वर्षाले धानबालीमा क्षति, मजदुर अभावले किसानलाई धान भित्र्याउन सकस
बर्दिया ,१२ कार्तिक ।
दसैँ सकिएसँगै गाउँबस्तीमा तिहारको चहलपहल बढ्न थालेको छ। तर बर्दियाका किसानलाई भने चाडपर्वको रौनकभन्दा खेतमा पाकेको धान सुरक्षित रूपमा भित्र्याउने चिन्ताले सताएको छ। असोज महिनामा पटक–पटक परेको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्याएपछि थप वर्षा हुने त्रासका बीच किसानलाई धान काटेर भित्र्याउन भ्याइनभ्याइ भएको छ। त्यसमाथि मजदुर अभाव र बढ्दो ज्यालाले किसानको चिन्ता थपिएको छ।
गुलरिया नगरपालिका–१० रत्नापुरका किसान मुनिर अहमद बिहान ६ बजेदेखि नै सपरिवार धान खेतमा पुग्नुहुन्छ। असोजमा परेको पानी र चलेको हावाहुरीले उहाँको आधा खेतमा लगाएको धानबालीमा क्षति पुर्याएको छ। खेतमा पानीसमेत नसुकिसकेको अवस्थामा फेरि वर्षा हुने सम्भावनाले उहाँलाई छिटोभन्दा छिटो धान भित्र्याउनुपर्ने दबाब छ।
मजदुर नपाएपछि परिवारका करिब एक दर्जन सदस्य बिहानैदेखि धान काट्ने र भित्र्याउने काममा जुटेका छन्। बिहानको खानासमेत खेतमै खाएर साँझसम्म काम गर्नुपर्ने बाध्यता रहेको अहमदले बताउनुभयो।
“धानमा क्षति भइसकेको छ। लागतसमेत नउठ्ने हो कि भन्ने चिन्ता छ। फेरि पानी पर्ने डरले साँझसम्मै काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “महँगो ज्याला तिर्छु भन्दा पनि मजदुर पाइँदैनन्। पहिले ६ सय रुपैयाँ लिने मजदुरले अहिले ८ सय रुपैयाँसम्म माग्न थालेका छन्।”
अहमदको जस्तै समस्या गुलरिया नगरपालिका–८ का किसान तरुण लोधको पनि छ। दुई बिघा खेतमा लगाएको धानबाली भित्र्याउन मजदुर नपाएपछि उहाँका परिवारका आठ जना सदस्य दुई दिनदेखि बिहानदेखि बेलुकासम्म खेतमै खटिएका छन्।
खेतमा पानी जमेकाले धान भित्र्याउन अझै चार दिन लाग्ने अनुमान गरिएको लोधले बताउनुभयो। शुक्रबार र शनिबार भारी वर्षा भए खेतमा रहेको धान जोगाउन मुस्किल हुने उहाँको चिन्ता छ। स्थानीय मजदुर आफ्नै खेतको धान भित्र्याउन व्यस्त रहेको र अन्यत्र बढी ज्याला पाउने भएपछि मजदुरको अभाव भएको उहाँले बताउनुभयो।
बर्दियाका किसान अहिले खेतमा रहेको धान जोगाउन निकै हतारमा छन्। काट्न तयार भएको धान वर्षाले भिज्ने र ढलेको धान खेतमै कुहिने जोखिम बढेपछि किसानले दसैँ सकिनासाथ धान भित्र्याउन थालेका हुन्।
गुलरिया नगरपालिका–१० का किसान दीपक चौधरीका अनुसार खेतमा धान ढलेका कारण थ्रेसर मेसिन लैजान सक्ने अवस्था छैन। त्यसैले महँगो ज्याला तिरेर भए पनि मजदुर लगाई धान काट्नुपर्ने बाध्यता छ। पहिले प्रतिदिन ६ सय रुपैयाँ ज्याला लिने मजदुरले अहिले ७ सय ५० रुपैयाँसम्म लिन थालेको उहाँले बताउनुभयो। ठाउँअनुसार मजदुरको ज्याला फरक रहेको स्थानीय किसानको भनाइ छ।
धान भित्र्याउन ढिलाइ भए थप क्षति हुने डरले गुलरिया नगरपालिका–३ का किसान मस्तराम सिंह पनि परिवारका सदस्यसँगै खेतमा खटिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि वर्षा हुने पूर्वानुमान गरेपछि आफूहरू हतारहतार धान भित्र्याउन लागेको उहाँले बताउनुभयो।
