खजुरामा पहिलोपटक ‘खजुरा गोल्डकप’ : भव्य तयारी पूरा, सोमबारदेखि प्रतिस्पर्धा सुरु

बाँके ,२९ चैत ।

बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँमा सोमबारदेखि सञ्चालन हुने ‘एन्टि एरिना प्रथम खजुरा गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सञ्चालनका लागि सबै तयारी सम्पन्न भइसकेको जानकारी दिएको हो।
क्लबका अध्यक्ष बालाराम खत्रीका अनुसार सोमबार दिउँसो स्थानीय मिनी रंगशालामा उद्घाटन खेल आयोजना गरिनेछ। “पहिलो पटक गोल्डकप आयोजना गर्दैछौँ। सबै पक्षबाट साथ र सहयोग प्राप्त भएको छ,” अध्यक्ष खत्रीले भन्नुभयो, “यसपटक दर्शकका लागि टिकटको व्यवस्था पनि गरिएको छ।” आयोजकका अनुसार प्रतियोगिताभर करिब ५० हजार दर्शकले खेल अवलोकन गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन खेलमा बुटवलको गोर्खा ब्वाइज स्पोर्ट्स क्लब र काठमाडौँको सङ्कटा स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित भारतको जेविएम फुटबल एकेडेमी लखनउ, सुर्खेतको काक्रेविहार क्लब, नवलपरासीको फोर ब्रदर्श एफसी, काठमाडौँको एपीएफ क्लब र नाइजेरियन जोन क्लब (नाइजेरिया) लगायत गरी कुल ८ टोलीको सहभागिता रहनेछ।
प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले चार लाख रुपैयाँ हात पार्नेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख ६ गते आयोजना गरिने तय गरिएको छ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले प्रतियोगितालाई आगामी वर्षदेखि गाउँपालिकाको बजेटमै समावेश गरी निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतियोगिता सञ्चालनका लागि करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र प्रतिभा पहिचानमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस गोल्डकपले खजुरा क्षेत्रलाई खेलकुदको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

खजुरामा पहिलोपटक ‘खजुरा गोल्डकप’ : भव्य तयारी पूरा, सोमबारदेखि प्रतिस्पर्धा सुरु

गढ्यौला मल उत्पादनमा किसानको बढ्दो आकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *