२०८३ मंसिर ७ गते
वीरेन्द्रनगर, सुर्खेत 16°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

लेख : एमालेको साख

उमालाल आचार्य

कम्युनिस्ट शासन व्यवस्था आएपछि काम गर्न नसक्ने अशक्त बुढाबुढीलाई गोलि हानेर मारिन्छ भन्ने हल्ला घर घरमा पुगेको थियो । कम्युनिस्टलाई बदनाम गर्न र जनमत आफ्नो भाँडामा पार्न विपक्ष राजनैतिक वृत्तबाट नै यस्तो अफवाह फैलाइएको थियो भनी बुझ्न गाह्रो थिएन । स्वार्थ को हानथापमा एउटा अवसर यस्तो आयो, जसले एमाले लाई सत्तामा पुर्‍यायो । गोली हानिन्छ भन्ने सुनेर अन्योलमा परेका बुढाबुढीलाई वृद्धभत्ता दिएर वृद्ध उमेर सहज पारि दिने संस्कार बसाल्यो । आफ्नो गाउँ आफै बनाउँ भन्दै माटो सँग मन जोडिने अभियान पनि चलायो । विश्वको बदलिँदो परिवेशमा कम्युनिस्ट विचार बचाइराख्न जनताको बहुदलीय जनवाद (जबज) अवधारणा ल्याइयो । राजालाई आफ्नो थान्कामा नबस्ने भए चुनाव लड्न मैदानमा आउनु भन्ने ढंग बाट राजनीतिमा दरबारलाई चुनौती दिइयो । एमालेको साख दिन गुना र रात चौगुना भएर देशमा फैलियो । पार्टीको साख जोगाउन अहोरात्र खटिरहेका स्वनामधन्य ती पुरुषहरुको भौतिक शरीर मेटिएर गए पनि नेपाली राजनीतिमा संधै जिवित छन, सम्झनामा सम्मानित छन । 

संघर्षको मैदानमा लामो इतिहास भएको एमाले पार्टीलाई  नेतृत्वमा गलत र सन्काहा चरित्रले बर्बाद पार्दै गएको छ । सत्तरी वर्ष उमेर पुगेको वा दुई कार्यकाल नेतृत्वमा  बसेको व्यक्ति पुनः पार्टी प्रमुख हुन नपाईने भन्ने किसिमको व्यहोरा उल्लेखित पार्टी विधानलाई धोती लगाएर खड्गप्रसाद ओली ले जबर्जस्ती एमालेको नेतृत्व तेस्रो पटक पनि हत्याइ छोडे ।

जेनजी आन्दोलनमा चौतर्फी ओलीको आलोचना भैरहेको थियो । पार्टीमा पनि निन्दा बढ्दै गएकोले निकट भविष्यमै नेतृत्व गुमाउनु पर्ने स्थितिको आँकलन गरेर पार्टी अध्यक्षको पदावधि बाँकी छँदाछँदै हतारमा महाधिवेशन गरि पुन नेतृत्व हत्याए । आफ्नो आलोचना गर्ने र असहमति जनाउने नेता कार्यकर्तालाई विगतमा छानीछानी पार्टीबाट निकाल्दै गए । लोकतान्त्रिक र सामुहिक परिपाटीको सट्टा नितान्त व्यक्ति केन्द्रित आदेशात्मक शैलीबाट पार्टी चलाउन थाले । आफ्नो महिमागान गाउने र जयजयकार गर्ने पाकेटका नेता तथा  कार्यकर्तालाई अवसरमाथि अवसरहरु थप्दै गए । त्यसर्थ ओलीले जस्तोसुकै काम गरे पनि उपासकले आरती उतार्दै जान थाले । यिनकै कारण एमालेको साख गिर्दै गएको छ भन्ने कुरा पछिल्लो चुनावी परिणामले प्रष्ट देखाइदिएको छ । त्यसकारण ओलीका कट्टर समर्थक नेता कार्यकर्ताहरु पनि  अन्तिममा ओलीलाई नेतृत्वबाट फालेर एमालेको साख जोगाउन जोडजुलुम नगरेका होइनन् । तर ती नेता तथा  कार्यकर्ताका कुनै न कुनै कमजोरीको नसो समाउन जानेका ओलीले पर्नखान दिएनन् र निरन्तर आफ्नो स्वार्थको दुनो  सोझ्याइरहे । 

