बर्दिया, ६ मंसिर ।
बर्दियाको बबई नदीमा जलचर तथा मत्स्य सम्पदाको संरक्षण गर्ने उद्देश्यले १० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले गुलरिया नगरपालिका–४ स्थित जब्दीघाटमा माछाका भुरा छोडेको हो ।
‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने मूल नाराका साथ बबई नदीमा माछाका भुरा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो । नदी तथा जलाशयमा माछाको प्राकृतिक प्रजनन र वंश संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले भुरा छोडिएको कार्यालयले जनाएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारीले जलवायु परिवर्तनको असर नदी, नाला, सिमसार क्षेत्र तथा जलचर प्राणीमा समेत देखिन थालेकाले त्यसको प्रभाव न्यूनीकरण गर्न माछाका भुरा नदीमा छोडिएको बताए ।
उनका अनुसार अनियमित वर्षा, नदीको बहावमा आउने परिवर्तन, बाढी तथा खडेरीका कारण माछाको प्राकृतिक बासस्थान र प्रजनन प्रक्रियामा प्रतिकूल असर परिरहेको छ । जलवायु परिवर्तनका कारण जलीय पारिस्थितिक प्रणालीमा समेत असन्तुलन देखिन थालेकाले मत्स्य सम्पदाको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँले बताए ।
प्रमुख अधिकारीले माछाको प्राकृतिक अस्तित्व संकटमा पर्नुमा जलवायु परिवर्तनसँगै मानवीय गतिविधि पनि जिम्मेवार रहेको उल्लेख गरे । उनका अनुसार अव्यवस्थित रूपमा माछा मार्ने प्रवृत्ति, विषादी तथा विद्युतीय करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य, नदी तथा जलाशयमा फोहोर र प्रदूषण विसर्जन गर्ने तथा जथाभाबी नदीजन्य पदार्थ उत्खनन गर्ने गतिविधिले माछाको प्राकृतिक बासस्थान विनाश हुँदै गएको छ ।
त्यस्ता गतिविधि नियन्त्रण गर्न नसकिए रैथाने प्रजातिका माछा लोप हुने जोखिम बढ्दै जाने उनको भनाई छ । त्यसैले नदी तथा जलाशयको स्वच्छता कायम राख्दै माछाको प्राकृतिक बासस्थान संरक्षण र अवैध रूपमा माछा मार्ने कार्य नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए ।
जिल्ला मत्स्य व्यवसायी सङ्घका अध्यक्ष गणेश लम्सालले बबई नदीमा पछिल्लो समय अव्यवस्थित रूपमा माछा मार्ने प्रवृत्ति बढ्दै गएको बताए । उनले नदीमा माछाका भुरा छोड्ने कार्यले रैथाने प्रजातिका माछाको संरक्षण र संख्या वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार नदीमा माछाको संख्या घट्दै जानु जलीय जैविक विविधताका लागि मात्र नभई परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका समुदायका लागि समेत चिन्ताको विषय हो । माछाका प्रजाति र तिनको प्राकृतिक बासस्थान जोगाउन स्थानीय समुदाय, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।
बबई नदी बर्दियाको महत्वपूर्ण जलस्रोतका रूपमा रहेको छ । नदीमा पाइने माछा तथा अन्य जलचरको संरक्षणले जलीय जैविक विविधता कायम राख्नुका साथै स्थानीय समुदायको जीविकोपार्जनमा समेत योगदान पुर्याउँछ । माछाका भुरा छोड्ने कार्यलाई निरन्तरता दिनुका साथै नदीमा हुने प्रदूषण, अवैध माछा मार्ने गतिविधि र अनियन्त्रित उत्खनन नियन्त्रण गर्न सके मात्रै मत्स्य सम्पदाको दीर्घकालीन संरक्षण सम्भव हुने देखिन्छ ।


