एनपीएलको उत्साह :घण्टाघर डबलीमा लाइभ स्किृनमा झुम्दै क्रिकेट पारखी
ओम शाही
सुर्खेत, ११ कार्तिक ।
कालीकोट घर भई अध्ययनको शिलशिलामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानी बस्दै आएका जगदिश शाही मंगलबार (१० कार्तिक) साँझ घण्टाघर डबलीमा भेटिए । वीरेन्द्रनगर–६ स्थित घण्टाघर डबली, जहाँ अहिले क्रिकेटको महाकुम्भ चलिरहेको छ ।
क्रिकेटका पारखी उनी सोमबार (९ कार्तिक) देखि सुरु भएको क्रिकेटको सर्वाधिक ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा झुमिरहेका छन् । संघीय राजधानी काठमाण्डौंस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भइरहदा शाही मात्रै होइनन्, सयौँ क्रिकेट पारखीहरु दैनिक दुई पटक घण्टाघर डबली पुग्ने गरेका छन् ।
उनीहरु भौतिक रुपमा टियु क्रिकेट मैदानमा छैनन्, तर उत्साह भने प्रत्यक्ष मैदानमै पुगेभन्दा कम छैन । मैदानमै पुगेर प्रत्यक्ष खेल हेर्ने रहर भएपनि भौगोलिक दूरी, आर्थिक अभाव तथा अन्य कारणले पहिलो र दोस्रो संस्करण हेर्न सानो पर्दामा सीमित क्रिकेट पारखीलाई यसपटक लाइभ स्किृन बरदान सावित भएको छ । त्यो पनि निशुल्क ।
प्रतियोगितामा सहभागी आठ फेन्चाइज मध्ये सात टोलीको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिङ्क्सले सात प्रदेशका प्रमुख सहरका सार्वजनिक स्थानमा ठुलो स्किृनमा निशुल्क लाइभ प्रतियोगिता हेर्ने व्यवस्था मिलाएपछि यस पटकको एनपीएल विशेष बनेको छ । मंगलबार साँझ घण्टाघर डबलीको लाइभ स्किृनअघि झुमेका समर्थकहरु निकै उत्साहित थिए । कारण थियो, कर्णाली याक्स । काठमाण्डौंको मैदानमा फेन्चाइज टिम जनकपुर बोल्टसँग प्रतिस्पर्धा गरिरहेको कर्णाली याक्सको समर्र्थनमा उनीहरु घण्टाघर डबलीमा हुटिङ गर्दै थिए ।
भौतिक दुरीले निकै टाढा भएपनि उनीहरुले खेलाडीलाई लाइभ स्किृनबाट ढाडस दिदै गरेको देखिन्थे । ‘लाइभ मै एनपीएल हेर्न पाउँदा निकै खुसी लागेको छ । किनभन्दा टियु मैदानमै गएर सबैजना भिजिट गर्न सकिने अवस्था हुँदैन,’ शाही भन्छन्, ‘कर्णाली भनेको खेलमैदानभन्दा धेरै टाढा छ । तर, घण्टाघरमा आएर अहिले मन परेको खेल हर्न सजिलो भएको छ ।’ शाहीका अनुसार काठमाण्डांैसम्म प्रतियोगिता हेर्न जाँदा लाग्ने खर्च जोगिनुका साथै आफ्नै आँगनमा सुरक्षित र व्यवस्थित वातावरणमा खेल हेर्न पाइएको छ ।
‘खेल हेर्नकै लागि ठुलो धनराशी खर्चनु परेन । यसले खेलप्रति रुचि पनि बढाउने भयो,’ उनले थपे, ‘खेललाई नजिकबाट बुझ्ने अवसर मिल्दा यसप्रति हेर्ने दृष्टिकोण नै फरक हुन्छ र आउने दिनमा खेललाई थप उचाई दिन सहयोग पुग्छ ।’
वीरेन्द्रनगरको घण्टाघरको डबली, जसलाई कतिपयले सेल्फी पार्कका रूपमा पनि चिन्दछन् । काठमाडौँको पिचमा ठोक्किएको बलको तरंगले सयौँ किलोमिटर टाढा रहेको वीरेन्द्रनगर उपत्यकालाई जुरुक्क उचालेको छ । एनपीएलको यो सिजनले नेपाली क्रिकेट रंगशालाको सीमाभित्र मात्र सीमित नभई आमनेपालीको मन र सार्वजनिक चोकहरूमा समेत उत्सव बनेर फैलिएको सन्देश घण्टाघर डबलीले दिइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि घण्टाघरलाई व्यवस्थित बनाएको छ । सार्वजनिक ठाउँमा यसरी खेलकुदलाई प्रविधिमार्फत आममानिससम्म पुर्याउँदा यसले आगामी पुस्तामा समेत क्रिकेटप्रति छाप छाड्ने स्थानीय खेलप्रेमीहरू बताउँछन् । घण्टाघर डबलीमा खेल हेर्न पुगेका स्थानीय समर्थक धीरेन अनुपमले अनुसार एनपीएल सिजन–३ मा भएको यो प्रयासले क्रिकेटलाई जनस्तरसम्म पुर्याउन ऐतिहासिक भूमिका खेलेको बताउँछन् ।
‘एनपीएल सिजन–३ चलिरहँदा हाम्रो घण्टाघर पार्क, जसलाई मान्छेहरू सेल्फी पार्क पनि भन्छन्, त्यहाँ पब्लिकल्ली रूपमा हेर्ने यस्तो वातावरण बनेको छ । यो एकदमै राम्रो कुरा हो,’ उनी भन्छन्, ‘यस्ता क्षेत्रहरू सबै ठाउँमा हुनुपर्छ । यसले पहुँचभन्दा बाहिरका मान्छेलाई पनि सुर्खेत भ्यालीसम्म आएर प्रेरित गर्छ ।’
उनले खुला ठाउँमा हुने यस्तो प्रसारणले नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरित गर्ने बताए । ‘कुनै पनि खेलकुदलाई प्रविधिको प्रयोग गरियो भने नयाँ पुस्तालाई पनि खेल क्षेत्रमा लाग्न थप हौसला र प्रेरणा मिल्छ । यस्ता प्राविधिक विषयलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ,’ उनले भने ।
एनपीएल तेस्रो संस्करणको अवसरमा वीरेन्द्रनगरमा देखिएको दृश्यले खेलकुद मनोरञ्जन गर्ने माध्यम मात्र होइन सामाजिक एकता र साझा अपनत्वको उदाहरण पनि हो । कर्णाली प्रदेशले खेलकुद पूर्वाधारको अभाव लामो समयदेखि झेल्दै आएको छ । घण्टाघर डबलीमा उर्लिएको समर्थकहरूको भिडले कर्णालीमा पनि क्रिकेटप्रतिको अघात प्रेम र यसको प्रचुर सम्भावना झल्काउछ । आफ्नो मनपर्ने टिमले सफलता प्राप्त गर्दा डबलीको वातावरण चाडपर्वजस्तै बनाएको छ ।
खुला स्क्रिनले टिकट काट्न नसक्ने विपन्न वर्ग, विद्यार्थी तथा कामकाजी नागरिक सबैलाई एउटै लहरमा उभ्याएर खेलको हिस्सा बनाएको छ । सार्वजनिक प्रसारणले सहरको साँझको चहलपहल र अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ । घण्टाघर डबलीवरपरका चिया पसल, खाजा घर र साना खुद्रा व्यापारीहरूको व्यापार खेल सुरु भएसँगै उल्लेख्य रूपमा बढेको छ । १५ मंसिर २०८१ बाट सुरु भएको एनपीएलको दोस्रो संस्करण १ मंसिर २०८२ मा सम्पन्न भएको थियो । सीमित स्रोत र पूर्वाधारका बीच सुरभारम्भ भएको एनपीएलले छोटो समयमै अन्तराष्ट्रिय मान्यतासमेत पाइसकेको छ । क्रिेकेटमा विश्वमाझ ख्याति कमाएका खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गरिरहदा नेपाली क्रिकेटको उचाई बढको छ ।
कर्णालीको विजयी यात्रा सुरु
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुआत गरेको छ । मंगलबार युनिस ठकुरी र हुसैन तलातको घातक बलिङमा दोस्रो खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराउँदै एनपिएलमा सुखद सुरुआत गरेको हो । कर्णालीले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर तीन बल अगावै एक सय १३ रनमा अलआउट भयो ।
जनकपुरलाई कम स्कोरमा रोक्न कर्णालीका युनिस र तलातले समान तीन विकेट लिए । युनिसले आफ्नो स्पेलमा एक मेडन राख्दै २२ रन खर्चे । तलातले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । सोमपाल कामीले दुई ओभरमा पाँच रन दिएर एक विकेट लिए । नन्दन यादवले दुई विकेट आफ्नो नाममा गरे । जनकपुरका लागि कप्तान हरमित सिंह र मोइन अलीले समान १९ रन बनाए । हरमितले १३ बलमा दुई चौका हाने ।
जेम्स निसमले १५, अनिल साह ले ११ रन थपे । अविशेक तिवारी २० रन बनाउँदा क्याच आउट हुन पुगे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३२ रनको योगफल तयार पारेको थियो । आक्रामक सुरुआत गरेको कर्णालीले पावर प्ले मा नै तीन विकेट गुमाएको थियो ।
त्यसपछि केही दबाबमा परेको कर्णालीका लागि अरिफुल इस्लाम र पवन सर्राफले इनिङ्स सम्हालेका थिए । अरिफुल इस्लामले बनाएको ४३ रन नै सर्वाधिक रह्यो । उनले २९ बलमा चार चौका प्रहार । ३७ बलमा तीन छक्का सहयोगमा ३७ रन नै बनाएका पवन सर्राफ ललित राजवंशीको बलमा निसमको हातबाट क्याच आउट भए ।
दिपक डुम्रेले १३ र गुल्सन झा ले १२ रन थपे । पाँच बलमा एक रन बनाएका कप्तान सोमपाल कामी हरमितको बलमा एलबीडब्लु धरापमा परे । तलात तीन, मार्क वाट र अकबर अली समान एक रनमा आउट भए । नन्दन यादवले नौ रनमा जोडे । कर्णालीलाई कम स्कोरमा रोक्न जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिए । उनले आफ्नो स्पेलमा एक मेडन राख्दै २२ रन दिए । मोइन र राहुल यादवले समान दुई विकेट लिए । ललितको नाममा एक विकेट रह्यो ।