पछिल्लो पटक  काँग्रेस एमाले मिलेर गठबन्धन निर्माण गरि सरकारको नेतृत्व लिएपछि ओलीबाट जनताले विकास र सुशासनको अपेक्षा राखीरहेका थिए । केरुङ काठमाडौं, काठमाडौं पोखरा पर्वत बेनी सम्म रेल चलाउने, पानीजहाज संचालनका लागि कार्यालय समेत स्थापना गरिसकेका ओलीले घरमा खाना पकाउने ग्यास पाइप जोडिदिने जस्ता आश्वासन पूरा गर्नु त कता हो कता विपक्षी आलोचकसँग प्रतिशोध लिने ध्याउन्न राखेर तानाशाहको अभ्यासमा लागे । 

उजुरी परेको ५ वर्षमा भ्रष्टाचार सम्बन्धि मुद्दा छिनोफानो नभएमा पछि कारबाही गर्न नपाइने भन्ने आसयको विधेयक पारित गर्न खोजेपछि जनताले मात्र होइन आफ्नै पार्टीका ईमानदार कार्यकर्ताले पनि व्यापक विरोध गरे ।तत्कालीनको दैवीप्रकोप बाढी र पहिरोबाट ठाउँ ठाउँमा मोटरबाटो बगाएर यातायात अवरुद्ध मात्रै भएको थिएन राजधानीमा बागमती नदी उर्लेर जनधनको पनि ठूलो क्षति भैरहेको थियो । त्यस्तो गम्भीर अवस्थामा देशको प्रधानमन्त्रीले जनतालाई सम्बोधन गरि सान्त्वना दिनुपर्नेमा म भैंसी दुहुन गएको थिइन, बाढी पहिरो कहाँ कहाँ आउँछ भन्ने कसैले भनेको पनि  थिएन भन्ने जस्ता अत्यन्त गैरजिम्मेवार अभिव्यक्तिले ओली प्रती जनताको घृणा र आक्रोश चुलिदै गएको मान्न सकिन्छ । पूर्ववर्ती सरकारका कार्यकालमा हुने गरेका दैवीप्रकोपका घटना दुर्घटनालाई लिएर ओलीले तत्कालीन सरकार प्रमुख लाई अलच्छिनाहा र बिच्छुकी जस्ता शब्दबाँड प्रहार गर्ने गरेको पनि जनतालाई राम्रोसँग थाहा छ । 

 

आफू उत्तम र आफू बाहेकका  सबै खत्तम भन्ने ओलीको दुषित मान्यताले उनको लोकप्रियता ओरालो झर्न थाल्यो ।  माधवकुमार नेपालको नाम लिनुपरेमा पानीले मुख कुल्ला गर्छु भन्ने सार्वजनिक अभिव्यक्ति सुनेर ताली पिट्दै सिठी बजाउने भन्दा नाक खुम्च्याएर मन्टो बटार्ने कार्यकर्ताको संख्या धेरै देखिन थाल्यो । परिस्थिति यस्तो निर्माण बन्दै गयोकी एमाले आयोजना गरेको हरेक कार्यक्रममा जब जब ओलीको सम्बोधन गर्ने पालो आउँछ तब दर्शक श्रोता उठेर तितरबितर भैदिन्छ्न । 

आफ्नै  गृहजिल्लामा पनि ओलीले यस्तो दुर्दान्त  अवस्था भोगिसकेका थिए तर चेत्नु भन्दा बदलाभावमा उत्रिए । चर्चा र सस्तो लोकप्रियताका लागि ओलीले आफ्नो नामबाट खेलकुद आयोजना गरे । तर त्यहाँ पनि उनका विरुद्ध कडा नारा लाग्न छोडेन । ओलीलाई कुनै भूमिकामा देखाएर आम्दानी सपार्छु भन्ने व्यक्तिको फिल्म डुब्यो । ओलीको निमन्त्रणामा पुगेर उनको महिमा गान गरेकै कारण संगीत क्षेत्रका एउटा चर्चित कलाकारको कलाकारीता मात्रै धर्मराएन, ओलीको गुणगान गाए बापत सामाजिक सन्जालमा पनि ठूलो आलोचना सहनु पर्‍यो । पछिल्ला दिनमा ओली जहाँ जहाँ जान्छन् युवा जमात उनका विरुद्ध नारा जुलुस लगाउन तम्सिन्छन । 

सामुहिक निर्णयलाई लत्याउँदै ओलीले मनोगत रूपमा पार्टी चलाउन  थाले ।  व्यवसायी मीनबहादुर गुरुङसँग पार्टीको लागि जग्गादान लिन लागेको विषय अत्यन्त विवादमा भयो । जानकारी खोजेर नेतृत्वमा अविश्वास गरेको भनी विद्या पाण्डे र उषाकिरण तिमिल्सिनालाई कारबाही गरियो भने भीम रावललाई पार्टीबाट निष्कासन गरेर प्रतिशोध साँधियो । पछिल्ला दिनमा आफूसँग विमति राख्ने नेता कार्यकर्ता लाई मसँग निहु खोजेमा भीम रावलको हैसियत बनाइदिन्छु भन्ने ढंगबाट चेतावनी दिने गरेका कुरा पनि सार्वजनिक भैरहेका छन । पार्टीगत राजनीतिमा फर्कने गरि पूर्वराष्ट्रपति  विद्यादेवी भण्डारीले वातावरण तयार गर्दा ओलीले अवरोध मात्रै गरेनन् भण्डारीको पार्टी सदस्यता पनि खारेज गरिदिए ।  एक ढंगबाट सदस्यता खारेजी मनासिब भए पनि आफ्नो स्वार्थका लागि विधान धोती लगाउन पछि नपर्ने  ओलीको त्यो निर्णयलाई पार्टी भित्रैका नेता कार्यकर्ताले उचित मान्न सकेनन् । विद्यालाई अपमानित गर्न  उनले स्वर्गीय मदन भण्डारी आलोचना मात्रै गरेनन् पटकपटक तेजोबध पनि गरिरहे । विद्यादेवी भण्डारीको मुख पनि हेर्न मन लागेको छैन  भनेर पार्टी प्रमुखले सार्वजनिक रूपमा बदनाम गरेको कुरा जगजाहेर छ ।

सत्ता उन्मादले कुशासनको पराकाष्ठा नाघेपछि शासनको बागडोर गुमाउनुपर्छ भन्ने कुरा ओलीले सायद कहिल्यै पनि अनुमान गरेका थिएनन् । उनकै शब्द सापटी लिंदा जेनजी आन्दोलनमा भाग्न ५ मिनेट ढिलो गरेको भए मारिन सक्ने सम्भावना रहेछ । सत्ता गुमाउनुको पीडा र आक्रोश उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीमाथि खन्याइरहे । जनमत प्राप्त नभएकोले कार्की सरकार असंवैधानिक हो त्यसकारण  प्रधानमन्त्री पद आजै छोड्नुपर्छ नभए भोलि  हटाइन्छ भनिरहे । त्यसो भन्दाभन्दै पनि आफ्नै भनाइ र अडानका विपरीत  पार्टीलाई ओलीले चुनावमा होमिहाले । 

कस्तो विवादास्पद चरीत्र ! एमालेसँग भन्दा पनि ओलीको प्रवृतिसँग जनताको घृणा वितृष्णा र आक्रोश चुलिएको थियो, त्यसकारण पार्टीलाई पनि क्षति भयो र ओलीले पनि  सर्वनाक हार बेहोर्नु पर्‍यो । नैतिकताको आधारमा पार्टी प्रमुखबाट राजीनामा दिई अलग हुनुपर्नेमा पराजयको दोष अरुलाई बाँड्दै राजीनामा खोज्ने नेता कार्यकर्ताहरुलाई लफंगा आवारा र फटाहा भन्दै सार्वजनिक रूपमा गाली गलौज गर्दै हिंड्न थाले । आफ्ना कित्ताका नेता कार्यकर्ता समेत चित्त दुखाएर विद्या भण्डारीलाई समर्थन गर्न थाले पछि ओली आत्तिदै भण्डारीलाई पार्टी सदस्यता दिएर दोस्रो दर्जाको पद सिर्जना गरि भित्र्याए । जबकि पार्टीको विधान मा त्यस्तो व्यवस्था छैन भन्ने भनाइ सार्वजनिक भएको छ । भण्डारीको पार्टी सदस्यता हिजो खारेज गरेका ओलीले आज सदस्यता दिएर किन भित्र्याएका हुन भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ छैन ।आफ्नो अनुकूलतामा विधान मिचेर एकाधिकार शैलीबाट थामथुम पारे पनि ओलीले अब पार्टी उठाउन सक्दैन भन्नेमा एमालेका तमाम  शुभचिन्तकहरुले बुझिसकेका छन् । 

