नेपाल–जापानसम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका

डा. रामचन्द्र भुसाल

नेपाल र जापानबीचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्वपूर्ण छ । नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका मित्र राष्ट्रहरूमध्ये जापान अग्रस्थानमा छ । सन् १९५६ सेप्टेम्बर १ मा दुई देशबीचमा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सात दशक लामो दुईपक्षीय मित्रता आपसी हित, नेपालको विकासमा जापानको साझेदारी र दुई देशका नागरिकबीचको सम्बन्ध फराकिलो र मजबुत बनाउँदै अगाडि बढिरहेको छ । दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानले आज आफूलाई सक्षम राष्ट्रको रुपमा खडा गरी विश्वका नेपाल जस्ता धेरै मुलुकको विकासमा सहयोग गरिराखेको छ ।

दुई देशबीचको मित्रताको इतिहास हेर्दा सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुची तिब्बती बौद्ध धर्म अध्ययनको सिलसिलामा तिब्बत जाने क्रममा नेपाल आउनुभएको र नेपाल जापानको मैत्री सम्बन्ध अनौपचारिक रुपमा जापानी भिक्षु इकाई कावागुचीको नेपाल भ्रमणबाटै सुरुआत भएको देखिन्छ । नेपाल र जापानबीचमा कूटनीतिक सम्बन्ध स्थापनापश्चात् जापानले नेपालको औद्योगिक विकास, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य, मानव संशाधन र पूर्वाधार विकासलगायतका क्षेत्रमा जापानी महत्वपूर्ण सहयोग गर्दै आएको छ । नेपाल र जापानबीचको सम्बन्ध स्थिर, दीर्घकालीन र विश्वासिलो छ भने जापानले नेपाललाई गर्दै आएको सहयोग निस्वार्थ र निरन्तर छ । जापानले दोस्रो विश्वयुद्ध पछिको कठिन परिस्थितिलाई अवसरको रुपमा लिँदै अहिले विश्वमै समृद्ध मुलुकहरूमध्ये अग्रस्थानमा रहेको छ । त्यस्तो कठिन परिस्थितिलाई पार गर्दै जापान अहिलेको अवस्थामा कसरी आइपुग्यो भन्ने थाहा पाउँदा हामीले जापानबाट सिक्नसक्ने कुराहरुको बारेमा बुझ्न सजिलो हुन्छ ।

जापानीहरूले आफ्नो देश तथा आफू जापानी हुनुमा अत्यन्त गर्व गर्ने गर्छन् । देश प्रेमको गहिरो भावमा उनीहरूको राष्ट्रिय विकास प्रतिको दृढ प्रतिबद्धता स्पष्ट रूपमा देखिन्छ । उनीहरू राष्ट्रिय प्रगतिलाई सामूहिक दायित्वको रुपमा लिँदै समाजको विकासको लागि एकताबद्ध भएर परिश्रमपूर्वक काम गर्छन् । ‘इमान्दारिता नै सर्वोत्तम नीति हो’ भन्ने मान्यता जापानीहरूको दैनिक जीवनमा व्यावहारिक रुपमा स्पष्ट देखिन्छ । सार्वजनिक तथा निजी दुवै परिवेशमा नियम कानुनको कडाइका साथ पालना गरिन्छ, जसले व्यवस्था कायम राख्न र अराजकता हुन नदिन सहयोग पुर्‍याउँछ । जापानमा समय निष्ठताप्रति उच्च सम्मान गर्दै समय व्यवस्थापनलाई प्राथमिकता दिइन्छ । 

जापानी उखान ‘नाना कोरोवी याओकि’ अर्थात् ‘सात पटक लड, आठ पटक उठ’ हो यसले जापानको लचिलोपन र धैर्यता झल्काउँछ र जति चुनौती आए पनि अगाडि बढिरहने दृढ इच्छाशक्ति विकास गर्न प्रोत्साहन गर्छ । जापानीहरु आफ्नो र अरुको गोपनीयतालाई धेरै सम्मान गर्छन् । जापानमा जेष्ठ र वरिष्ठहरुलाई व्यावहारिक रुपमै सम्मान गरिन्छ । त्यहाँ अनुशासनलाई सम्मानको रुपमा लिइन्छ जसले मानिसलाई आत्म नियन्त्रण गर्न प्रेरित गर्छ । अनुशासन, मिहेनत र जिम्मेवारी जापानी संस्कृति र जीवनका मुख्य आधार हुन् । 

जापानका नीतिहरुले समानतालाई बढावा दिन्छन् । सबै सरकारी कर्मचारीलाई हरेक तीन वर्षमा सरुवा गर्नु र एउटै क्षेत्रमा बस्ने सबै बालबालिकालाई प्राथमिक तहमा एउटै विद्यालयमा जानुपर्ने व्यवस्था समानताको उदाहरण हो । जापानमा हरेक पेसालाई सम्मान गरिन्छ र ‘सम्मान चाहियो भने सम्मान देउ’ भन्ने सोच सानैदेखि सिकाइन्छ । बालबालिकालाई सही गलत छुट्याउन र आफ्नो निर्णय आफैँ गर्न प्रोत्साहन गरिन्छ, जसले आत्मनिर्भरता विकास गर्छ । जापानमा घरदेखि पार्क र विद्यालयजस्ता सार्वजनिक स्थानसम्म सफाइलाई अत्यन्त महत्व दिइन्छ । जापानी समाजले साझा हितका लागि सहकार्यलाई महत्व दिन्छ, जुन कुनै चाडपर्व, सामुदायिक कार्यक्रम र स्वयंसेवा गतिविधिमा देखिन्छ । जापानी संस्कृतिमा शिक्षालाई उच्च मान्यता दिइन्छ र जापानको शिक्षा प्रणाली प्रतिस्पर्धात्मक एवं व्यावहारिक छ ।

जापानीहरूले ताजा र मौसमी उत्पादनमा केन्द्रित सन्तुलित खाना खाने, बेलुकाको खाना चाँडै खाने र खानापछि हल्का व्यायाम गर्ने गर्छन्, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यस्ता खानपान र जीवनशैलीले समग्र स्वास्थ्य सुधार्ने र दीर्घायु बढाउन मद्दत गर्ने भएकै कारणले जापानमा १०० वर्ष नाघेको जनसङ्ख्या झन्डै एक लाख छ । जापानीहरू आफ्नो मिहेनत र काममा गर्व गर्छन्, जसले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छ । जापानी शब्द ‘गामान’ (सहनशीलता) भन्ने अवधारणाले काममा निरन्तरता, धैर्यता र कर्तव्यबोधप्रति जापानी प्रतिबद्धता देखाउँछ । जापानीहरूले जीवनमा सबैभन्दा बढी आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राख्दछन् । त्यहाँको तीव्र आर्थिक विकास नेपालजस्ता विकासोन्मुख देशहरूको लागि प्रेरणादायी उदाहरण बनेको छ । जापानले गरेको दक्ष जनशक्ति विकास, जापानीहरूको उच्च नागरिक जिम्मेवारी, प्रभावकारी राजनीतिक नेतृत्व, सुशासनलगायतका कुराहरुले अहिलेको जापान बनेको हो । हामीले जापान र जापानी जनताहरूबाट यस्तै कुराहरु सिक्न सक्छौँ ।

जापान जस्तो विकसित मुलुकले पनि अहिले केही समस्याहरु भोगिरहेको छ । ढिलो विवाह र व्यस्त जीवनको दबाबको कारण घट्दो जन्मदर र बढ्दो वृद्धहरूको सङ्ख्या जापानको चुनौती बन्दै गएको छ । त्यस्तै जापानमा पश्चिमी देशको प्रभावले सामाजिक, धार्मिक र सांस्कृतिक परिवर्तन आउन गई जापानको आफ्नोपनमा ह्रास हुने सम्भावना बढ्दै गएको छ । अहिले जापानमा विदेशीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ र नेपालीहरू मात्रै झन्डै तीन लाख छन् । यसरी बढ्दै गएको विदेशीहरूको सङ्ख्या जापानी समुदायको लागि समस्या बन्दैछ । जापानीहरुलाई जापानको बारेमा पर्याप्त ज्ञान नभएका विदेशीहरूले जापानको संस्कृति, परम्परा र समुदायमा विकृति ल्याउँछन् कि भन्ने त्रास छ भने जापानी भाषा, संस्कृति, नियम कानुन आदिको ज्ञान नभएका विदेशीहरूले भाषा र संस्कृतिको समस्या, सामाजिक एक्लोपना र जटिल प्रशासनिक प्रक्रिया जस्ता विभिन्न कठिनाइ भोगिरहेका छन् । यस्तो अवस्थामा कतिपय नेपालीहरु आफ्नो जापान बस्ने समय अवधि नसकिँदै नेपाल फर्कने, आत्महत्या गर्ने लगायतका समाचार आउन थालेका छन् । गत दश महिनामा मात्र २५ जना नेपाली युवाहरुले जापानमा आत्महत्या गरेको समाचार छ । यस्ता घटनाहरु नेपाल र जापान दुवैको लागि दुःखद् हुन् र भविष्यमा यस्ता घटनाले नेपाल जापानको मैत्री सम्बन्धमा नै क्षति पुग्न सक्छ । दुवै मुलुकका सरकार, जापानी समुदाय एवं जापान जाने वा त्यहाँ बस्ने नेपालीहरूले यी समस्याहरुलाई समयमै गम्भीरतापूर्वक लिई आपसी समझदारीमा समाधानतर्फ लाग्नुपर्छ । 

