गढ्यौला मल उत्पादनमा किसानको बढ्दो आकर्षण

बाँके ,२९ चैत ।
बाँकेमा गढ्यौला मल उत्पादन गर्ने कृषि उद्योगप्रति किसानहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । कम लागतमा उत्पादन गर्न सकिने, छोटो समयमै आम्दानी लिन सकिने र बजार व्यवस्थापन पनि सहज हुने भएकाले विशेषगरी युवा तथा महिलाहरू यस व्यवसायतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय अर्गानिक खेतीप्रति बढ्दो रुचिसँगै गढ्यौला मलको माग पनि विस्तार हुँदै गएको देखिन्छ । जिल्लाका विभिन्न स्थानमा किसानहरूले गढ्यौला मल उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्दै लगेका छन् । उत्पादन प्रक्रिया सरल, लागत न्यून र बजार सुनिश्चित भएकाले यो व्यवसाय ग्रामीण क्षेत्रमा आयआर्जनको भरपर्दो माध्यम बन्न थालेको छ । एक वर्षमै चार पटकसम्म उत्पादन लिन सकिने भएकाले कम समयमा राम्रो आम्दानी सम्भव हुने किसानहरू बताउँछन् । हाल बाँकेमा कम्तीमा आठ जना किसानले गढ्यौला मल उत्पादन व्यवसायलाई निरन्तरता दिइरहेका छन्, जसले उनीहरूको घरपरिवार सञ्चालनमा महत्वपूर्ण सहयोग पुर्याएको छ । उत्पादन भएको गढ्यौला मलमध्ये करिब ५० प्रतिशत बाँकेमै खपत हुने गरेको छ भने बाँकी मल दाङ, सुर्खेत, जाजरकोट, जुम्ला र रुकुमलगायतका पहाडी जिल्लाहरूमा पठाइने गरिएको छ ।

अर्गानिक मल भएकाले रासायनिक मलको तुलनामा माटोको उर्वराशक्ति कायम राख्न मद्दत पुग्ने र मानव स्वास्थ्यका दृष्टिले पनि सुरक्षित हुने भएकाले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । करेसाबारी, कौसी खेतीदेखि व्यावसायिक खेतबारीसम्म यसको प्रयोग विस्तार भइरहेको छ । नेपालगन्जका गढ्यौला मल उत्पादक कृषक बिरबहादुर हमालका अनुसार अर्गानिक खेतीप्रति किसानहरूको चेतना बढ्दै जाँदा गढ्यौला मलको माग पनि निरन्तर बढिरहेको छ । उनले भारतको पिलिभिटबाट गढ्यौलाको बीउ ल्याएर व्यवसाय सुरु गरेका थिए। सुरुआती चुनौतीहरू पार गर्दै अहिले उनी बाँकेका अग्रणी गढ्यौला मल उत्पादक कृषकका रूपमा परिचित भएका छन् । हमालका अनुसार यस व्यवसायले आफूलाई आत्मनिर्भर मात्र बनाएको छैन, अन्य किसानलाई पनि प्रेरणा दिएको छ ।

त्यस्तै अर्का कृषक बेन्जु शाक्यले गढ्यौला मल उत्पादनले आम्दानीसँगै रोजगारी सिर्जना गरेको बताउछिन् । उनका अनुसार सानो लगानीबाट सुरु गर्न सकिने भएकाले ग्रामीण क्षेत्रमा बेरोजगार युवाहरूका लागि यो व्यवसाय उपयुक्त विकल्प बन्न सक्छ । ‘स्थानीय स्तरमै उत्पादन गरेर बजारमा बिक्री गर्न पाइने भएकाले यसले गाउँमै बसेर आयआर्जन गर्ने अवसर दिएको छ,’ उनले भनिन् । नेपालमा प्रत्येक वर्ष रासायनिक मलको अभाव हुने समस्या देखिँदै आएको छ । यस्तो अवस्थामा स्वदेशमै उत्पादन हुने अर्गानिक मलको प्रयोगलाई प्रोत्साहन गर्न सके कृषकहरूलाई धेरै सहज हुने सरोकारवालाहरूको भनाइ छ । गढ्यौला मलले माटोको गुणस्तर सुधार गर्नुका साथै दीर्घकालीन रूपमा उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने भएकाले यसको प्रयोग विस्तार गर्नु आवश्यक देखिन्छ । सम्बन्धित निकायले आवश्यक तालिम, प्रविधि र सहुलियत उपलब्ध गराउने हो भने गढ्यौला मल उत्पादन व्यवसाय अझै विस्तार हुन सक्ने सम्भावना रहेको छ । यसले कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउनुका साथै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






