दाङ, ६ मङ्सिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीकी ४२ वर्षीया सन्ध्या पौडेलले आजभोलि महिलालाई चप्पल कसरी बनाउने भन्ने बारे सीप सिकाउन व्यस्त हुन्छन् । तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँमा उनले खोलेको ‘सन्ध्या लेडिज चप्पल तालिम केन्द्र’मा मार्फत महिलालाई चप्पल बनाउने सीप सिकाउन व्यस्त भएका हुन ।
उनले महिलालाई विभिन्न समूह बनाएर तीनहजार पाँचसयदेखि पाँच हजारसम्म शुल्क लिएर सीप प्रदान गरिरहेको बताए । उनले गतवर्षदेखि सुरु गरेको चप्पल बनाउने तालिम केन्द्रबाट हालसम्म २०० भन्दा बढी महिलालाई सीप प्रदान गरिएको बताए । त्यहाँ सिकेको सीप महिलले आफनो गाउँ तथा अन्य ठाउँमा गएर आयआर्जन गर्न सक्ने भएको पौडेलले बताए । पौडेलले महिलाले प्रयोग गर्ने चप्पल, जुत्ता, सेन्डील, बेहुली चप्पल बनाएर बिक्री गर्ने गरेको जानकारी दिए ।
तालिमसँगै उनले चप्पल बिक्रीका लागि तुलसीपुर बजारमा पसल सञ्चालन गरेका छन् । छोटो समयमै सीपमूलक तालिम र व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको पौडेल बताए । उनी भन्छन, “मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने तीन महिनामै दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिदो रहेछ । उनले तीजदेखि दशैतिहारको अवधिसम्म रु दुई लाखसम्मको जुत्ता चप्पल बिक्री गरिसकेको जानकारी दिए ।
उनले अहिले आफूलाई महिला उद्यमीका रूपमा पनि चिनाउन सफल भएका छन् । सीप नै आत्मनिर्भरता र समृद्धिको आधार भएकाले सबैले सीप सिकेर सबैलाई स्वरोजगार बन्न सुझाव दिए । स्थानीय तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा वडा नं–७ मा गत वर्ष सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिमबाट पौडेलसहित धेरै महिला लाभान्वित भएका हुन् । तालिम लिएका केही महिलाले आफ्नै पेशा तथा व्यवसायसमेत सुरु गरिसकेका छन् ।
सीप सिकेर घरमै बसेर आम्दानी गर्न सकिने वातावरण निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको पौडेलको भनाइ छ । तालिमलाई व्यावसायिक उत्पादन र स्वरोजगारसँग जोड्दै महिलालाई आर्थिक रूपमा सक्षम बनाउने प्रयासमा उनी निरन्तर लागिरहेका छन् । चपल उद्योगकालागि आवश्यक पर्ने कच्चा सामग्री नेपालगञ्ज, बुटवल र काठमाडौँबाट ल्याउने गरेको बताउने पौडेल भन्छन, “यहाँबाट सीप सिकेर जानु भएका पाँचजना महिलाले अहिले आफँै ठाउँमा चप्पल बनाउँदै बिक्रीकालागि पसल सञ्चालन गरिसक्नु भएको छ ।”
तुलसीपुर बसपार्कमा दुईजना, पश्चिम दाङको बबई गाउँपालिकाको हंसपुरमा एक जना, सल्यानमा एक र रोल्पामा एकगरी पाँच ठाउँमा यस्ता पसल सञ्चालन भइसकेको पौडेलले बताए । सुरुमा थोरै लगानीबाट सुरुवात गर्ने सकिने सीप आफुसँगै भएकाले सजिलो हुने उनको अनुभव छ । पौडेलको उद्यमशीलता चप्पल बनाउने तालिममा मात्र सीमित छैन । उनले वि.स. २०७८ सालदेखि नै तुलसीपुर बजारमा सर्फ, साबुन, बाटेको धूप, अगरबत्ती, हार्पिक तथा नुहाउने साबुन बनाउने तालिमसमेत प्रदान गर्दै आएकी छन् ।


