विपद्ले घेरिएको जाजरकोट भूकम्पले घर चर्कायो पहिरोले बासै खोस्यो

ओम शाही
सुर्खेत, ६ भदौ ।
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङकी सपना वलीको परिवार अहिले त्रिपालमुनि रात कटाइरहेको छ । १० जनाको परिवार बस्दै आएको घर र जग्गा साउन ३० गतेको अविरल वर्षापछि आएको पहिरोले बगाएपछि उनीहरूको ओत लाग्ने ठाउँसमेत खोसिएको छ ।
दुई वर्षअघि गएको भूकम्पले घर चर्किएपछि वली परिवार अस्थायी बसोबासमा थियो । भूकम्पले पुरानो घर जोखिममा पारेको पीडा भुल्न नपाउँदै पहिरोले बसिरहेको घर र जग्गासमेत बगाइदियो । अहिले परिवारका सदस्यहरू राज्य र दातृ निकायले उपलब्ध गराएको त्रिपालको भरमा दिन काटिरहेका छन् ।
सपनाको परिवारको अवस्था रिसाङका अन्य भूकम्पपीडित परिवारको जस्तै छ । भूकम्पपछि स्थायी घर निर्माण हुन नसक्दै आएको पहिरोले उनीहरूको बाँकी सहारा पनि खोसेको छ । रिसाङकी वृद्ध कली कामीको अस्थायी टहरा पनि पहिरोले बगायो । उनले एक नातिनी र एक नातीसहित ज्यान जोगाइन् । घरमा रहेका गाई, कुखुरा, बाख्रा र अन्य सम्पत्ति भने पहिरोमै पुरिए ।
‘दुई वर्षअघिको चिसोमा भुइँचालोले दुःख दियो, अहिलेको बर्खामा पहिरोले घरबारविहीन बनायो,’ कलीले भनिन्, ‘मेरो जस्तो पीडा कसैले भोग्न नपरोस् । भुइँचालोले भत्किएको घर बनाउन सकिएको थिएन, त्यहीमाथि पहिरोले साँघुरो टहरा पनि बगाइदियो ।’ रिसाङकै कुमारी विकको परिवारमा चार छोराछोरी छन् ।

