महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर, ३ भदौ ।
महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो ।
आयोजना प्रमुख रञ्जनराज भट्टराईले दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर र जोगबुढा नदीमा २५५ मिटर भीमदत्तस्थित दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको जानकारी दिए ।
तटबन्ध निमार्णपछि हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती सुरक्षित बनेको छ । उक्त बस्ती जोगाउन आयोजनाले ७६२ मिटर तटबन्ध निर्माण गरेको थियो ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । नदी नियन्त्रण र व्यवस्थापनका लागि पुराना संरचना मर्मत गर्ने काम नियमित भइराखेका छन् । महाकाली नदीमा २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएकाले कार्यालयले मर्मतसम्भार गर्दै आएको छ । महाकालीपारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।