“अब फेरि पानी परे भिजेको धानमा थप क्षति हुने डर छ। त्यसैले घरका सबै सदस्य मिलेर धान भित्र्याइरहेका छौँ,” उहाँले भन्नुभयो।
खेतमा पानी नसुक्दै धान काट्नुपर्ने बाध्यताले किसानलाई थप सास्ती भएको छ। कतिपय किसानले काटेको धान खेतमा सुकाउन नसकेपछि सडक किनार तथा सडकमा समेत फैलाएर सुकाउन थालेका छन्। खेतीपातीलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएका किसानलाई धानबालीमा भएको क्षतिले वर्षभरि परिवारको खर्च कसरी धान्ने भन्ने चिन्ता बढाएको छ।
स्थानीय किसान श्रीनिवास वर्माका अनुसार यस वर्ष धानबालीमा भएको क्षतिले किसानलाई निकै तनावमा पारेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्र्याउने बेलामा प्राकृतिक विपत्तिको सामना गर्नुपर्दा किसानको लगानी डुब्ने जोखिम बढेको उहाँले बताउनुभयो।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका सूचना अधिकारी फितु चौधरीका अनुसार असोजमा परेको वर्षा र हावाहुरीले जिल्लाको करिब १० प्रतिशत धानबालीमा क्षति पुर्याएको छ। बर्दियामा करिब ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।
चाडपर्वको समय र धान भित्र्याउने बेलामा वर्षा तथा हावाहुरीका कारण पछिल्ला चार वर्षयता किसानले पटक–पटक धानबालीमा क्षति बेहोर्दै आएका छन्। यसले किसानको उत्पादन, आम्दानी र जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ।
गुलरिया नगरपालिका–८ का किसान अग्नु थारुले प्राकृतिक विपत्तिका कारण क्षति बेहोरेका किसानलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ। विपत्तिबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने भनिए पनि विगतका वर्षमा धेरै किसानले राहत नपाएको सोही वडाका वडाध्यक्ष धर्मेन्द्र बनियाले बताउनुभयो।
बर्दियाका किसानका लागि धान केवल खाद्यान्न उत्पादनको माध्यम मात्र होइन, वर्षभरको जीविकोपार्जन र आर्थिक सुरक्षाको आधार पनि हो। तर, धान भित्र्याउने समयमा हुने बेमौसमी वर्षा, हावाहुरी, डुबान र मजदुर अभावले हरेक वर्ष किसानलाई समस्यामा पार्दै आएको छ।
यसअघि २०७९ सालमा पनि दसैँकै समयमा भएको बेमौसमी वर्षा र बाढीले धानबाली डुबानमा पारेको थियो। पटक–पटक दोहोरिने यस्तो समस्याले कृषि उत्पादनलाई सुरक्षित बनाउन प्रभावकारी योजना, विपद्बाट हुने क्षतिको समयमै मूल्याङ्कन र वास्तविक पीडित किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवश्यकता देखाएको छ।
अहिले बर्दियाका किसानका लागि मुख्य चुनौती खेतमा रहेको धान सुरक्षित रूपमा भित्र्याउनु हो। मौसमको अनिश्चितता र मजदुर अभावबीच किसानले आफ्नो परिवारको श्रम र महँगो लागत खर्चेर धान जोगाउने प्रयास गरिरहेका छन्। मेहनत गरेर उब्जाएको अन्नसमेत सुरक्षित भित्र्याउन नपाउने अवस्था दोहोरिन नदिन किसानलाई समयमै कृषि प्राविधिक सहयोग, आवश्यक सुविधा र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम उपलब्ध गराउनु जरुरी देखिन्छ।





