आधुनिक सहरतर्फ उन्मुख औलोले  गुल्जार वीरेन्द्रनगरको यात्रा ५० वर्षमा

ओम शाही

सुर्खेत, २५ बैशाख । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्‌नो स्थापनाको ५०औं वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको छ । २०३३ सालमा स्थापना भएको नगरपालिकाले शुक्रबार आफ्‌नो वार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको अवसरमा नगरपालिकाले २०७९ मा निर्वाचित जनप्रतिनिधिका चार वर्षे कार्यप्रगतिसमेत सार्वजनिक गरेको छ । 

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख मोहनमाया ढकालले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर—स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’ भन्ने दीर्घकालिन सोचका वीरेन्द्रनगरलाई आधुनिक सहर बनाउने यात्रा जारी राखेको बताइन । ‘कर्णाली प्रदेशको राजधानीका रूपमा मात्र नभई पश्चिम नेपालको उदाउँदो सहरका रूपमा वीरेन्द्रनगरले आफ्‌नो पहिचान स्थापित गर्दै गएको छ, जुन हामी सबैका लागि गर्वको विषय हो । 

हामीले आर्थिक, भौतिक, सामाजिक, वातावरणीय तथा व्यवस्थापकीय आयाममा सन्तुलित र समावेशी विकासलाई केन्द्रमा राखी कार्य सम्पादन गरिरहेका छौँ,’ ढकालले भनिन् । नगरलाई आर्थिक रूपमा सम्पन्न, भौतिक रूपमा योजनाबद्ध, सामाजिक रूपमा समावेशी, वातावरणीय रूपमा स्वच्छ र व्यवस्थापकीय रूपमा सुव्यवस्थित शहरका रूपमा विकास गर्दै कर्णाली प्रदेशको व्यवस्थित राजधानी बनाउने लक्ष्यका साथ अघि बढेको उनले बताइन । 

२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात यताका चार वर्षको अवधिमा आन्तरिक राजस्व वृद्धि, स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच विस्तार, छाडा पशु चौपायाको व्यवस्थापन, मुख्य बजार क्षेत्रमा फुटपाथ व्यवस्थापन, शहरी पूर्वाधार विकास, उज्यालो सहर, कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउन सफल भएको नगर प्रमुख ढकालको दावी छ । 

भूमिहीन तथा सुकुम्बासी समस्याको समाधानमा पहल, सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, युवा सशक्तीकरण तथा महिला उद्यमशीलताको प्रवद्र्धन जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको उनको भनाई छ । 

चार वर्षको अवधिमा नगरका ठूला पूर्वाधार आयोजनाहरू पनि उल्लेखनीय रूपमा अगाडि बढेको नगर प्रमुख ढकालको दावी छ । संघीय र प्रदेश सरकारसँगको समन्वय र स्थानीय विकासका भेरी लिफ्‌ट खानेपानी जस्तो गौरवपूर्ण आयोजनाहरू कार्यान्वयनमा रहेको उनको भनाई छ । 

यसले सन् २०५० सम्म बृद्धि हुनसक्ने वीरेन्द्रनगरको जनसंख्यालाई दीर्घकालिन खानेपानीको पहुँच विस्तार गर्ने उनको भनाई । अहिले यो आयोजनाले तीव्रता पाइरहेको छ । आधुनिक बसपार्क, कर्णाली बसपार्कका साथै मंगलगढीमा आकाशे पुलको योजनासमेत कार्यान्वयनमा रहेको उनको भनाई छ । विशेषगरी सडक सञ्जालको विस्तार, चक्रपथ निर्माण र पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनका लागि संघ र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढेको उनको भनाई छ । 

‘सहरको सुरक्षाका लागि सिसिटिभी जडान, उज्यालो नगर अभियान अन्तर्गत सडक बत्तीको व्यवस्था र ट्राफिक व्यवस्थापन मुख्य उपलब्धि हुन् । यद्यपि, तीव्र शहरीकरण, बढ्दो जनसंख्या, सीमित स्रोत–साधन र बढ्दो सेवा मागजस्ता चुनौतीहरू अझै पनि विद्यमान छन्,’ नगर प्रमुख ढकालले भननिन् । गत भदौ २३ र २४ को आन्दोलनमा वीरेन्द्रनगर नगरपालिकाले व्यापक क्षति व्यहोरेको उनको भनाई छ । 

