कर्णालीमा कोरोनाको त्रास, सहरभन्दा गाउँमा बढ्यो जोखिम
सुर्खेत, १४ चैत
घटना : १
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका २० वर्षीय एक युवकमा कोरोना संक्रमणको लक्षण देखियो । केही दिनअघि भारतबाट फर्किएका उनलाई कोरोना संक्रमण भए नभएको पुष्टि गर्न नमुना संकलन गरेर काठमाडौं पठाइएको छ ।
स्थानीय उनी हाल मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेको जिल्ला अस्पतालका निमित्त प्रमुख राजकुमार भुजेलले जानकारी दिए । यो घटनापछि स्थानीयहरु त्रसित छन् ।
घटना : २
भारतमा कोरोनाको त्रासपछि हिमा गाउँपालिका जुम्लाका २४ जना रातारात गाउँ पुगे । नेपालमा भएको लकडाउनलाई कुनै प्रवाह नगरी उनीहरु रातारात गाउँ पुगे । उनीहरु गाउँ पुगेपछि स्थानीय त्रसित छन् । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले १९ जनालाई राजदेव माध्यमिक विद्यालय र पाँच जनालाई भानु माध्यमिक विद्यालयमा राखिएको छ । विदेशबाट गाउँमा भित्रिनेहरु नरोकिएपछि गाउँपालिकाले ६ वटा विद्यालयलाई क्वारेन्टाइन बनाएको छ ।
घटना ः ३
भारतबाटै फर्किएका जाजरकोटका ११ जना नेपालगञ्जमा रहेको क्वारेन्टाइनबाट भागेर गाउँ पुगेका छन् । क्वारेन्टाइनबाट भागेर उनीहरु गाउँ पुगेपछि गाउँमा खैलाबैला नै मच्चियो । कोरोनाको संक्रमण ल्याएर गाउँमा आएको भन्दै स्थानीयहरु त्रसित छन् ।
छुट्टै राख्नुपर्ने स्थानीयको दवावपछि भेरी नगरपालिकाले घरमै सेल्फ क्वारेन्टाइनमा बसालेको छ । नगरप्रमुख चन्द्रप्रकाश घर्तीका अनुसारको स्वास्थ्य टोली नै खटाएर १४ दिनसम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरिको छ । यद्यपी स्थानीयले आफूहरु पनि जोखिममा रहेको बताएका छन् ।
घटना : ४
दैलेखमा एकै पटक १० जनालाई ज्वरो देखिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएपछि स्थानीयहरु त्रसित छन् । प्रमुख जिल्ला अधिकारी युवराज कटेलकाअनुसार आठविस नगरपालिकामा दुई, नौमुले गाउँपालिकामा एक, भगवतीमाई गाउँपालिकामा पाँच र दुल्लु नगरपालिकामा दुई जना गरी १० जनामा ज्वारो देखिएको छ । उनीहरुलाई ज्वरोमात्रै देखिए पनि कोरोनाको आशंकामा स्थानीयले असुरक्षित महशुस गरेको छन् ।
माथि उल्लेखित घटनाहरु केही प्रतिनिधिमुलक मात्रै हुन् । पछिल्ला दिनमा सहर र बजारमा भन्दा पनि गाउँमा कोरोनाको त्रास बढी छाएको छ । कोरोनाको संक्रमण फैलिएका देशबाट रातारात मानिसहरु गाउँ फर्किएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।
बाहिरबाट आएकाहरु कोरोना संक्रमित भएर गाउँ फर्किएको आशंकामा हिजोआज गाउँमा थप त्रास बढेको हो । गाउँमा संक्रमण फैलिन नदिन प्रदेश सरकारले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बसाल्ने तयारी गरेको थियो । तर समयमै क्वारेन्टाइनको निर्माण नहुँदा र सरकारको फितलो तयारीका कारण भारतबाट आएकाहरु धमाधम सरकारलाई छलेर गाउँ पुगेका छन् । यसले पनि गाउँ बढी जोखिममा देखिएका हुन् ।
बल्ल जाग्यो प्रदेश सरकार
यसरी गाउँमा त्रास फैलिएपछि कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्धको अभियान अब गाउँमा केन्द्रित गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गाउँमा जोखिम बढेको निस्कर्ष निकाल्दै अबको अभियान गाउँ केन्द्रीत गर्ने निर्णय गरेको हो ।
बिहीवार मन्त्री र सचिवहरुको संयुक्त बैठक यस्तो निर्णय गरेको हो ।
गाउँमा संक्रमणको जोखिम बढेको भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अब सरकारको नजर गाउँतिर सोझिएको बताइन् । उनले अब स्थानीय तहसँग मिलेर गाउँमा रहेका शंकास्पद व्यक्तिहरुको खोजी गरिने र सचेतनामुलक अभियानहरु संचालन गरिने बताइन् ।
यस्तै बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत जनशक्तिलाई जुम्ला, कालिकोट, मुगु, र हुम्ला, चौरजहारी सामुदायिक अस्पतालको जनशक्तिलाई रुकुमपश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेतका नागरिकको उपचारमा परिचालन गर्ने निर्णय गरेको छ ।
गाउँमा कोरोनाको जोखिम बढी रहेको निष्कर्ष निकाल्दै प्रदेश सरकारले प्रतिकार्य अभियानलाई गाउँमा केन्द्रित गर्ने जनाएको छ । मन्त्री विमला केसीले भनिन्, ‘संक्रमित देशबाट आएका नागरिकहरु गाउँ पसेका छन्, शहरभन्दा गाउँमा बढी जोखिम देखियो’ उनले भनिन्,‘अब कोरोनाविरुद्धको अभियान गाउँमा केन्द्रित गर्नेछौं ।’
मन्त्रीलाई तोकियो जिम्मेवारी
कोरोनाको त्रास बढ्दै गएपछि यसविरुद्धा लड्नका लागि कर्णाली प्रदेश सरकारले सबै मन्त्रीहरुलाई सक्रिय बनाउन थालेको छ । जिम्मेवारी नै बाँडफाँड गरेर अभियानमा मन्त्रीहरुलाई सक्रिय बनाएको हो । जसअनुसार मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न बनेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को नेतृत्व गरेका छन् ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि जिम्मेवारी तोकिएको छ । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई प्रदेश राजधानी, जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।
सामाजिक विकास मन्त्री दल रावललाई प्रदेश अस्पत्ताल र जिल्ला अस्पत्तालहरुमा संकास्पद विरामीहरुलाई आईसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको जिम्मेवारी तोकिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढालाई १० वटै जिल्लामा आपुर्ति व्यवस्थालाई प्रभावकारी वनाउने जिम्मेवारी छ भने आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई उच्च स्तरीय अनुगमन समितिको जिम्मेवारी तोकिएको छ ।
‘सडकमा निस्कनेलाई कारवाही गर्नु’
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सुर्खेतमा लकडाउनको प्रभावकारीताबारे अनुगमन गरेका छन् । सुरक्षाकर्मीसहित मन्त्री भण्डारीको टोलीले बिहीबार वीरेन्द्रनगरमा लकडाउनको अवस्थाबारे जानकारी दिन अनगुमन गरेको हो ।
मन्त्री भण्डारीले लकडाउनमा कुनै पनि नागरिकलाई सडकमा हिँड्न नदिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिए । ‘कोरोना भाइरसको संक्रमण कर्णालीमा फैलिन नदिन लकडाउनको पूर्ण पालना गराउनुहोस्’ मन्त्री भण्डारीले सुरक्षाकर्मीलाई निर्देशन दिँदै भने, ‘यो कुनै व्यक्तिका लागि हैन, सबै सुरक्षित रहन सरकारले अपनाएको उच्च सर्तकतामा सबैलाई गोलवद्ध गराउन जरुरी छ ।’ भण्डारीले लकडाउनमा अटेरी गर्नेलाई कानूनी कारवाही गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीहरुलाई निर्देशन दिए ।
अनुगमनका क्रममा एकदमै कम संख्यामा नागरिकहरु सडकमा निस्किएको पाइयो’ मन्त्री भण्डारीले थपे, ‘अबदेखि कुनै पनि नागरिकलाई सडकमा निस्कन नदिनुहोस्, यदी कसैले अटेर गरे कारवाही गर्नुस् ।’ प्रहरीको संख्या बढाउन, चोकमा गस्ती खटाउन र माइकिङ गरेर घरभित्रै बस्नका लागि नागरिकलाई आह्वान गर्न पनि मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।