२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

तेहरान, ६ मङ्सिर (रासस/एएनआई) । 

इरानको समृद्ध युरेनियम भण्डार र भविष्यमा युरेनियम संवर्धन गर्ने विषयमा सहमति जुट्न नसकेपछि इरान र अमेरिकाबीचको वार्ता ठप्प भएको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीचको मतभेद कायमै रहेकाले मध्यपूर्वमा पुनः सैन्य द्वन्द्व चर्किन नदिने ग्यारेन्टी दिन नसक्ने चेतावनी दिएका छन् ।

अल अरेबिया इङ्ग्‌िलसले एक वरिष्ठ स्रोतलाई उद्धृत गर्दै दिएको प्रतिवेदनअनुसार अमेरिकाले इरानसँग आफ्नो समृद्ध युरेनियम भण्डार हटाउने र भविष्यमा युरेनियम संवर्धन पुनः सुरु नगर्ने स्पष्ट कार्ययोजना तथा लिखित प्रतिबद्धता मागिरहेको छ । मध्यस्थकर्ताहरूले मतभेद कम गर्न विभिन्न प्रस्ताव अघि सारे पनि दुवै देश आआफ्नो अडानमा कायम छन् ।

इरानको आणविक कार्यक्रमको भविष्यबारे सहमति हुन नसकिरहेका बेला कूटनीतिक वार्ता अवरुद्ध भएको हो । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिक गतिरोध अन्त्य गर्ने नाममा मात्र अमेरिकासँग सम्झौता नगर्ने बताएका छन् । उनले कुनै पनि सम्झौताले इरानको राष्ट्रिय हित र सुरक्षा चासो सम्बोधन गर्नुका साथै अर्को सैन्य टकराव हुन नदिने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।

अल जजिराका अनुसार इरानको सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अराघचीले तेहरानले ‘न युद्ध न शान्ति’ को अवस्थालाई निरन्तरता दिनुभन्दा ‘राम्रो, सम्मानजनक र स्थायी सम्झौता’ चाहेको बताएका थिए ।

अमेरिकासँग हुन सक्ने सम्भावित समझदारीको स्थायित्वमाथि प्रश्न उठाउँदै उनले दुई महिनापछि नै सम्झौता उल्लंघन भएर फेरि युद्ध सुरु हुने हो भने अहिले सम्झौतामा पुग्नुको औचित्य नरहने धारणा व्यक्त गरे । गत जुनमा भएको युद्धविराम सम्झौताको १५ दिनपछि नै पुनः लडाइँ सुरु भएको प्रसङ्ग उल्लेख गर्दै उनले विगतको अवस्था दोहोरिने जोखिम रहेको अवस्थामा तेहरानले सम्झौता स्वीकार नगर्ने बताए ।

आणविक विषयमा भने इरान ६० प्रतिशतसम्म संवर्धन गरिएको युरेनियमको भण्डारबारे वार्ता गर्न तयार रहेको उनले स्पष्ट पारे । तर, उक्त सामग्री इरानबाहिर पठाउने प्रस्ताव भने तेहरानलाई स्वीकार्य नरहेको उनको भनाई थियो । इरानको राष्ट्रिय हित र सुरक्षा चासोलाई समेट्ने बृहत् सम्झौता हुन सके युरेनियम संवर्धनका विषयमा पनि उपयुक्त सहमति निकाल्न सकिने अराघचीले बताए ।

कतार र पाकिस्तानलगायत मध्यस्थकर्तामार्फत तेहरान र वासिङ्टनबीच सन्देश तथा प्रस्ताव आदानप्रदान भइरहेको पनि उनले पुष्टि गरे । “हामी कूटनीतिमा विश्वास गर्ने मानिस हौँ र अझै पनि कूटनीतिप्रति आशावादी छौँ”, उनले भने ।

इरानले आणविक कार्यक्रम, प्रतिबन्ध र सुरक्षा चासोलाई सम्बोधन गर्ने सम्झौता आवश्यक रहेको आफ्नो अडान दोहोर्‍याएको छ । अमेरिकाले आफ्ना सर्त पूरा गरेमा इरान हर्मुज जलघाँटी पुनः खोल्न इच्छुक रहेको पनि अराघचीले बताएका छन् ।

घातक स्वायत्त हतियार नियमन गर्न देशहरू सहमत

घातक स्वायत्त हतियार अर्थात् ‘किलर रोबोट’ को प्रयोग नियमन गर्न अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र संघका १२८ सदस्य राष्ट्र सहमत भएका छन् । जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

तर, स्वायत्त हतियारविरुद्ध अभियान चलाइरहेका संस्थाहरूले सहमतिलाई अपर्याप्त भन्दै कानूनी रूपमा बाध्यकारी नियम आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित हतियारले मानव जीवन र मृत्युसम्बन्धी निर्णय आफैँ गर्न सक्ने जोखिम छ ।

संयुक्त राष्ट्रसङ्घीय परम्परागत हतियारसम्बन्धी महासन्धि (सिसिडब्लु) को समीक्षा सम्मेलनका अध्यक्ष जुलियन थोनीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार कुन स्वायत्त हतियार प्रतिबन्धित गर्ने र कुन नियमन गरेर प्रयोग गर्न दिने भन्ने विषयमा आगामी वार्ता केन्द्रित हुने बताए ।

अमेरिका र रुसलगायत सैन्य प्रविधिमा अग्रणी देशहरू कडा प्रतिबन्धको पक्षमा नरहेकाले यस विषयमा सहमति जुटाउन कठिन हुँदै आएको छ । ‘स्टप किलर रोबोट्स’ अभियानकी कार्यकारी निर्देशक निकोल भ्यान रुइजेन र ह्युमन राइट्स वाचकी भेरिटी कोयलले सहमतिलाई निराशाजनक बताउँदै कानूनी व्यवस्था निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

लेख : एमालेको साख

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

सम्पादकीय :  दुई दशकदेखि अल्झिएको कर्णाली कोरिडोर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!