मुख्यमन्त्री आचार्यद्वारा अधिवक्ता टंकप्रसाद पोखरेललाई श्रद्धाञ्जली अर्पण

अर्घाखाँची ,५ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले वरिष्ठ अधिवक्ता, समाजसेवी तथा नेकपा एमालेका अग्रज नेता टंकप्रसाद पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पोखेरेल का पिता समेत रहनुभएका पोखरेलको श्रद्धाञ्जली कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, कानुन व्यवसायी, शुभेच्छुक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
अर्घाखाँचीको साविक छत्रगञ्ज गाविस-८ हाल छत्रदेव गाउँपालिका-५ मा १९९४ साल माघमा जन्मनुभएका पोखरेल कानुन व्यवसाय, समाजसेवा र वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले करिब आठ दशक कानुन व्यवसायमा सक्रिय रहँदै न्यायिक सेवाको विस्तार र कानुनी सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । नेपाल बार एसोसिएसन अर्घाखाँचीका संस्थापक अध्यक्ष तथा तीन कार्यकाल अध्यक्ष रहनुभएका उहाँले नेपाल सरकारका दुई कार्यकाल वैतनिक वकिलका रूपमा समेत सेवा दिनुभएको थियो ।
तत्कालीन पञ्चायती व्यवस्थाका बेला राजनीतिक मुद्दामा पक्राउ परेका वामपन्थी नेताहरूको पक्षमा निडरतापूर्वक बहस पैरवी गर्दै उहाँ वामपन्थी धारका प्रखर अधिवक्ताका रूपमा स्थापित हुनुभएको थियो । उहाँको कानुनी फर्मबाट धेरै कानुन व्यवसायी र लेखापढी व्यवसायी तयार भएका छन् ।
पोखरेलले कानुन व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पु¥याउनुभएको थियो । उहाँ नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीको जिल्ला समितिमा तीन कार्यकाल सक्रिय रहनुभएको थियो भने प्रकाश सचेतन समूह (प्राग) को अध्यक्षका रूपमा पनि लामो समय नेतृत्व गर्नुभएको थियो ।
अर्घाखाँची सदरमुकामसम्म मोटरबाटो विस्तार गर्ने अभियानमा पनि उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँको निधनप्रति राजनीतिक दल, कानुन व्यवसायी, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै कानुन, राजनीति र समाजसेवाका क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको उच्च सम्मान गरेका छन् ।





