पारा कर्णाली गोल्ड कप कार्तिक २० गतेदेखि सञ्चालन हुने
कालिकोट ,१२ कार्तिक ।
हस्त चौलागाँई
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको पारा कर्णाली गोल्ड कप २०८३ आगामी कार्तिक २० गतेदेखि सञ्चालन हुने भएको छ । यसअघि असोज २५ गतेदेखि सञ्चालन गर्ने गरी तय गरिएको प्रतियोगिता विभिन्न कारणले निर्धारित समयमा हुन नसकेपछि नयाँ मिति तय गरिएको आयोजकले जनाएको छ ।
जिल्लाभित्र आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरूको मिति एकै समयमा जुध्ने अवस्था सिर्जना भएपछि खेलाडीको सहभागिता, प्रतियोगिताको व्यवस्थापन तथा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले गोल्ड कपको मिति सारिएको पारा कर्णालीका अध्यक्ष तपेन्द्र जंग शाहीले जानकारी दिए ।
अध्यक्ष शाहीका अनुसार जिल्लास्तरमा सञ्चालन हुने अन्य खेलकुद कार्यक्रमहरूसँग समय जुध्दा खेलाडीको सहभागिता तथा प्रतियोगिताको प्रभावकारी सञ्चालनमा कठिनाइ हुने देखिएकाले प्रतियोगितालाई कार्तिक २० गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको हो । उनले नयाँ मितिमा प्रतियोगिता सञ्चालन गर्दा खेलाडीलाई सहज हुने र प्रतियोगितालाई थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्य अभिवृद्धि, अनुशासनको विकास, आपसी सद्भाव कायम र युवामा सकारात्मक सोचको विकास गर्ने महत्त्वपूर्ण आधारसमेत हो । यस्ता प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्नुका साथै खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पारा कर्णाली गोल्ड कपले जिल्लाको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन, स्थानीय खेलाडीको मनोबल उच्च पार्न तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । प्रतियोगितामार्फत खेलाडीबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुनुका साथै जिल्लामा खेलकुद संस्कृतिको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आयोजकले प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउँदै निर्धारित नयाँ मितिमा गोल्ड कप सञ्चालन गर्ने जनाएको छ । प्रतियोगिताको मिति परिवर्तन भए पनि खेलकुदप्रेमी, खेलाडी तथा सरोकारवाला सबैको सहभागिताले प्रतियोगितालाई सफल बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
यससँगै पारा कर्णाली गोल्ड कपको नयाँ मिति कार्तिक २० गते तय भएसँगै प्रतियोगिताको प्रतीक्षामा रहेका खेलाडी तथा खेलप्रेमीहरूमा उत्साह थपिने अपेक्षा गरिएको छ ।





