जुम्लाका धिर र कल्पनालाई साताैँ जुम्ला–रारा अल्ट्रा म्याराथनकाे उपाधि

गोल्डेन बुढा

जुम्ला ,२७ बैशाख ।

हिमाली चिसो हावा, उकालोले भरिएको जोखिमपूर्ण पदमार्ग र अक्सिजनको कमीबीच शनिबार सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनमा धीर बुढा र कल्पना बुढाले इतिहास रचेका छन्। जुम्लाको चन्दननाथ–भैरवनाथ मन्दिरबाट सुरु भएको ५४ किलोमिटरको कठिन दौड पार गर्दै उनीहरूले क्रमशः पुरुष र महिलातर्फ उपाधि हात पारेका हुन्।जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का ३५ वर्षका धीर बुढाले ६ घण्टा ९ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै पुरुषतर्फ स्वर्ण पदक जिते। धिर हाल डिभिजन बन कार्यालयमा कार्यरत छन्।महिलातर्फ पातारासी गाउँपालिका–२ की १८ वर्षीया कल्पना बुढाले ७ घण्टा ७ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै उपाधि चुमिन्। कल्पना कर्णाली स्पोर्ट्स क्लबका खेलाडी हुन्।दुबै खेलाडीको जितले कर्णालीको दुर्गम भूगोलभित्र लुकेको खेल क्षमता फेरि एकपटक राष्ट्रिय स्तरमा उजागर गरेको छ।समुद्री सतहदेखि उच्च उचाइमा आयोजना हुने यो प्रतियोगिता नेपालकै कठिन अल्ट्रा म्याराथनमध्ये एक मानिन्छ। चन्दननाथ मन्दिरबाट सुरु हुने दौड डाँफेलेक, काभ्रागुफा, भुलभुले हुँदै चुचेमाराको लेक पार गरेर राराताल पुगेर टुंगिन्छ। साँघुरा गोरेटो, उकालो ओरालो, हावाहुरी र लेकाली चिसोबीच धावकहरूले आफ्नो सहनशीलता, साहस र मानसिक दृढताको परीक्षा दिएका थिए।कर्णाली स्पोर्ट्स क्लब जुम्लाका सचिव मधुराज न्यौपानेका अनुसार स्वास्थ्य परीक्षण गराएका ६० जनामध्ये ४९ जना मात्रै दौडमा सहभागी भएका थिए। तीमध्ये ४५ जना मात्रै रारातालसम्म पुग्न सफल भए। “यो दौड होइन, धैर्यता र संघर्षको परीक्षा हो,” न्यौपानेले भने।पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रामेछाप गाेकुलगंगा गाउँपालिका -४ का ४४ वर्षीय होमलाल श्रेष्ठले ६ घण्टा ११ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे। यस्तै त्रिभुवन आर्मी क्लबका रामेछापकै गाेकुलगंगा गाउँपालिका -५ का ३० वर्षीय गोपाल तामाङ ६ घण्टा १३ मिनेट ३४ सेकेन्डसहित तेस्रो भए। जुम्लाको कनकासुन्दरी–२ का चन्द्र रावत सान्त्वना स्थान भए, भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ लुचाम गाउँका २२ वर्षीय मिलन राई पाँचौँ भए।महिलातर्फ त्रिभुवन आर्मी क्लबकी डाेल्पा ठुलीभेरी नगरपालिका -५ कि २३ वर्षीया सुनसरी रोकायाले ७ घण्टा १८ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरिन्। जुम्लाको पातारासी-२ कि कर्णाली स्पाेट्स क्लबका १८ वर्षीया सन्देवा बुढाले ७ घण्टा ३८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरी तेस्रो स्थान सुरक्षित गरिन्।जुम्लाकै गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावल चाैथाे र पुष्पा सेर्माले पाँचौँ स्थान प्राप्त गरे।

प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई जनही एक लाख रुपैयाँ नगद, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिएको छ। दोस्रो हुनेलाई ७५ हजार रुपैयाँसहित रजत पदक तथा तेस्रोलाई ५० हजार रुपैयाँसहित कास्य पदक प्रदान गरिएको आयोजकले जनाएको छ। चौथो र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ, फिनिसर मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।यस संस्करणदेखि जुम्लाकी स्वर्गीय अमृता कठायतको सम्झनामा महिला विजेता खेलाडीलाई थप पुरस्कारको व्यवस्था गरिएको छ। महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई जनही २५ हजार रुपैयाँ अतिरिक्त प्रदान गरिने आयोजकले जनाएको छ।

शनिबार बिहान ठीक ६ बजे पञ्चेबाजाको धुनसँगै सुरु भएको प्रतियोगितामा भारत र फ्रान्सका धावकसमेत सहभागी थिए। खेलाडीलाई स्थानीयले बाटोभरि उत्साह र सम्मानका साथ स्वागत गरेका थिए।म्याराथनमा भारत र फ्रान्सका एक/एक जना धावक सहभागी थिए । प्रतियोगितामा सहभागी धावक तथा व्यवस्थापनमा खटिनेहरूको पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको थियो।क्लबका अध्यक्ष सरोज शाहीका अनुसार जुम्लादेखि रारासम्म पुग्ने खेलाडीहरूको सम्झनामा वृक्षारोपण गरिनेछ। “दौडले खेल मात्रै होइन, प्रकृति संरक्षणको सन्देश पनि दिनुपर्छ,” उनले भने।म्याराथनसँगै १० किलोमिटर र पाँच किलोमिटर दौडसमेत आयोजना गरिएको थियो। १० किलोमिटर पुरुषतर्फ बसन्त बुढा प्रथम, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो भए। महिलातर्फ सपना बुढा प्रथम, सुस्मिता भण्डारी दोस्रो तथा गौकली रावत तेस्रो भइन्।विजेता खेलाडीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।पाँच किलोमिटर दौडतर्फ नोर्भु राना प्रथम, नरेश रावत दोस्रो र नवराज महतारा तेस्रो भए।

बालिकातर्फ कृतिका सुनार प्रथम, एमुना बुढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो भइन्।क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।विजेता खेलाडीलाई शनिबार बिहान पूर्व वनमन्त्री माधवप्रसाद चौलगाईले पुरस्कार वितरण गरेका थिए।कर्णालीको दुर्गम भूगोललाई विश्वसामु चिनाउने माध्यम बन्दै गएको जुम्ला–रारा अल्ट्रा म्याराथनले खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ। हिमाल, लेक र राराको सुन्दरताबीच दौडिने यो प्रतियोगिता  खेलकुद कार्यक्रम मात्रै नभई कर्णालीको पहिचान र गौरवको प्रतीक बन्दै गएको छ।अघिल्ला वर्षहरुमा ५१ किलोमिटर दाैड प्रतियोगितामा भएको थियोे।

जुम्लाका धिर र कल्पनालाई साताैँ जुम्ला–रारा अल्ट्रा म्याराथनकाे उपाधि

जुम्लाका धिर र कल्पनालाई साताैँ जुम्ला–रारा अल्ट्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *