प्राकृतिक ‘लकडाउन’मा उपल्लो डोल्पा

डोल्पा, ८ बैशाख । (रासस)
कोरोना भाइरस संक्रमण रोक्न भन्दै मुलुक नै बन्दाबन्दी (लकडाउन) गरिएका बेला उपल्लो डोल्पाका तीन गाउँपालिकालाई प्रकृतिले बन्द बनाइदिएको छ । यहाँका शे–फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बन्दाबन्दीका लागि प्रहरी प्रशासन लगाउनुपर्ने अवस्था छैन ।

तीन गाउँपालिकामा भारी हिमपात भएका कारण स्थानीयवासी एक गाउँबाट अर्को गाउँमा जान नसक्ने भएका छन् । यी सबै गाउँपालिका यार्सागुम्बा लगायत जडीबुटीका उर्वरभूमि हुन् । फोक्सुण्डो गाउँपालिकाको सालताङ स्वास्थ्य चौकीका प्रमुख निमा धार्के गुरुङले गाउँमा औषधि गर्न जाँदा एक गाउँबाट अर्को गाउँमा जान दुई दिनभन्दा बढी लाग्ने गरेको बताए ।

उनले भने, ‘आज रुघाखोकी र ज्वरोको बिरामी गाउँमा भएको थाहा पाएँ, जान खोजेको हिमपातका कारण जान सकिएको छैन, औषधि चौरीमा लिनुपर्ने अवस्था छ, भोलि हिमपात रोकिए जानुपर्ला ।’ यहाँका स्थानीयवासी बिरामी पर्दा स्थानीय आम्चीलाई बोलाएर जडीबुटीको औषधि गरेर ज्यान बचाउने गरेका छन् । प्रकृतिले नै १२ महिना हिउँ पार्ने भएकाले काम गर्नसमेत निकै अप्ठ्यारो भएको पेम्बा गुरुङले दुखेसो गरे । ‘यहाँ राज्यको उपस्थितिभन्दा पनि हामी आफैँ जोगिएका छौँ,’ उनले थपे ।

समुद्री सहतबाट झण्डै दुई हजार तीन सय मिटरदेखि सात हजार चार सय २५ मिटर उचाइमा शे–फोक्सुण्डो गाउँपालिका छ । यहाँ १२ महिना भारी हिमपात हुने गर्छ । गर्मी मौसममा मात्र यहाँका स्थानीयवासी आफ्नै गाउँघरमा बस्छन् । जब भारी हिमपात हुन्छ, तब एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था हुँदैन । सो समयमा यहाँका स्थानीयवासी बेसी झर्छन् ।

यहाँको गाउँमा सानो संख्यामा मात्र सर्वसाधारण बस्ने गर्दछन् । गाउँपालिकाको केन्द्र साल्दाङमा छ । नौ वडा रहेको यस गाउँपालिकामा १, २, ३, र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डो रहेको छ । तीन हजार ९९ जनसंख्या रहेको गाउँपालिकामा अहिले पनि भारी हिमपातका कारण सबै गाउँमा जान सक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत टिम यो समाचार तयार पर्दासम्म बन्दाबन्दीमा काठमाडौंमा रहेको बताएका छन् । गाउँमा हिउँका कारण बन्दाबन्दी छ। जनप्रतिनिधि कोरोना भाइरसका त्रासका कारण सरकारले गरेको बन्दाबन्दीमा परेका छन्। त्यस्तै, डोल्पो बुद्ध गाउँपालिका पनि उपल्लो डोल्पामै छ । गाउँपालिकाको केन्द्र धोमा रहेको छ । यो सबैभन्दा अग्लो ठाउँमा रहेको मानवबस्ती हो । यहाँ छ वटा वडाहरू छन् । १, २ र ३ को संयुक्त वडा कार्यालय ‘धो’ र वडा नं ४, ५ र ६ को संयुक्त वडा कार्यालय ‘तिन्जे’ रहेको छ । माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्ने यो गाउँपालिकामा भोटे जातिका मानिसको बसोबास छ ।

यस क्षेत्रमा करिब छ महिना हिउँ जम्ने हुँदा यहाँका मानिसको जीवनशैली निकै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बेँशीको बिरुवाबाहेक अन्य कुनै ठूला जातिका वृक्ष पाइँदैन । वारिपारिका हिमालदेखि एक गाउँबाट अर्को गाउँमा जाने घोडेटो बाटो हिमपातका कारण नामनिसानै नदेखिने गरेको गाउँपालिका अध्यक्ष तेम्बा गुरुङले जानकारी दिए । अर्को, छार्का ताङसोङ गाउँपालिकामा पनि हिउँले भरिभराउ छ । हिउँकै कारणले स्थानीयवासी सबै गाउँमा जान सक्ने अवस्था नरहेको बताउँछन् । अधिकांश सर्वसाधारण दुनैमा बसेर काम गर्दै आएका छन् ।

प्राकृतिक ‘लकडाउन’मा उपल्लो डोल्पा

मजदुर भाेकै मन्त्री कुरामै, सिडिओ फोनमै ‘व्यस्त’

प्राकृतिक ‘लकडाउन’मा उपल्लो डोल्पा

YUGAAWHAN NATIONAL DAILY (2077-01-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!