यसको लागि सर्वप्रथम जापान जाने नेपालीहरूसँग कम्तीमा मान्यता प्राप्त जापानी संस्थाले लिने परीक्षामा एनफोर (एन–४) लेभलको जापानी भाषाको ज्ञान हुनु आवश्यक छ । जापानी भाषाको साथै, जापान जाने नेपालीहरूसँग जापानको संस्कृति, दैनिक जीवनयापनलगायतका विषयमा ज्ञान हुनु अति आवश्यक छ । जापान जाने नेपालीहरू भिसा प्राप्त भएपछि यी कुराहरुमा ध्यान नदिने र सीपसमेत नसिकी जापान जाने हुँदा अहिले त्यस्ता व्यक्तिहरु समस्यामा परेको देखिन्छ । त्यसको लागि जापान जाने नेपालीहरू खासगरी जो कुनै व्यवसाय वा कामको लागि जान्छन्, उनीहरूको लागि गुणस्तरीय अभिमुखीकरण कार्यक्रमको आवश्यकता छ । औपचारिकताको लागि मात्र दिइने अहिलेको अभिमुखीकरण कार्यक्रम प्रभावकारी छैन । 

जापान जानुअघि दिइने अभिमुखीकरण कार्यक्रमको लागि युवा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपालस्थित जापानी राजदूतावास, जापानस्थित नेपाली राजदूतावास, जाइका, वैदेशिक रोजगार व्यवसायी सङ्घ र नेपाल जापान मैत्री सम्बन्धमा लामो समयदेखि निरन्तर रुपमा कार्यरत सङ्घ/संस्थाहरू बीचमा समन्वय गरी सम्बन्धित सबैको समन्वय र सहमतिमा गुणस्तरीय पाठ्यक्रम तयार गरी त्यसैको आधारमा जापानको विविध विषयमा ज्ञान भएका प्रशिक्षकहरूबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु अति आवश्यक छ । 

जापानी भाषा अध्ययनको लागि नेपालमा अहिले धेरै भाषा स्कुल छन् । भाषा परीक्षाको लागि समेत जापानकै मान्यता प्राप्त परीक्षा प्रणाली (जेएलपिटी/जेएफटी) भएकाले यो प्रणालीअन्तर्गत कम्तीमा एन–४ लेभलको परीक्षा उत्तीर्ण गरेको र तोकिएको अभिमुखीकरण तालीम लिई प्रमाणपत्र प्राप्त व्यक्तिहरुलाई मात्र जापान पठाउने व्यवस्था गर्दा जापान जाने नेपाली र जापानी समुदाय दुवै लाभान्वित हुन्छन् । यसले जापानी समुदायमा नेपालीप्रतिको धारणा अझै सकारात्मक भई नेपाल जापानबीचको मैत्री सम्बन्ध सुमधुर बनाउनसमेत सहयोग पुग्छ । हाल जापानलाई जापानी भाषा, संस्कृति, दैनिक जीवनयापनलगायतका विषयमा ज्ञान भएका दक्ष युवा जनशक्तिको खाँचो छ । 

नेपाली युवाहरुलाई रोजगारी चाहिएको छ । यस सन्दर्भमा हामीले सङ्ख्यात्मक मात्र नभई गुणात्मक पक्षमा ध्यान दिई नेपालबाट भाषा, संस्कृतिलगायतको ज्ञान भएका र अभिमुखीकरण तालिम लिएका युवाहरु मात्र रोजगारीको लागि जापान पठाउने भरपर्दो र दिगो प्रणालीको विकास गरी त्यही प्रणालीमार्फत नै जापान पठाउनुपर्छ । यसले हालको नेपाल जापानमैत्री सम्बन्ध भोलिका दिनमा थप मजबुत  हुँदै जापान जाने नेपाली युवाहरु र जापानी समुदाय दुवैलाई सहयोग पुग्नेछ । यसको लागि समयमै सरोकारवाला सबैको ध्यान जान जरुरी छ । 

(लेखक : नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (जाफ्‌स) का अध्यक्ष एवं नेपाल कृषि प्रवद्र्धन आयोजनाका टोलीप्रमुख हुनुहुन्छ ।)

नेपाल–जापानसम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *