जहाँ गुराँस हुन्थ्यो…!

गाेल्डेन बुढा

जुम्ला,२८ चैत ।

केही वर्ष अघिसम्म जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित बागदुली वन चैत अन्तिम लाग्दै जाँदा राताम्य हुन्थ्यो । लालीगुराँसका फूलले ढाकिएको जंगल टाढैबाट चम्किन्थ्यो । जुम्लाको सदरमुकाम खलंगादेखि राराताल जाने बाटोमा पर्ने यो वन यात्रुका लागि विश्राम मात्र होइन, आँखाको उत्सव पनि थियो । फागुन लागेपछि सुरु हुने गुराँसको रङ्गले बैशाखसम्म वनलाई जीवित चित्रजस्तै बनाइराख्थ्यो ।तर अहिले त्यही वन उराठलाग्दो हुँदै गएको छ । जहाँ कहिल्यै खाली नदेखिने हाँगाहरू थिए, त्यहाँ अहिले भाँचिएका टहिँगा र चुडिएका फूलका दाग मात्रै बाँकी छन् । लालीगुराँस छ, तर फुल्न नपाउँदै हराइरहेको छ । राष्ट्रिय फूलको रूपमा परिचित यो प्रजाति आफ्नै थलोमा संरक्षणविहीन बनेको छ ।‘पहिला त गुराँस हेर्न टाढा जानै पर्दैनथ्यो, घरकै आँगनबाट वन राताम्य देखिन्थ्यो,’जुम्लाको गुुठिचाैर गाउँपालिका–४ का जयकृष्ण जैशी भन्छन्, ‘अहिले त फूल भेट्न भीरपाखा चढ्नुपर्छ, सहज ठाउँका बिरुवा सबै भाँचिएका छन् ।’ उनका अनुसार गुराँसको नजिक पुग्ने बाटोभन्दा पहिले मानिसको हात पुग्न थालेको छ ।वनको यो रूपान्तरण आकस्मिक होइन, बिस्तारै गहिरिँदै गएको मानवीय हस्तक्षेपको परिणाम हो । गुराँस हेर्न आउनेहरू प्रकृतिको सौन्दर्यमा रमाउन मात्र सीमित छैनन् । हाँगासहित फूल चुँडेर लैजाने, फोटोका लागि बिरुवा नै क्षति पुर्‍याउने प्रवृत्ति बढ्दो छ । सामाजिक सञ्जालका लागि खिचिएका दृश्यहरूले वनलाई बिस्तारै निर्जीव बनाउँदै लगेका छन् ।दैनिक दर्जनौँको संख्यामा पुग्ने युवायुवतीमध्ये धेरैको हात फर्किँदा खाली हुँदैन । गुराँस अब स्मृति होइन, वस्तु बनेको छ । यही प्रवृत्तिले वनको स्वाभाविक पुनर्जन्म चक्र नै अवरुद्ध गरिरहेको छ ।समस्या यत्तिमै सीमित छैन । दाउराका लागि गुराँसका रुख काटिने क्रम अझै रोकिएको छैन । यसको पर्यावरणीय र सांस्कृतिक महत्त्वबारे पर्याप्त जानकारी नहुँदा स्थानीयस्तरमै संरक्षण कमजोर देखिन्छ । चन्दननाथ–३ का भैर बुढ्थापा भन्छन्, ‘भेट्दा सम्झाउँछु, तर सबैलाई रोक्न सकिँदैन । आँखैअगाडि रुख ठुटो बनाइएका देख्दा मन दुख्छ ।’अर्कोतर्फ, गुराँसको जंगल मासेर खोरिया बनाउने प्रवृत्तिले यसको अस्तित्वमाथि थप दबाब सिर्जना गरेको छ । एक समय व्यापक फैलिएको गुराँस अहिले सिमित भूभागमा खुम्चिँदै गएको छ, बुढ्थापाका अनुसार पहिले घर नजिकै पाइने गुराँस हेर्न अहिले निकै टाढा पुग्नुपर्छ ।जुम्लाका आठ स्थानीय तहका ६० वडाका उच्च पहाडी क्षेत्रमा गुराँस पाइन्छ । तर ‘जहाँ सहज पहुँच, त्यहीँ क्षति’ भन्ने अवस्था देखिन्छ । पछिल्लो समय पाहुनालाई गुराँसको माला लगाएर स्वागत गर्ने चलनले पनि यसको दोहन बढाएको छ ।फागुनपछि सुरु हुने गुराँसको सिजन अहिले पनि आकर्षणको केन्द्र बनेको छ । नयाँ वर्ष आसपास वन क्षेत्रमा भीड लाग्छ । जुम्लाको पातारासी–६ की सरिता बुढा भन्छिन्, ‘गुराँस फुलेपछि सबैलाई त्यहीँ जान मन लाग्छ ।’ तर यही आकर्षण संरक्षणमा रूपान्तरण हुन सकेको छैन ।विज्ञहरूका अनुसार गुराँस केवल सौन्दर्यको प्रतीक मात्र होइन, औषधीय रूपमा पनि महत्त्वपूर्ण वनस्पति हो । रातो गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । गाउँघरमा घाँटी दुख्दा वा अन्य समस्यामा यसको प्रयोग गर्ने परम्परा अझै जीवित छ । तर उपयोग र संरक्षणबीच सन्तुलन कायम हुन सकेको छैन,चेरे, कर्णाली प्राविधिक शिक्षालयको जंगल, रडिखल्ला, धिमी, डाँफे लेक, खाली, पटमारा र छकलेपानी क्षेत्र गुराँसका प्रमुख थलो मानिन्छन्। यी क्षेत्रहरू अहिले पनि आकर्षक छन्, तर जोखिमबाट मुक्त छैनन् ।लालीगुराँस नेपालको राष्ट्रिय फूल हो,तर यसको इतिहास अब गौरवभन्दा चिन्तातर्फ मोडिएको छ । संरक्षणका नाममा नीति छन्, तर कार्यान्वयन कमजोर छ । स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच समन्वय अभाव देखिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *