बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान
बाँके ,१४ कार्तिक।
बाँकेमा गाईवस्तुमा लम्पी स्किन रोगको सङ्क्रमण थप फैलिन नदिन चार स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ । गत साउनमा जिल्लाका विभिन्न स्थानमा रोगको सङ्क्रमण देखिएपछि पशुमा हुने क्षति न्यूनीकरण तथा रोग नियन्त्रण गर्ने उद्देश्यले किसानका गोठमै पुगेर खोप लगाउन थालिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अभियान अघि बढाइएको केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलका अनुसार पशु स्वास्थ्य प्राविधिक परिचालन गरी किसानका घर तथा गोठमै पुगेर गाईवस्तुलाई खोप लगाउने काम भइरहेको छ । किसानलाई सहज रूपमा सेवा उपलब्ध गराउनुका साथै रोगको सङ्क्रमण थप फैलिन नदिन घरदैलोमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
तर, जिल्लाका सबै स्थानीय तहमा भने खोप अभियान सञ्चालन हुन सकेको छैन । खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले हालसम्म लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न चासो नदेखाएको सूचना अधिकारी रावलले जानकारी दिनुभयो ।
लम्पी स्किन गाईभैंसीमा लाग्ने भाइरल सङ्क्रामक रोग हो । पक्सभाइरिडी परिवारअन्तर्गतको क्याप्रिपक्स भाइरसबाट लाग्ने यो रोग विशेषगरी लामखुट्टे, झिँगा, किर्ना तथा अन्य कीराको टोकाइ र सङ्क्रमित पशुको सम्पर्कबाट फैलिन सक्छ । रोग लागेपछि पशुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा गिर्खा देखिने, घाउ हुने, खान मन नगर्ने तथा दूध उत्पादन घट्नेजस्ता समस्या देखिन्छन् ।
पशुमा सङ्क्रमण बढ्दै जाँदा दूध उत्पादनमा कमी आउनुका साथै उपचारमा खर्च बढ्ने र कतिपय अवस्थामा पशुको मृत्युसमेत हुन सक्ने भएकाले किसान आर्थिक मारमा पर्ने गरेका छन् । यस्तो जोखिम न्यूनीकरणका लागि समयमै खोप लगाउनु प्रभावकारी रोकथामको उपाय मानिन्छ ।
पशु स्वास्थ्य विज्ञहरूका अनुसार लम्पी स्किन रोग नियन्त्रणका लागि खोपसँगै गोठको सरसफाइ, कीरा नियन्त्रण र सङ्क्रमित पशुलाई स्वस्थ पशुबाट अलग राख्न आवश्यक छ । रोगको लक्षण देखिएका पशुलाई तत्काल पशु स्वास्थ्यकर्मीको सम्पर्कमा पुर्याउन पनि उनीहरूले सुझाव दिएका छन् ।
जिल्लाका आठवटै स्थानीय तहमा गाईवस्तुको सङ्ख्या र रोगको जोखिमलाई ध्यानमा राखेर खोप अभियान विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । चार स्थानीय तहमा मात्रै अभियान सञ्चालन हुँदा अन्य क्षेत्रमा सङ्क्रमण फैलिने जोखिम रहन सक्ने भएकाले बाँकी स्थानीय तहले पनि समयमै चासो र सक्रियता देखाउनुपर्ने देखिन्छ । पशुमा लाग्ने रोग नियन्त्रणका लागि समयमै अपनाइने सावधानीले किसानको लगानी, आम्दानी र पशुधनको सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।




