वीरेन्द्रनगरको योजना निर्माणमा सहयोग पु¥याउन ‘केयर प्रोफाइल’ तयार गरिँदै

वीरेन्द्रनगर ,५ भदौ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको योजना निर्माणमा सहयोग पु¥याउनका लागि ‘केयर प्रोफाइल’ तयार थालिएको छ। शुक्रबार नगरपालिकाको सभाहलमा किर्डाक नेपालको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको समन्वयनमा ‘संशक्त महिला समृद्ध नेपाल’ नारा सहित केयर प्रोफाइल निर्माण सम्बन्धी परामर्श बैठक गरिएको छ।
नगरपालिकाभित्र सामाजिक, आर्थिक तथा बालअधिकारसँग सम्बन्धित अवस्थाको विस्तृत अध्ययन गरी तथ्यमा आधारित योजना तथा कार्यक्रम निर्माणमा सहयोग पु¥याउने उद्देश्यले ‘केयर प्रोफाइल’ तयार गरिने भएको छ।
केयर प्रोफाइलमार्फत स्थानीय तहको जनसांख्यिक अवस्था, सामाजिक तथा आर्थिक अवस्था, बालअधिकार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, स्वास्थ्य तथा पोषण, शिक्षा, जीविकोपार्जन, जलवायु परिवर्तन तथा विपद् जोखिम, उपलब्ध स्रोत तथा सेवासहितका विषयमा अध्ययन गरिने किर्डाक नेपालका प्रदेश अधिकृत बिन्दुलाल रेग्मीले जानकारी दिए।
‘अध्ययनको मुख्य उद्देश्य स्थानीय तहको वास्तविक अवस्था पहिचान गर्नु, जोखिम तथा पछाडि परेका समुदायको पहिचान गर्नु, विकासका प्राथमिकता निर्धारण गर्नु र तथ्यमा आधारित योजना निर्माणमा सहयोग पु¥याउनु रहेको छ’, अधिकृत रेग्मीले भने, ‘यसबाट बालमैत्री तथा समावेशी विकास कार्यक्रम सञ्चालन गर्नसमेत आधार तयार हुने अपेक्षा गरिएको छ।’
उनकाअनुसार केयर प्रोफाइलका लागि जनसांख्यिक विवरण, शिक्षा, स्वास्थ्य तथा पोषण, बाल संरक्षण, जीविकोपार्जन तथा रोजगारी, बसाइँसराइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण, सुशासन र खानेपानी, सरसफाइ तथा स्वच्छतालाई प्रमुख अध्ययन क्षेत्रका रूपमा समेटिएको छ।
यस्तै, ‘केयर प्रोफाइल’ का लागि गरिने अध्ययनका क्रममा राष्ट्रिय जनगणना, स्थानीय तहको प्रोफाइल, आवधिक योजना, शिक्षा व्यवस्थापन सूचना प्रणाली, स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, वडा प्रोफाइल तथा विभिन्न सरकारी प्रतिवेदनबाट द्वितीयक तथ्यांक संकलन गरिनेछ। त्यस्तै, प्रमुख व्यक्तिसँग अन्तर्वार्ता, समूहगत छलफल, समुदायस्तरीय परामर्श र प्रत्यक्ष अवलोकनमार्फत प्राथमिक तथ्यांक संकलन गरिनेछ।
यस्तै, केयर प्रोफाइल निर्माणका लागि आवश्यकता पहिचानदेखि दस्तावेज अध्ययन, तथ्यांक संकलन, विश्लेषण, प्रारम्भिक प्रतिवेदन तयारी, प्रमाणीकरण कार्यशाला र अन्तिम प्रतिवेदन तयार गरिने किर्डाक नेपालले जनाएको छ।
विशेषगरी बाल संरक्षण, बालविवाह, बालश्रम, विद्यालय छाड्ने दर, बाल पोषण, अपाङ्गता समावेशीकरण र लैङ्गिक समानतालाई अध्ययनका प्रमुख विषय बनाइएको छ। तथ्यांकको गुणस्तर सुनिश्चित गर्न विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको तुलना, सरोकारवालासँग परामर्श तथा प्रमाणीकरण कार्यशाला सञ्चालन गरिनेछ।
केयर प्रोफाइललाई स्थानीय तहको योजना निर्माण र स्रोत परिचालनमा उपयोग गर्नुका साथै बालबालिका, महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि तथ्यमा आधारित योजना निर्माणको आधार बनाउने लक्ष्य राखिएको अधिकृत रेग्मीले बताए।
यस्तै, शुक्रबार भएको परार्मश बैठकमा प्रोफाइल निर्माण गर्दा सम्बन्धित निकायबाट तथ्याहरु लिएर उनिहरुको उमेर समूह, कामको प्रकृति, शारीरिक अवस्था लगायतका विषयमा ध्यान सरोकारवालाहरुले सुझाव दिएका छन्।
बैठकमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरका १६ वटै वडा स्थानीय नागरिकहरुको तथ्यांक संकलन गरेर प्रोफाइललाई बलियो बनाउनुपर्ने बताइन्।
ढकालले स्थानीय तहको वास्तविक अवस्था पहिचान गरी आवश्यकता र प्राथमिकताका आधारमा योजना निर्माण गर्न ‘केयर प्रोफाइल’ महत्वपूर्ण आधार बन्ने बताइन्। नगरपालिकाभित्र रहेका बालबालिका, महिला, सीमान्तकृत तथा जोखिममा रहेका समुदायको अवस्था पहिचान गरी उनीहरूको आवश्यकता सम्बोधन हुने गरी योजना तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।
थानीय तहमा उपलब्ध तथ्यांकलाई व्यवस्थित गर्दै सामाजिक तथा आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य तथा पोषण, बाल संरक्षण, जीविकोपार्जन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, बसाइँसराइ तथा विपद् जोखिमलगायतका विषयलाई प्राथमिकतामा राखेर अध्ययन गर्नुपर्ने उनको सुझाव छ।






