शुक्लाफाँटामा क्षयरोगी बढे

कैलाली ,३० चैत ।
शुक्लाफाँटा नगरपालिकामा फोक्सोसम्बन्धी क्षयरोग (टिबी)का बिरामीको सङ्ख्या बढ्दै गएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत आर्थिक वर्षमा १२ महिला र ४५ पुरुष गरी ५७ जनामा फोक्सोको क्षयरोग पुष्टि भएको थियो । सोही अवधिमा फोक्सोबाहेक शरीरका अन्य अङ्गमा क्षयरोग देखिएका २० जना बिरामीको उपचार गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार गत वर्ष ११ जनामा उपचारपछि पुनः क्षयरोग बल्झिएको थियो । चालु आवमा हालसम्म फोक्सोको क्षयरोगबाट प्रभावित आठ महिला र २१ पुरुष गरी २९ जना उपचाररत छन् । यस्तै अन्य अङ्गमा सङ्क्रमण देखिएका तीन महिला र १० पुरुष गरी १३ जना उपचारमा छन् भने पाँच जना बिरामीमा पुनः रोग बल्झिएको अवस्थामा विशेष निगरानीमा उपचार भइरहेको उनले जानकारी दिए ।
शाखा प्रमुख भट्टका अनुसार क्षयरोग ‘माइकोब्याक्टेरियम ट्युबरकुलोसिस’ नामक जीवाणुका कारण हुने सङ्क्रामक रोग हो । जुन मुख्यतः हावामार्फत सर्ने गर्दछ, सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा थुक्दा निस्कने सुक्ष्म कणमार्फत यो रोग स्वस्थ व्यक्तिमा सर्ने गर्दछ । भीडभाडयुक्त स्थान, कमजोर प्रतिरक्षा प्रणाली तथा कुपोषण भएका व्यक्तिमा यसको जोखिम बढी रहने उहाँले बताए ।
उनका अनुसार यस रोगका प्रमुख लक्षणमा दुई हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खोकीसँग रगत आउनु, साँझपख ज्वरो आउनु, राति पसिना आउनु, छाती दुख्नु, तौल घट्नु र भोक कम हुनु रहेका छन् । यस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन उनले सुझाव दिएका छन् ।
क्षयरोगको पहिचानका लागि खकार परीक्षण, एक्स–रे तथा प्रयोगशाला परीक्षण गरिन्छ । समयमै पहिचान गरी छदेखि नौ महिनासम्म नियमित औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको पार्न सकिन्छ । तर, औषधि बीचमै छोडेमा रोग झन् जटिल बन्ने जोखिम हुने भएकाले पूरा उपचार लिन उनले आग्रह गरेका छन् ।
नगरपालिकाले बिरामीको सहज पहुँचका लागि बन्साह, पिताम्बर, झलारी, पिपलाडी र वन समिति गरी पाँच स्थानमा डट्स केन्द्र सञ्चालनमा ल्याएको छ । ती केन्द्रहरूबाट स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि वितरण, खकार परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको छ ।
सरकारले सन् २०५० सम्म ‘क्षयरोग मुक्त नेपाल’ बनाउने लक्ष्य लिएको छ । सो लक्ष्य हासिल गर्न समयमै पहिचान, नियमित उपचार र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिइएको छ । स्वास्थ्यकर्मीले क्षयरोग नियन्त्रणका लागि सबै नागरिकलाई सचेत रहन र लक्षण देखिएमा ढिलाइ नगरी परीक्षण गराउन आग्रह गरेका छन् ।






