कोहलपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते
बाँके,२८ चैत ।
शनिबार बिहान करिब १०:४० बजे कोहलपुर नगरपालिका–१५ अकलघरुवा स्थित शिव मन्दिर चोकमा भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
मदन चोकबाट हवल्दारपुरतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ब ०३६१ नम्बरको मोटरसाइकल र हवल्दारपुरबाट मदन चोकतर्फ आउँदै गरेको भे १ ख ३२३२ नम्बरको टिप्पर एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक जाजरकोट जिल्ला छेडागाड नगरपालिका–५ निवासी करिब ३० वर्षीय सुदिप आरसी घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचारका लागि नेपालगञ्जस्थित संजीवनी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।
मोटरसाइकलको पछाडि सवार उनकी आमा ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।
दुर्घटनामा संलग्न टिप्पर चालक बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–९ ढकेरी निवासी ४२ वर्षीय टेकबहादुर विष्टलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।





