विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्दै युवा नरैनापुरमा फुल्यो सयपत्री फूलखेती
बाँके, १४ कार्तिक
तिहार नजिकिँदै गर्दा बजारमा सयपत्री फूलको माग बढ्न थालेको छ । घर, आँगन र पसल सजाउनदेखि दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला बनाउनसम्म प्रयोग हुने सयपत्री फूलको मागलाई लक्षित गर्दै बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा युवाहरूले व्यावसायिक फूलखेती सुरु गरेका छन् ।
कुनै समय रोजगारी र अवसरको खोजीमा गाउँ छाड्नुपर्ने बाध्यता रहेको नरैनापुरमा अहिले युवाहरू आफ्नै गाउँको माटोमा सम्भावना खोज्दै फूलखेतीमा जुटेका छन् । स्थानीय तीन युवा सुवाष जंग शाह, कृतिराज दीक्षित र सुशीलकुमार मौर्याले करिब १० लाख रुपैयाँ लगानीमा दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका छन् । उनीहरूले करिब १२ हजार बिरुवा रोपेर यस वर्ष १० हजार किलोग्राम फूल उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ। अहिले खेतमा सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहारको बजारलाई लक्षित गरी फूल बिक्री गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ ।
नरैनापुरमा तीन युवाले व्यावसायिक फूलखेती सुरु गरिरहँदा बाँकेकै कोहलपुर नगरपालिका–१२ का कर्णबहादुर थापा र विष्णु चौधरी पनि लामो समयदेखि फूलखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका छन् । परम्परागत रूपमा गरिँदै आएको खेतीभन्दा फरक सोचका साथ उनीहरूले फूलखेतीलाई आम्दानीको स्रोत बनाउने प्रयास गरेका हुन ।
विशेषगरी कर्णबहादुर थापाको फूलखेतीप्रतिको यात्रा संघर्ष र सिकाइसँग जोडिएको छ । रोजगारीका लागि लामो समय विदेशमा बिताएका थापाले त्यहाँ रहँदा विभिन्न कठिनाई भोगे । विदेशमा श्रम गरेर प्राप्त गरेको अनुभव र त्यहाँ सिकेको सीपलाई आफ्नै गाउँठाउँमा प्रयोग गर्ने सोच उनमा पलायो । विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै माटोमा उपयोग गर्न सके स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ उनी फूलखेतीतर्फ आकर्षित भए ।
विदेशमा वर्षौंसम्म पसिना बगाउनुभएका थापाले फर्किएपछि गाउँमै फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाए । उनका लागि फूलखेती केवल फूल उत्पादन गर्ने काम मात्र रहेन, विदेशमा सिकेको सीपलाई स्वदेशमै प्रयोग गर्ने र आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने माध्यमसमेत बनेको छ । उनीसँगै विष्णु चौधरीले पनि लामो समयदेखि फूलखेती गर्दै स्थानीय बजारमा फूलको माग पूरा गर्ने प्रयास गरिरहेका छन् ।
युवाहरूले सुरु गरेको फूलखेतीले बाँकेमा फूल उत्पादनको सम्भावना बढाउँदै लगेको छ । विशेषगरी तिहारका बेला नेपालगञ्ज, कोहलपुरलगायतका बजारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । तर स्थानीय उत्पादन पर्याप्त नहुँदा यसअघि भारतीय बजारबाट फूल तथा माला ल्याउनुपर्ने अवस्था थियो । स्थानीय स्तरमै व्यावसायिक फूलखेती विस्तार हुन थालेपछि आयातमा निर्भरता घटाउन सकिने अपेक्षा गरिएको छ ।
नरैनापुरका कृषक कृतिराज दीक्षितका अनुसार अहिले फूल बिक्रीका लागि तयार अवस्थामा रहेको छ । तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले नेपालगञ्ज र कोहलपुरलाई मुख्य बजार बनाएर बिक्री गर्ने तयारी गरिएको छ । फूल खरिद गर्न चाहने ग्राहकलाई घरसम्मै पुर्याउने व्यवस्था मिलाउनुका साथै नेपालगञ्जमा बिक्री केन्द्र (स्टल) राखेर पनि फूल बिक्री गरिने उहाँले जानकारी दिए ।
स्थानीय उत्पादनलाई बजारमा पुर्याउने र भारतीय फूलको आयातमा निर्भरता घटाउने उद्देश्यले खेती सुरु गरिएको दीक्षितको भनाई छ । उनका अनुसार स्थानीय स्तरमै उत्पादन बढाउन सके किसानको आम्दानी वृद्धि हुनुका साथै उपभोक्ताले पनि ताजा फूल सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
नरैनापुर गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा गरिएको फूलखेतीको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले फूलखेतीको अवस्था राम्रो रहेको उल्लेख गर्दै यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणमा सहयोग आवश्यक रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत वलीले व्यावसायिक फूलखेती गर्ने कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष योजना ल्याउने तयारी गरेको जानकारी दिए । तिहारका बेला फूल खरिद गर्न भारतीय बजार जानुपर्ने स्थानीयवासीको बाध्यता अन्त्य गर्न स्थानीय उत्पादनले सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे ।
वास्तवमा फूलखेती केवल तिहारमा फूल र माला बिक्री गर्ने व्यवसाय मात्र होइन। थोरै जग्गामा पनि उपयुक्त योजना, मेहनत र बजारको मागअनुसार खेती गर्न सके राम्रो आम्दानी लिन सकिने कृषि व्यवसायका रूपमा यसको सम्भावना देखिएको छ । तर खेती सुरु गरेर मात्र किसानको समस्या समाधान हुँदैन । बिरुवाको गुणस्तर, सिँचाइ, रोग तथा कीराको नियन्त्रण, उत्पादनको उचित मूल्य र बजारसम्मको पहुँच पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
विदेशमा वर्षौंसम्म श्रम गरेर फर्किएका कर्णबहादुर थापाजस्ता युवाले विदेशमा सिकेको सीप गाउँमै प्रयोग गर्नु र नरैनापुरका युवाले सामूहिक लगानीमा फूलखेती सुरु गर्नुले स्थानीय स्तरमै रोजगारी र उद्यमशीलताको सम्भावना देखाएको छ । रोजगारीका लागि विदेश जानैपर्छ भन्ने सोचलाई बदल्दै आफ्नै गाउँमा पनि नयाँ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश उनीहरूको प्रयासले दिएको छ ।
स्थानीय सरकारले यस्ता उद्यमशील युवालाई आवश्यक प्राविधिक सहयोग, अनुदान, सिँचाइ सुविधा र बजार व्यवस्थापनमा साथ दिन सके फूलखेती थप विस्तार हुन सक्छ । तिहारमा केही दिनका लागि मात्र देखिने फूलको व्यापारलाई वर्षभरी नै सञ्चालन हुने व्यवसायका रूपमा विकास गर्न सके किसानको आम्दानीको दिगो आधार बन्न सक्छ ।
नरैनापुरका खेतमा फुलेका सयपत्री फूलले अहिले तिहारको रौनक मात्र थपेका छैनन्, गाउँमै केही गर्न सकिन्छ भन्ने आशा पनि जगाएका छन् । विदेशमा सिकेको सीपलाई आफ्नै माटोमा प्रयोग गर्ने युवा र स्थानीय सम्भावनालाई व्यवसायमा बदल्न खोज्ने कृषकहरूको मेहनतले बाँकेमा फूलखेतीको नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ । अब यो सम्भावनालाई दिगो व्यवसायमा रूपान्तरण गर्न स्थानीय सरकार, कृषक र बजारबीच प्रभावकारी सहकार्य आवश्यक देखिएको छ ।





