कोहलपुरमा तीव्र कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न

२८, चैत २०८२
बाँके ।बाँकेको कोहलपुरमा तीव्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न भएको छ। बाँके युनेस्को क्लबको आयोजनामा हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरिएको पोषण परियोजना अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
तालिममा कोहलपुर नगरपालिका–१ देखि १५ वडासम्मका २४ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको क्षमता अभिवृद्धि गरी समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
तालिमका क्रममा कुपोषणको पहिचान, उपचार, प्रतिवेदन प्रणाली तथा सहजीकरण सीपमा विशेष जोड दिइएको थियो। अद्यावधिक निर्देशिका अनुसार सञ्चालन गरिएको तालिममा प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागितामूलक विधिहरू प्रयोग गरिएको थियो, जसले सहभागीहरूको प्राविधिक ज्ञान र दक्षता अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको भनाइ छ।
कार्यक्रमको उद्घाटन सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत प्रेम प्रसाद पाण्डेले गर्नुभएको थियो। संयोजक विश्वकर्माले यस तालिमले पहिलेदेखि रहेको दक्षतालाई थप अद्यावधिक गर्दै सेवा प्रवाहमा आत्मविश्वास वृद्धि गरेको उल्लेख गर्नुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा, आमा समूह तथा युवा क्लबको सक्रिय सहभागिताले कार्यक्रमको प्रभाव दीर्घकालीन हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेलको विशेष उपस्थिति रहेको थियो। प्रमुख अतिथि पौडेलले समुदायको पोषण अवस्थालाई सुधार गर्न प्रभावकारी कार्यक्रम सञ्चालन, सूक्ष्म योजना निर्माण तथा समयमै गुणस्तरीय उपचार सेवा आवश्यक रहेको बताउनुभयो।
तालिमको सहजीकरण स्वास्थ्य कार्यालय बाँकेकी पोषण फोकल पर्सन बसन्त मल्ल, जनस्वास्थ्य अधिकृत अनिल कुमार सेन तथा जनस्वास्थ्य प्रशिक्षक अमृत राणाले गर्नुभएको थियो। कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल कुमार सेनले सहभागीहरूलाई अद्यावधिक प्रोटोकल अनुसार काम गर्न आग्रह गर्दै महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गर्ने, पालिकासँग सहकार्य गर्दै पाँच वर्षमुनिका बालबालिका तथा गर्भवती महिलाको स्क्रिनिङलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको समापनसँगै आयोजकले यस्ता तालिमहरूले सरोकारवालाबीच समन्वय र सहकार्य सुदृढ बनाउँदै समुदायस्तरमै पोषण सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

कोहलपुरमा तीव्र कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न

जहाँ गुराँस हुन्थ्यो…!

कोहलपुरमा तीव्र कुपोषण व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षक तालिम सम्पन्न

कर्णाली उत्सव सुरु : विकास, अवसर र

Leave a comment

Your email address will not be published. Required fields are marked *