उनका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८२/०८३ अर्थात चार वर्षको अवधिमा नगर क्षेत्रमा २४.४३ किलोमिटर सडक आरसिसिसहित कालोपत्रे गरेको छ । यस्तै, ६१.५३ किलोमिटर सडकमा ग्राभेल तथा स्तरोन्तीको कार्य सम्पन्न भएको छ भने, ६०.९७ किलोमिटर पक्की नाला निर्माण गरिएको छ । भवन पूर्वाधारतर्फ एक सय २४ कोठा विद्यालयका भवन निर्माण भएका छन् । 

त्यस्तै, १० स्वास्थ्य चौकीतर्फका भवन निर्माण सम्पन्न हुँदा नगरपालिकाले आफ्‌नै नगर अस्पताल बनाएको छ । यस्तै, ११ पार्क तथा उद्यान, २७ सामुदायिक भवन निर्माण तथा मर्मत गरिएको नगरपालिकाले जनाएको छ । वार्षिकोत्सव समारोहमा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जनताको नजिकमा रहेर काम गर्ने स्थानीय सरकारले आमनागरिकले महशुस हुनेगरी सेवा प्रवाहसँगै विकास निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगरको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको समेत उनले बताए । प्रदेशको सुगम पालिकाका रुपमा रहेको वीरेन्द्रनगरले अपनाएको विकास मोडेल कर्णालीका सबै पालिकामा पुर्‍याउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारी, वीरेन्द्रनगरलाई कर्मथलो बनाएर पत्रकारिता गर्ने सात पत्रकारलाई सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृतसमेत गरिएको थियो । यस्तै, वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजेता कर्मचारी तथा जनप्रतिनिधि, एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई समेत नगरपालिकाले पुरस्कृत गरेको थियो ।  

औलौको गुल्जारबाट उठेको सहर 

साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम हो, प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका । कुनै समय वीरेन्द्रनगर उपत्यकामा फाटफुट राजी र थारू जातिको बसोबास थियो । २०२२ सालअघि वीरेन्द्रनगरको पहिचान औलोको गुल्जारसँग जोडिएको थियो । 

उतिबेला पहाडमा बसोबास गर्ने मानिसहरू उपत्यकामा औलोबाट मरिने डरले झर्दैन थिए । झरेका पनि रातमा बास बस्दैन थिए । खेतीपाती गर्न झर्नेहरू साँझमा बास बस्न उत्तरतर्फको गोठिकाँडा क्षेत्रमा उक्लन्थे । खेतीपातीका रूपमा प्रयोग हुने वीरेन्द्रनगर क्षेत्रमा बस्ती विकास नहुञ्जेल पञ्चायतकालीन प्रशासनिक केन्द्र तत्कालीन गढी गाविस हालको वीरेन्द्रनगर–१४ बाट सञ्चालित हुन्थे । 

वीरेन्द्रनगर उपत्यकामा २०२२ सालमा जब औलो उन्मूलनको घोषणा भयो, त्यसपछि खेती लगाउन मात्र उपत्यका झर्ने मानिसहरू स्थायी रूपमा बस्न आउन थालेका थिए । वीरेन्द्रनगर नगरपालिकमा बसोबासको प्रारम्भ २०२३ सालबाट भएको इतिहास छ । २०२४ सालमा चौहानचौरमा सदरमुकाम सारेपछि यो नगर मात्रै नभएर सिङ्गो सुर्खेतकै विकासको गति तीव्र भयो । 

२०२९ सालमा चौहानचौर नाम फेरिएर वीरेन्द्रनगर बनेको इतिहासका जानकार बताउँछन्‌ । अध्येता गोविन्द कोइरालाका अनुसार १६ माघ २०२९ मा भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले जारी गरेको ‘नगर योजना कार्यान्वयन ऐन’ मा वीरेन्द्रनगर भन्ने नाम उल्लेख गरिएको छ । औलो उन्मूलन भएपछि उपत्यकामा बसोबास गर्न थालियो र २०२८ सालमा सबै सरकारी कार्यालयहरू गोठीकाँडाबाट वीरेन्द्रनगरमा स्थानान्तरण गरी सदरमुकाम तोकिएको थियो । 

