मानव बेचबिखन रोकथाम र बाल संरक्षणका लागि सरोकारवालाबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता

बाँके ,१२ कार्तिक ।
मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र बालबालिकासँग सम्बन्धित सामाजिक समस्याहरूको न्यूनीकरणका लागि बर्दियाको राजापुर नगरपालिकामा सरोकारवालाबीच सिकाइ, अनुभव आदानप्रदान तथा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा मानव बेचबिखन, लागुऔषध दुरुपयोग, बालविवाह र विद्यालय छाड्ने समस्याको प्रभावकारी सम्बोधनका लागि स्थानीय सरकार, विद्यालय, समुदाय तथा नागरिक समाजबीच सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

बाँके युनेस्को क्लब (बीयूसी) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत आयोजित बैठक राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, शिक्षा निर्देशक टीकानाथ गोसाई, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरी, मानव बेचबिखन नियन्त्रणका लागि गठित स्थानीय समिति (एलसीसीएचटी) का सदस्य, सञ्चारकर्मी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

बैठकमा सुरक्षा परियोजनाको प्रगति तथा उपलब्धिहरूको समीक्षा गर्नुका साथै मानव बेचबिखन रोकथाम, बाल संरक्षण र जोखिममा रहेका बालबालिकाको सुरक्षाका क्षेत्रमा देखिएका चुनौतीबारे छलफल गरिएको थियो। साथै, स्थानीय तहमा सञ्चालन भइरहेका कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाबीच सूचना आदानप्रदान, समन्वय र सहकार्यलाई व्यवस्थित बनाउने विषयमा समेत विचारविमर्श भएको थियो।

बैठकमा सुरक्षा परियोजनाका संयोजक ईश्वर बीकेले परियोजनाको समग्र प्रगति तथा प्रमुख उपलब्धिहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले समुदायमा जनचेतना अभिवृद्धि, बाल संरक्षणका संयन्त्रको सुदृढीकरण, सकारात्मक अभिभावकत्वको प्रवर्द्धन तथा बालबालिका र युवाको सचेतनामूलक गतिविधिमा सहभागिता बढाउनेलगायतका क्षेत्रमा परियोजनाले गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो।

मानव बेचबिखन तथा यससँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा सरोकारवालाको परिचालन र जोखिममा रहेका बालबालिकाको पहिचानलाई पनि परियोजनाले प्राथमिकता दिँदै आएको प्रस्तुतिमा उल्लेख गरिएको थियो।

छलफलका क्रममा मानव बेचबिखन, लागुऔषध दुरुपयोग, बालविवाह र विद्यालय छाड्ने समस्या एकअर्कासँग सम्बन्धित सामाजिक चुनौतीका रूपमा रहेको सहभागीहरूले औँल्याएका थिए। यी समस्याको दीर्घकालीन समाधानका लागि दण्डात्मक उपायमा मात्र निर्भर नभई रोकथाममुखी, समुदायमा आधारित र समन्वयात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

विशेषगरी अभिभावक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने, उच्च जोखिममा रहेका परिवारको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने, समुदायमा जनचेतनामूलक गतिविधि विस्तार गर्ने तथा बालबालिकाको विद्यालयमा नियमित उपस्थिति र निरन्तरता सुनिश्चित गर्नुपर्ने विषय उठाइएको थियो। जोखिममा रहेका बालबालिकालाई समयमै संरक्षण, परामर्श तथा आवश्यक सेवासम्म पहुँच पुर्‍याउन स्थानीय संयन्त्रहरूबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

बैठकमा धारणा राख्दै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र शिक्षा निर्देशक टीकानाथ गोसाईले मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी समस्याको सम्बोधनमा संस्थागत जिम्मेवारी र समन्वयात्मक कार्यको महत्त्व औँल्याउनुभएको थियो। उहाँहरूले जोखिममा रहेका बालबालिकाको पहिचान, विद्यालय छाड्ने दर न्यूनीकरण, बालमैत्री वातावरण निर्माण तथा रोकथामसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, शिक्षा क्षेत्र, विद्यालय र समुदायबीच सहकार्य बढाउनुपर्ने बताउनुभएको थियो।

समापन मन्तव्य राख्दै नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले सुरक्षा परियोजनामार्फत बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले बाल संरक्षण तथा सुरक्षित समुदाय निर्माणका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले मानव बेचबिखन रोकथामसँगै लागुऔषध दुरुपयोग, बालविवाह र विद्यालय छाड्ने समस्याको न्यूनीकरणका लागि सबै पक्षको निरन्तर प्रतिबद्धता र साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभयो।

उपप्रमुख चौधरीले बैठकमा भएका छलफल र व्यक्त प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै विशेषगरी जोखिममा रहेका बालबालिका तथा परिवारलाई प्राथमिकतामा राखेर वडा र समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

बैठकमा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिको कार्यप्रणालीलाई प्रभावकारी बनाउने, अभिभावक शिक्षा तथा सामुदायिक जनचेतनामूलक गतिविधि विस्तार गर्ने, जोखिममा रहेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने र बालबालिकाको विद्यालयमा निरन्तरता सुनिश्चित गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको थियो। त्यसैगरी, लागुऔषध दुरुपयोग तथा बालविवाह न्यूनीकरणका लागि संयुक्त पहल गर्ने, सूचना आदानप्रदान र संयुक्त अनुगमनलाई व्यवस्थित बनाउने तथा आवश्यक संरक्षण र सेवाका लागि सिफारिस प्रणालीलाई सुदृढ गर्ने सहमति भएको छ।

बालबालिकामाथि हुने हिंसा, शोषण, बेचबिखन र अन्य जोखिमको अन्त्यका लागि सरकारी निकायको प्रयाससँगै परिवार, विद्यालय र समुदायको सक्रिय भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यसै सन्दर्भमा बैठकले स्थानीय तहमा बाल संरक्षणका संयन्त्रलाई सक्रिय बनाउँदै जोखिमको समयमै पहिचान, रोकथाम र सम्बोधनका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा कार्यान्वयन भइरहेको सुरक्षा परियोजनाले बाल संरक्षणका संयन्त्र सुदृढ गर्ने, जोखिम न्यूनीकरण गर्ने र सुरक्षित, समावेशी तथा बालमैत्री समुदाय निर्माणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग सहकार्य गर्दै आएको छ।

मानव बेचबिखन रोकथाम र बाल संरक्षणका लागि सरोकारवालाबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता

स्पेनमा रेल दुर्घटना : ६८ जनाको मृत्य

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!