जडीबुटीको प्रमुख ट्रान्जिट बन्दै नेपालगञ्ज वार्षिक ८४ करोडभन्दा बढीको निर्यात

बाँके, ५ भदौ ।
बहुमूल्य जडीबुटीको सङ्कलन, भण्डारण, प्रशोधन तथा निर्यातका लागि नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाबाट सङ्कलन हुने बहुमूल्य जडीबुटी नेपालगञ्ज हुँदै भारतलगायतका बजारमा निर्यात हुने गरेको छ ।
यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदमचाललगायतका जडीबुटी डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका जिल्लाबाट सङ्कलन गरी सडक तथा हवाई मार्ग हुँदै नेपालगञ्ज ल्याउने गरिएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाबाट सङ्कलन हुने जडीबुटीको भण्डारण र निर्यातका लागि नेपालगञ्ज मुख्य केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए ।
“पहाडी जिल्लाबाट सङ्कलन हुने जडीबुटी नेपालगञ्ज ल्याएर भण्डारण तथा निर्यात गर्ने गरिएको छ,” उनले भने, “पछिल्लो समय नेपालगञ्ज जडीबुटीको प्रमुख ट्रान्जिटका रूपमा विकास भएको छ ।” उनका अनुसार नेपालगञ्ज र आसपासका क्षेत्रमा जडीबुटी भण्डारणका लागि गोदाम तथा प्रशोधन केन्द्रसमेत सञ्चालनमा छन् । हिमाली तथा पहाडी जिल्लाबाट सङ्कलन गरिएका जडीबुटी नेपालगञ्ज ल्याएर वर्गीकरण, भण्डारण तथा आवश्यक प्रक्रियापछि भारततर्फ निर्यात गर्ने गरिएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालगञ्ज नाकाबाट रु. ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । सो अवधिमा विभिन्न प्रकारका ३७ लाख ३ हजार ८ सय ६१ किलो जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा नेपालगञ्ज नाकाबाट रु. ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष २०८०/८१ मा रु. ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो । तथ्याङ्कले पछिल्ला वर्षमा नेपालगञ्ज नाकाबाट हुने जडीबुटीको कारोबार निरन्तर बढ्दै गएको देखाउँछ । तर, जडीबुटीको निर्यात बढ्दै गए पनि यस क्षेत्रले अपेक्षित लाभ लिन नसकेको व्यवसायीहरूको गुनासो छ । अधिकांश जडीबुटी कच्चा पदार्थकै रूपमा निर्यात हुने भएकाले स्थानीयस्तरमा मूल्य अभिवृद्धि हुन नसकेको उनीहरूको भनाई छ ।
अध्यक्ष शर्माका अनुसार जडीबुटी निर्यातका क्रममा कानुनी प्रक्रिया तथा प्रमाणीकरणमा हुने ढिलाइ, आधुनिक प्रशोधन प्रविधि तथा परीक्षण प्रयोगशालाको अभाव र कच्चा पदार्थकै रूपमा निर्यात गर्नुपर्ने बाध्यता प्रमुख समस्या हुन् ।
“भारत निर्यात गर्दा क्वारेन्टाइन तथा गैरभन्सार अवरोधसमेत बेलाबेलामा आउने गरेका छन्,” उनले भने, “यी समस्या समाधान गरी स्थानीयस्तरमै प्रशोधन र मूल्य अभिवृद्धि गर्न सके जडीबुटीको निर्यात अझै बढाउन सकिन्छ ।”
जडीबुटीको कारोबार बढ्दै गएपछि पश्चिम नेपालका किसान, सङ्कलक तथा व्यवसायी उत्साहित भएका छन् । स्थानीयस्तरमै प्रशोधन उद्योग स्थापना गर्न सके जडीबुटीबाट रोजगारी सिर्जना हुनुका साथै किसान तथा सङ्कलकले समेत उत्पादनको उचित मूल्य पाउने व्यवसायीको अपेक्षा छ ।
नेपालमा प्रशस्त सम्भावना रहेको जडीबुटी क्षेत्रलाई व्यवस्थित गर्न सङ्कलनदेखि प्रशोधन र निर्यातसम्मको स्पष्ट नीति, आधुनिक प्रविधि, परीक्षण प्रयोगशाला तथा सहज निर्यात प्रणाली आवश्यक रहेको व्यवसायीहरूले बताएका छन् । नेपालगञ्जलाई जडीबुटीको सङ्कलन र निर्यातको ट्रान्जिट मात्र नभई प्रशोधन तथा मूल्य अभिवृद्धिको केन्द्रका रूपमा विकास गर्न सके यस क्षेत्रबाट मुलुकले थप आर्थिक लाभ लिन सक्ने देखिन्छ ।






