढ्दै गएको छ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट संक्रमित अवस्थामा रहेका छन्। भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ।
कुल संक्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् । यसरी हेर्दा भारतमा संक्रमणमुक्त भएकाहरूको संख्या ९७.०६ प्रतिशत रहेको छ।