एमालेले आयोजना गरेको राष्ट्रिय भेलामा क्रोधित ओलीले बम्किदै भने कान खोलेर सुने हुन्छ एमाले फेरि सरकारमा जान्छ, देश बनाउँछ विकास गर्छ । आफ्ना कार्यकर्ताहरुका अगाडि उभिएर दाह्रा किट्दै र मुठी फन्नाउँदै क्रोधित मुद्रामा हाउभाउ गरे पनि  उपस्थित कार्यकर्ताले विश्वास गरे होलान भनेर कसैले मान्न सक्दैन । किनभने विश्वासको लागि पनि केही खास आधार चाहिन्छ । कुनै काकताली नपरी अथवा राजनीतिक फेर बदल नभइ अहिलेकै अवस्थामा एमाले सरकारमा जानसक्ने ठोस आधार कारण खुलाउन पर्दैन ? चुनाव हारेर पछारिएपछि आफ्नो कमजोरी मूल्यांकन गर्नुको सट्टा जनताले गलती गरे भनेर दोषारोपण गर्ने, निर्वाचनमा धाँधली भयो भन्न पछि नपर्ने । यस्तो दोगोला चरित्रले फेरि एमाले उँभो लाग्ला ? आफ्नै क्षेत्रमा चुनाव हारेर रनाहामा परेपछि  बालुवाटार त के सिंहदरबारमा नै ओलीका लागि  तगारो लागेको छ । त्यसकारण बेला बेला उनले आक्रोश र भँडास पोख्ने गरिरहन्छन ।

हामीलाई थुन्ने योजना बनाइएको छ भनेर काल्पनिक कुरा को खुलासा गरिरहेका छन । ताकि भोलि लहरो तान्दा पहरो गर्जिदै कुनै अभियोजनमा यदि ओली नै पनि परिहाले भने हामीले पहिल्यै भनिरहेका थियौं यो भयंकर षड्यन्त्र भएको छ भन्दै हल्ला पिट्न र पानीमाथिको ओभानो देखिन मेसो मिलाएर उनले त्रसित मानसिकतामा देखाएका छन । वनको बाघले नखाए पनि उनलाई मनको बाघले खाइरहेको छ भनी बुझ्न सकिन्छ । राजनीतिक संकटमा छट्पटाइरहेका ओली ले आन्दोलनको रटान लगाइरहेका छन  र  विगतमा आफू गिरफ्तारमा पर्दा कार्यकर्ता आन्दोलनमा सरिक नभएकोमा खुनासिदै पार्टीको अध्यक्ष थुनिएका बेला आन्दोलन नगर्ने कार्यकर्तालाई जिउँदो मान्न सकिन्न भन्ने आसयबाट आक्रोश पोख्न भ्याएका छन ।

आन्दोलन किन र केका लागी भन्ने कुरामा जुनसुकै पार्टीका कर्मठ नेता तथा विवेकशील कार्यकर्ताले गम्भीर रूपमा मनन गर्नुपर्ने अवस्था आएको छ । कुनै पनि व्यक्तिको  कुत्सित लहड र निजीस्वार्थ पूरा गर्न सचेत नागरिकले नारा जूलूस  गर्नु  बिल्कुल वाञ्छनीय हुँदैन । एमाले पार्टी कसरी निर्माण भएको थियो र कसरी स्खलन भैरहेको छ भन्ने विषयमा गम्भीर  छलफल र बहस हुन जरुरी छ । यहाँ व्यक्तिवादको होइन राष्ट्रवादको पक्षमा हुनुपर्छ आन्दोलन । मनोगत स्वार्थ का लागि  कसैले आह्वान गरेको आन्दोलनमा अन्धभक्त भएर सरिक बन्ने हो भने त्यो आत्माघाती र प्रत्युत्पादक हुने निश्चित छ र पार्टीको साख पनि बर्बाद हुनबाट जोगाउन मुश्किल देखिन्छ । (लेखकका निजी बिचार हुन)

लेख :  एमालेको साख

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि

लेख :  एमालेको साख

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!