कर्णालीमा नेकपाले अझै छान्न सकेन मन्त्री

सुर्खेत, ५ भदौ

कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मन्त्री हुनेको नाम टुङ्गो नलाग्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । १२ साउनमा मुख्यमन्त्री बनेका नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले तीन साता बित्दापनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 

सुरुमा सत्तारुढ दल नेकपा एमालेसँग मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि शाहीले तीन सातासम्म एक्लै सरकार सञ्चालन गरेका थिए । शाहीले बुधबार (३ भदौ) मा प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार भएको थियो । विश्वासको मत लिनुपूर्व एमाले संसदीय दलका नेता यामलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सरकार सञ्चालनका विषयमा छलफल भएको थियो । 

उक्त छलफलबाट मन्त्रालय भागवण्डामा दुई दलबीच कुरा मिलेपछि एमालेले तीन जनालाई मन्त्रिपरिषद्मा पठाएको थियो । दुई दलबीच तीन/तीन मन्त्रालय लिनेगरी भएको सहमति अनुसार एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

त्यस्तै, एमालेका तर्फबाट जितबहादुर मल्ल सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनीहरूलाई बुधबार साँझ प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् । 

एमालेले मन्त्रीको टुंगो लगाए पनि नेकपाले पाएका तीन मन्त्रालयमा भने मन्त्री छनोट गरिसकेको छैन । सुरुमा एमालेका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको दावी गरिरहेको नेकपाले अहिले दलभित्र आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन नसकेको हो । नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय पाएको छ । 

मुख्ममन्त्री शाहीले आफ्‌नो दलबाट मन्त्री छान्न नसकेपछि ओलोचित बन्दै गएका छन् । सत्तारुढ दलसँग मन्त्रालय भागवण्डामा कुरा नमिलेको अवस्थामा आफ्‌नै पार्टीबाट विनाविभागीय भएपनि मन्त्री नियूक्त गरेर सरकार सञ्चालन गर्नुपर्नेमा त्यसो नभएको भन्दै शाही आलोचित बनेका हुन् । 

नेकपा स्रोतका अनुसार मन्त्रीका लागि आकांक्षी धेरै देखिएपछि सहमति जुट्न सकेको छैन । तत्कालिन नेकपा एकिकृत समाजवादीले समेत भाग खोजेपछि मन्त्रीको नाम टुङ्गो नलागेको हो । समाजवादीले पार्टी एकताको सन्देश दिन आफूहरुलाई पनि मन्त्रिपरिषद्मा समेट्नु पर्ने अडान छाडेको छैन । 

नेकपा स्रोतका अनुसार समाजवादीलाई मन्त्री दिने विषयमा नेकपा प्रदेश तहका नेताहरु सकरात्मक  देखिएका छैनन् । उनीहरुले यसअघि मन्त्री भइसकेका, विषयगत समितिको नेतृत्व गरिसकेका र पार्टीको सचेतक भइसकेका व्यक्तिलाई भन्दा नयाँलाई अवसर दिनुपर्ने दावी गरिरहेका छन् । नेकपाले यीनै मापदण्डलाई मन्त्री छान्ने आधार तय गरेको बताइएको छ । 

यसो भएको खण्डमा हुम्लाकी जुम्कित लामा र रुकुम पश्चिमकी मिलन खड्का मन्त्री बन्ने छिन् । त्यस्तै, मन्त्री बन्ने लाइनमा सुर्खेतका विन्दमान विष्टसमेत छन् । सार्वजनिक लेखा समितिको सभापति भएपनि पार्टीबाट कम अवसर लिएकाले विष्टलाई नेकपाले मन्त्री बनाउँन सक्ने चर्चा छ । 

त्यस्तै, पूर्वसमाजवादीले भाग पाए रुकुम पश्चिमकी कल्याणी खड्का मन्त्री बन्नेछिन् । २०७९ को निर्वाचनमा समाजवादीबाट खड्का समानुपातिकतर्फ विजयी हुने एक्ली सांसद हुन् । नेकपा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले अबको एक/दुई दिनमै सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लाग्ने दावी गरे । उनले प्रदेश प्रमुख प्रदेश बाहिर रहेकाले पनि मन्त्री पठाउन ढिला भएको बताए । 

प्रदेश सरकारमा पूर्वसमाजवादीले पनि भाग पाउनुपर्नेमा शाहीले नै लविङ गरिरहेका छन् । शाही पूर्वसमाजवादी भएकाले पनि प्रदेश सरकारमा आफ्‌नो उपस्थिती खोजिरहेको बताइन्छ । शाहीले तत्कालिन नेकपा माओवादी केन्द्र र समाजवादीबीच पार्टी एकता भएको सन्देश दिन आफुहरुलाई पनि मन्त्रालय दिनुपर्ने बताउँछन् । 

‘दुई वाम घटक मिलेको सन्देश दिनपनि दुवै पक्षलाई सरकारमा सहभागि गराउनु पर्छ भन्ने हो,’ शाहीले भने, ‘मन्त्रीको नाम टुङ्ग्‌्याउने विषमा विवाद भएको होइन । प्रदेश प्रमुख बाहिर भएकाले मन्त्रीपरिषद् विस्तारमा ढिला भएको अवस्था हो ।’

कर्णालीमा नेकपाले अझै छान्न सकेन मन्त्री

सिञ्जा उपत्यकामा नेपाल टेलिकमको फोर–जी सेवा

कर्णालीमा नेकपाले अझै छान्न सकेन मन्त्री

जडीबुटीको प्रमुख ट्रान्जिट बन्दै नेपालगञ्ज  वार्षिक ८४

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!