कोहलपुरको मन्नापुर पुल नजिक डुबेर एक जनाको मृत्यु

बाँके ,७ साउन ।
बाँकेको मन्नापुर नजिक रहेको पुल आसपासको क्षेत्रमा डुबेर एक पुरुषको मृत्यु भएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक सुर्खेत स्थायी घर भई हाल बाँकेको बाबानगरमा बसोबास गर्दै आएका रतन ओली रहेका छन्।
स्थानीयका अनुसार ओली जीविकोपार्जनका लागि श्रीमतीसँगै खाली बोतल संकलन गर्ने काम गर्दै आएका थिए। उनी नियमित रूपमा विभिन्न स्थानमा बोतल संकलन गर्दै हिँड्ने गरेका थिए।
बिहीबार मन्नापुर पुल आसपासको क्षेत्रमा उनी डुबेको अवस्थामा फेला परेका हुन्। घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ।घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ।
प्रहरीले मृत्युको कारण तथा घटनाको प्रकृतिबारे अनुसन्धान गरिरहेको जनाएको छ। साथै, मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ।घटनासम्बन्धी विस्तृत तथा आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