भूकम्पले चर्किएको घर यस वर्षको पहिरोले बगाएपछि उनीहरू तत्कालीन सेल्टरमा बसिरहेका छन् । ‘घरमा भएको केही पनि बाँकी रहेन, भाग्यले परिवारको ज्यान बच्यो,’ कुमारीले भनिन्, ‘अहिले लुगा पनि अरूले दिएको लगाउनुपरेको छ । के गर्ने र कसो गर्ने भन्ने उपाय नै छैन ।’ सोही गाउँका लालबहादुर थापाको घरमा प्रत्यक्ष क्षति नपुगे पनि परिवार जोखिमकै बीचमा छ । घरवरपर र माथिल्लो भाग चिराचिरा परेको छ । जमिन कतिबेला फेरि बगेर घर पुर्छ भन्ने त्रासमा उनी सेल्टरमा बसेका छन् । ‘अहिलेसम्म यसरी कहिल्यै जमिन भासिएको थिएन,’ उनले भने, ‘मेरो मात्र होइन, वरिपरिका सबै घर जोखिममा छन् । सुरक्षित ठाउँमा स्थायी रूपमा व्यवस्थापन गरिदिनुपर्छ ।’
भूकम्पपीडितमाथी फेरि विपद्
२०८० कात्तिकमा गएको भूकम्पले निम्त्याएको समस्या समाधान नहुँदै जाजरकोटका भूकम्पपीडितमाथि अर्को विपद् थपिएको छ । भूकम्पले चर्किएका घर र निर्माण गरिएका अस्थायी टहरासमेत पहिरोको जोखिममा परेका छन् ।
३० साउनको अविरल वर्षापछि आएको पहिरोले भेरी नगरपालिका–२ का रिसाङ र स्याला गाउँका अधिकांश बासिन्दा प्रभावित भएका छन् । रिसाङमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
घरबारविहीन र जोखिममा रहेका परिवारलाई विद्यालय तथा अन्य अस्थायी संरचनामा राखिएको छ । स्यालास्थित विजया प्राथमिक विद्यालय र रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयमा विस्थापित परिवारलाई राखिएको छ । एउटै ठाउँमा ठूलो संख्यामा मानिस बस्दा बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी महिलामा थप जोखिम देखिएको छ ।
भेरी नगरपालिकाका अनुसार दुई वटा पहिरोबाट एक सय ६८ घरधुरीका आठ सय ९३ जना प्रभावित भएका छन् । उनीहरूका लागि विभिन्न स्थानमा चार वटा अस्थायी शिविर सञ्चालन गरिएको छ । शिविरमा एक सय आठ बालबालिका, ६ सुत्केरी र पाँच गर्भवती छन् ।
भेरी नगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख यज्ञप्रसाद गौतमका अनुसार पीडित परिवारलाई खाना, लत्ताकपडा, स्वास्थ्य किटलगायत राहत सामग्री वितरण भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ । पहिरोले भूकम्पपछि निर्माण गरिएका १३ वटा अस्थायी टहरामा क्षति पुर्याएको छ । त्यसमध्ये १२ वटामा आंशिक क्षति पुगेको छ । ३१ वटा गोठमा क्षति पुगेको र ३१ पशुचौपाया मरेका छन् ।
देखिन थाल्यो स्वास्थ्य समस्या
पहिरोपछि विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेकामा स्वास्थ्य समस्या देखिन थालेको छ । दुषित खानेपानी र एउटै स्थानमा धेरै मानिस बस्नुपर्दा रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार विस्थापित नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर परीक्षण तथा उपचार सुरु गरिएको छ ।
भेरी नगरपालिका, कर्णाली प्रदेश अस्पताल र विकास साझेदार संस्थाबाट स्वास्थ्यकर्मी परिचालन गरिएको छ । तर, ५० शय्याको जाजरकोट अस्पतालमा पर्याप्त चिकित्सक छैनन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनका अनुसार बिरामीको चाप बढे पनि जनशक्ति अभावमा नियमित सेवा सञ्चालनमै कठिनाइ भइरहेको छ ।
‘पहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढेको छ,’ उनले भने, ‘सीमित जनशक्तिका कारण प्रभावकारी उपचार सेवा दिन कठिन भइरहेको छ ।’
भूगर्भविद्सहितको टोली प्रभावित क्षेत्रमा
पहिरो प्रभावित क्षेत्रको अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली रिसाङ पुगेको छ । प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढासहित प्राधिकरणका उपसचिव सुरेश सुनार, भूगर्भविद् डा. प्रकाश पोखरेल, इन्जिनियर जगदिश विष्ट, मेटेरियोलोजिस्ट राजन लामिछानेसहित आठ सदस्यीय टोलीले स्थलगत अध्ययन गरिरहेको छ ।

टोलीले भेरी नगरपालिका–१, २, ३ र ४ का पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्नेछ । प्रारम्भिक अध्ययनपछि दुई दिनभित्र प्रतिवेदन तयार गर्ने तयारी छ । प्रतिनिधिसभा सदस्य बुढाले प्रभावित नागरिकको तत्कालीन सुरक्षा र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनका अनुसार भूगर्भविद्को अध्ययनपछि मात्रै जोखिमयुक्त बस्ती स्थानान्तरण वा पुनःस्थापनाबारे निर्णय गर्नुपर्छ । सपना वलीजस्ता परिवारका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न सुरक्षित छानोको हो । भूकम्पपछि पुनर्निर्माणको प्रतीक्षामा रहेका उनीहरूलाई पहिरोले फेरि शून्यमा पुर्याएको छ । विपद्को दोहोरो मारमा परेका यी परिवारलाई राहत मात्र होइन, सुरक्षित बस्ती र स्थायी पुनःस्थापनाको सुनिश्चितता आवश्यक देखिएको छ ।






