२०८२ बैशाख १८ गते
×

Now Playing

बढे बिरामी,थपिएनन् डाक्टर

अड्डामा युगआह्वान (युग टीम)

सुर्खेत : साविकको मध्यपश्चिम क्षेत्रीय अस्पताल । हाल प्रदेश अस्पतालमा स्तरोन्नती भएर सेवा दिइरहेको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल ।

कुनैबेला यही अस्पतालबारे निकै नकारात्मक टिप्पणी हुन्थ्यो । यद्यपी अहिले पनि यो अस्पतालबारे गुनासा आइरहेका छन् । प्रदेश अस्पताल भएपछि हाल यो अस्पतालका भव्य भवनहरु निर्माण भएका छन् । तीनसय शैयाको अस्पताल बनाउने प्रक्रिया जारी नै छ ।

अझ प्रदेश सरकारले त यसलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजना बनाइरहेको छ ।  अस्पतालको नाम परिवर्तन भयो । भवनाहरु पनि ठडिए । तर अस्पतालबाट प्रवाह हुने सेवा र सुविधामा कस्तो परिवर्तन आयो त ? यही अवस्थाबारे जानकारी लिन युगआह्वानको टीम सोमबार अस्पतालमै पुगेको थियो ।

सोमवार बिहान हाम्रो टीम विहान ९ः४५ मा अस्पतालको ओपीडी भवन पुग्यो । त्यहाँ पुग्दा ९ बजेदेखी नै टोकन लिइसकेका बिरामीहरु आफ्नो पालोको पर्खाइमा थिए । ओपीडी भवनको नाम दर्ता गर्ने कक्षमा सेवाग्राहीको भीड थियो ।

टोकन लिइसकेकाहरु अस्पतालभित्र र बाहिर समेत चेकजाँच गराउन डाक्टरको पर्खाइमा थिए । अघिल्लो दिन चेकजाँच गरेकाहरु मध्ये केहीले ल्याव कक्षबाट रिपोर्ट लगिसकेका थिए भने केही बरामी रिपोर्ट लिने लाइनमा थिए । ओपीडी भवनमा स्वास्थ्य जाँच गर्न पुगेका बिरामीको चाप बढ्दै थियो ।

बिहानको १०ः१५ बज्दा सयौं बिरामीले ओपीडी भवन भरिभराउ बन्यो । सीटी स्क्यान कक्षमा पुग्दा डाक्टर रविन खड्का बिरामीको जाँच गर्नमा व्यस्त थिए । ‘समय अगावै बिरामीको सेवा दिने डाक्टर उहाँ धन्य हुनुहुन्छ’ बिरामी सिर्जना थापाले भनिन्, ‘उहाँ जस्तै अलि छिटो हाम्रो रिपोर्ट जाँच गर्ने डाक्टर पनि आइदियो हुन्थ्यो ।’

ओपीडी भवनमा बिरामी जाँच गर्न डाक्टरहरुलाई विहान १०ः३० देखी २ बजेसम्मको समय तोकिएको रहेछ । त्यहीअनुसार विशेषज्ञ डाक्टरहरुले चेकजाँच गर्ने कक्षमा सहयोगीहरुले बिरामीहरुलाई बोलाउन तयारी अवस्थामा बस्न लगाइरहेका थिए । जनरल ओपीडीमा पुगेका बिरामीहरुलाई डाक्टर कहाँ चेकजाँच गर्नुअघि जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर भित्र पठाइयो ।

सोमवार झण्डै १२ बजेसम्मको अस्पतालमा अवलोकन गर्दा हाम्रो टीमसँग बिरामीले पहिला भन्दा सन्तोषजनक सेवा पाएको प्रतिक्रिया दिए । विगतमा स्वास्थ्य बीमा गरेका सेवाग्राहीलाई अस्पतालले गर्ने व्यवहारमा सुधार आएकोमा उपचारका लागि पुगेकी बिमला बुढाले खुशी व्यक्त गरिन् । पहिलाको तुलनामा सेवामा सुधार आएको उनको भनाइ छ । सेवा र सुविधामा सुधार भए पनि पालो कुनुपर्ने समस्या रहेको बिरामीको गुनासो छ ।

डाक्टर कम हुँदा समस्या

बिरामीको चापअनुसार डाक्टर नहुँदा सेवा लिनका लागि बिरामीले घण्टौंसम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

दैनिक करिव एक हजार बिरामी आउने यो अस्पतालमा सेवा लिनका लागि घण्टौं कुर्नुपर्ने बाध्यता रहेको छ । ‘अस्पताल आएको दुइ घण्टा भयो, पालो नै आएको छैन’ उपचारका लागि अस्पताल पुगेकी वीरेन्द्रनगर–१ धारापानीकी जौका नेपालीले भनिन्, ‘बिरामी धेरै हुँदा घण्टौं लाइनमा कुनुपर्छ, तत्काल सेवा पाउने अवस्था छैन ।’

त्यस्तै वीरेन्द्रनगर–९ का विवश बाँसपानले पनि सोमबार सेवा लिन घण्टौंसम्म पालोमा कुर्नुप¥यौं । ‘अस्पताल सुध्रिएको छ, डाक्टर थपिएका छन् । तर घण्टौं लाइनमा बस्नुपर्छ’ उनी भन्छन्,‘अफिस सम य (१० देखि ४ बजेसम्म) ओपीडीमा सेवा दिएको भए राम्रो हुन्थ्यो ।’ बाहिर हेर्दा पूर्वाधार निकै आकर्षक देखिने अस्पतालमा सेवा लिन पुग्दा भने घण्टौं कुर्नुपर्ने बाध्यता छ ।

बिरामीको भीड बढेपछि अस्पतालले ९ बजेदेखि नै टोकन बाँढ्ने व्यवस्था मिलाएको छ । बिरामीलाई छिटो सेवा दिनका लागि एउटै कक्षमा २÷३ जना डाक्टर बसेर सेवा दिने गरेका छन् । तर पनि बिरामीले तत्काल सेवा पाउने अवस्था छैन । उसो त बिरामीलाई सेवा दिन ९ बजे नै ओपीडी सेवा दिने गरेको डाक्टर रविन खड्का बताउँछन् । ‘दैनिक बिरामीको भीड बढीरहेको छ, हामी ९ बजे नै आएर सेवा दिने गरेका छौंँ’ खड्काले भने ‘बिरामीको चापअनुसार डाक्टरको दरबन्दी न्यून हो ।’

करारको भरमा गुजरा

प्रदेश अस्पताल कर्णालीको सबैभन्दा ठूलो विशेषज्ञ सेवा भएको अस्पताल हो । आगामी दिनमा मेडिकल कलेजका रुपमा स्तरोन्नती गर्ने लक्ष्य राखिएको यो अस्पतालमा विशेषज्ञ चिकित्सकसहित जम्मा ७५ जना डाक्टरको दरबन्दी छ ।

तर हाल दरबन्दीमा सात जना विशेषज्ञ चिकित्सक र एक जना मेडिकल अधिकृत गरी आठ जना मात्रै कार्यरत छन् । अस्पतालमा ५० जना डाक्टरको दरबन्दी छ । तर दरबन्दीमा सात जना मात्रै डाक्टरहरु छन् । त्यस्तै २५ जना मेडिकल अधिकृतको दरबन्दी छ । तर दरबन्दीमा एक जना मात्रै मेडिकल अधिकृत कार्यरत छन् ।

दरबन्दी अनुसार डाक्टर नहुँदा अस्पतालले करार कर्मचारीको भरमा काम चलाउँदै आएको छ । ‘अस्पतालमा ५० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा सात जना र २५ जना मेडिकल अधिकृतको दरबन्दीमा एक जना मात्र कार्यरत छन्’ ।

अस्पतालका मेडिकल अधिकृत विनोद बस्नेत भन्छन, ‘दरबन्दी अनुसारका डाक्टर नहुँदा करारमा भर्ना भएको डाक्टरको भरमा काम चलाउँदै आएका छौँ ।’ अस्पतालले १५ जना विशेषज्ञ चिकित्सक र २२ जना मेडिकल अधिकृत करारमा राखेर सेवा दिँदै आएको छ । हाल अस्पतालमा विशेषज्ञ चिकित्सक सहित ४५ जना डाक्टरहरु कार्यरत छन् ।

दैनिक एक हजार बिरामी

अस्पतालको सेवामा सुधार हुन थालेपछि बिरामीको भीड बढ्न थालेको छ । पहिला मुस्किलले दुइसय बिरामी आउने यो अस्पतालमा हाल दैनिक एक हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतकाअनुसार ओपीडी सेवा लिनका लागि दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गर्दछन् । त्यस्तै आपतकालिन सेवा लिन दैनिक दुइ सयभन्दा बढी बिरामी आउने गरेका छन् ।

अस्पतालले हाल स्त्री तथा प्रसुति विभाग, शल्यचिकित्सा विभाग, मेडिसियन विभाग, हाडजोर्नी विभाग, बालरोग विभाग, नसा तथा मानसिक रोग विभाग, दन्तरोग विभाग र फिजियोथेरापी सेवाहरु दिँदै आएको छ ।  मुटु रोग, न्यूरो, मृगौला र क्यान्सर जस्ता ठूला रोगको उपचारका लागि भने कर्णालीवासी नेपालगञ्ज, कोहलपुर, काठमाडौं र भारतको लखनउसम्म धाउनुपर्ने बाध्यता छ ।

जेष्ठ नागरिकले पालो कुर्नु पर्दैन

यो अस्पतालले जेष्ठ नागरिकलाई भने सहज रुपमा सेवा दिँदै आएको छ । ७० वर्ष माथिका कुनै पनि बिरामीले ओपीडी सेवाका लागि पालो कुर्नुपर्ने अवस्था छैन ।

अन्य बिरामीले भने टोकन लिएर पालोअनुसार सेवा लिने गरेका छन् । तर जेष्ठ नागरिकलाई भने लाइनमा पालो कुर्न नपर्ने गरी अस्पतालले सेवा प्रवाह गर्दै आएको हो । त्यस्तै स्वास्थ्य विमा गरेका बिरामीहरुलाई समेत अस्पतालले सहज रुपमा सेवा दिँदै आएको पाइएको छ ।

स्वास्थ्य बीमा गरेका बिरामीले अस्पतालको फार्मेसीबाट २४ घण्टा नै औषधि र डाक्टरको सेवा पाउँदै आएका छन् । अस्पतालले निशुल्क प्रदान गर्ने २७ प्रकारका औषधिबाहेक अन्य औषधिहरु भने निजी मेडिकलबाटै किन्नुपर्ने बाध्यता छ ।

बढे बिरामी,थपिएनन् डाक्टर

2076-10-05

बढे बिरामी,थपिएनन् डाक्टर

2076-10-08

Leave a comment

Your email address will not be published. Required fields are marked *