मधुवनका बस्तीमा बाल संरक्षण र सामाजिक जोखिम न्यूनीकरणबारे संयुक्त अनुगमन
बर्दिया ,१२ कार्तिक ।
मानव बेचबिखन, लागुऔषध दुर्व्यसन तथा बालबालिकामाथि हुने जोखिम न्यूनीकरण गर्दै सुरक्षित समुदाय निर्माण गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिका–७ स्थित शुक्रबस्ती र गंगाबस्तीमा संयुक्त अनुगमन गरिएको छ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत गरिएको अनुगमनको मुख्य उद्देश्य परियोजनाका गतिविधिको प्रगति समीक्षा गर्नुका साथै समुदायस्तरमा परेको प्रभाव र अभिभावकको सोच तथा व्यवहारमा आएको परिवर्तनको मूल्याङ्कन गर्नु रहेको थियो।

अनुगमनका क्रममा अभिभावक समूहसँग प्रत्यक्ष अन्तरक्रिया गरी मानव बेचबिखन, लागुऔषध दुर्व्यसन, बाल संरक्षण तथा विभिन्न सामाजिक जोखिमबारे उनीहरूको बुझाइ र सचेतनाको अवस्थाबारे जानकारी लिइएको थियो। साथै, परियोजनाका गतिविधिबाट परिवार तथा समुदायमा आएका सकारात्मक परिवर्तन, अभ्यास, विद्यमान चुनौती र आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गरिएको थियो।

अभिभावकहरूले मानव बेचबिखन, लागुऔषध दुर्व्यसन तथा बाल संरक्षणसम्बन्धी जोखिम पहिचान गर्ने, घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराउने र आवश्यक सहयोग प्राप्त गर्ने प्रक्रियाबारे आफ्नो बुझाइमा सुधार आएको अनुभव सुनाएका थिए। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न परिवार र समुदायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
अनुगमनका क्रममा मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता मेकबहादुर गुरुङ, वडा नं. ७ का अध्यक्ष राजेन्द्र हमाल, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज गौतम, कार्यकारी निर्देशक रविकुमार तुलाधर, सल्लाहकार रुद्र सुवेदी, सदस्य शंकरसिंह थारू, परियोजना संयोजक ईश्वर बी.के. तथा फिल्ड सुपरभाइजर सबित्रा भाटलगायतको सहभागिता रहेको थियो।

वडा नं. ७ का अध्यक्ष राजेन्द्र हमालले बाँके युनेस्को क्लब र सुरक्षा परियोजनाले समुदायमा सचेतना अभिवृद्धि गर्न पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले परियोजनाका गतिविधिलाई निरन्तरता दिँदै थप घरपरिवारसम्म विस्तार गर्न आवश्यक रहेको बताउनुभयो।
मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले मानव बेचबिखन तथा लागुऔषध दुर्व्यसन नियन्त्रण र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विकास साझेदार, अभिभावक तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। सुरक्षित समुदाय निर्माणका लागि सचेतनामूलक अभियानलाई प्रभावकारी बनाउँदै स्थानीय नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

त्यसैगरी, नगर उपप्रमुख अनिता चौधरीले बाल संरक्षण तथा हानिकारक सामाजिक अभ्यासको रोकथाममा अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले अभिभावकलाई बालबालिकाप्रति संवेदनशील बन्न, उनीहरूसँग खुला संवाद गर्न तथा बालबालिकामाथि हुन सक्ने जोखिम पहिचान गरी समाधानका लागि स्थानीय निकायसँग सहकार्य गर्न आग्रह गर्नुभयो।
मधुवन नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले बालबालिकालाई मानव बेचबिखन, लागुऔषध दुर्व्यसन, शोषण तथा विभिन्न प्रकारका दुर्व्यवहारबाट जोगाउन समुदायस्तरमा निरन्तर सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले संरक्षणसम्बन्धी घटनाको समयमै जानकारी गराउने व्यवस्था र सम्बन्धित सेवा प्रदायक निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका सुरक्षा परियोजना संयोजक ईश्वर बी.के.ले गर्नुभएको थियो।
संयुक्त अनुगमनले परियोजनाका गतिविधिबाट समुदायमा परेको प्रभावको समीक्षा गर्नुका साथै आगामी कार्यक्रमका प्राथमिकता पहिचान गर्न र स्थानीय सरकार तथा कार्यान्वयन साझेदारबीचको समन्वय सुदृढ बनाउन सहयोग पुगेको जनाइएको छ।

मानव बेचबिखन, लागुऔषध दुर्व्यसन र बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहारजस्ता सामाजिक समस्याको अन्त्य केवल सरकारी प्रयासबाट सम्भव नहुने भएकाले परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकायबीच सहकार्य आवश्यक देखिन्छ। अभिभावकमा बढ्ने सचेतना, जोखिमका घटनाबारे समयमै जानकारी दिने अभ्यास र बालबालिकाको आवाज सुन्ने संस्कृतिले सुरक्षित समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।

बालबालिकाले भय, हिंसा र शोषणमुक्त वातावरणमा हुर्कन, सिक्न र आफ्नो क्षमता विकास गर्न पाउने अवस्था सुनिश्चित गर्नु नै सुरक्षा परियोजनाको मुख्य उद्देश्य रहेको छ। त्यसका लागि समुदायमा सुरु भएका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै सचेतना, समन्वय र संरक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा अनुगमनले जोड दिएको छ।