औलोको गुल्जारबाट उठेको तत्कालीन चौहानचौरहुँदै प्रदेशको मुकाममा बदलिएको वीरेन्द्रनगरको पहिचान यतिमा मात्रै सीमित छैन । कुनै बेला औलोको उच्च जोखिम रहेको वीरेन्द्रनगर पञ्चायतकालीन क्षेत्रीय सदरमुकामहुँदै देशमा गणतन्त्रपश्चात् कर्णाली प्रदेशको मुकाम पालिका बनेको छ । २०७२ सालमा जारी संविधानले राज्यको विद्यमान भौगोलिक, राजनीतिक एवं प्रशासनिक संरचनाहरू संघीयताको मोडेलमा पुनर्संरचना गर्‍यो । संविधानले परिकल्पना गरेको संघीयताअनुसार मुलुकभित्रको भौगोलिक सीमांकन हेरफेर गरी राजनीतिक तथा प्रशासनिक संरचनाहरू पुनर्गठन भए । 

यससँगै ती निकायको अधिकार, स्रोतसाधन, जिम्मेवारी र जवाफदेहिताको विद्यमान अवस्थामा व्यापक हेरफेर गरियो । सोहीबमोजिम नेपाल तीन तहका सरकारको अभ्यासमा प्रवेश गरेसँगै वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेको थियो । 

व्यवस्थित शहरी योजना बनाई बस्ती बस्न सुरु भएको वीरेन्द्रनगर झण्डै ५२ वर्षपछि नगरपालिकाबाट उपमहानगर पालिका बन्ने चरणमा प्रवेश गरेको छ । २०३३ सालमा उपत्यका क्षेत्रभित्र पर्ने कटकुवा, गोठीकाँडा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर बनेको वीरेन्द्रनगरले ५० वर्षको अवधिपछि उपमहानगरपालिकाका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा गर्न सक्षम बनेको छ ।

नगरपालिकाको आन्तरिक स्रोत, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली, सञ्चारलगायतका महत्वपूर्ण पूर्वाधारको विस्तार भएसँगै वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउन आवश्यक प्रक्रियासमेत अघि बढिसकेको छ । वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणाका लागि आर्थिक वर्ष २०७८/०७९ बाटै प्रक्रिया थालिएको थियो । नवौँ नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका घोषणाका लागि नीति तथा कार्यक्रम र बजेटमै समावेश गरेको थियो । तर, राजस्वको दायरा पूरा नभएपछि यो प्रक्रिया केही लम्बिएको हो । 

झण्डै तीन वर्षपछि नगरपालिकाको हिउँदे नगरसभाको १६औँ बैठकले उपमहानगरपालिका बनाउन मापदण्ड पूरा गरेको भन्दै प्रक्रिया अघि बढाउन सार्वजनिक महत्ववको प्रस्ताव पारित गरिसकेको छ । नगरसभाले उपमहानगरपालिका घोषणाका लागि कर्णाली प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई अनुरोध गर्न सार्वजनिक महत्त्वको प्रस्ताव पारित गरेको नगर प्रमुख मोहनमाया ढकाल बताउँछिन् । 

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी मात्र नभई पश्चिम नेपालकै उदाउँदो शहरका रूपमा विकसित भइरहेको छ । सडक सञ्जालको विस्तारले यसलाई लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशसँग प्रत्यक्ष रूपमा जोडेको छ । पछिल्लो तथ्यांक अनुसार वीरेन्द्रनगरमा ३१ हजार आठ सय ४७ घरधुरी तथा एक लाख ५४ हजार आठ सय ८६ जनसंख्या छ ।

सात पत्रकार पुरस्कृत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ५० ओैं स्थापना दिवसका अवसरमा सात जना पत्रकारलाई पुरस्कृत भएका छन् । वीरेन्द्रनगरलाई कर्मथलो बनाएर पत्रकारिताका माध्यमबाट सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई पुरस्कृत गरिएको हो । 

उनीहरुलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले नगद रकम र कदरपत्रले सम्मान गरेका छन् । पुरस्कृत हुने पत्रकारहरुमा शिलापत्र डटकममा कार्यरत ओम शाही, राजधानी दैनिकका प्रकाश अधिकारी, गोरखापत्र दैनिकका रजनी योगी, बाह्रखरी डटकमका विवसकुमार सेजुवाल, रेडियो भेरीका मधुवन विसी,  हिमाल प्रेसका रमा केसी र अनलाइन खबरका यज्ञ खत्री छन् । 

२०३३ सालमा स्थापना भएको वीरेन्द्रनगरले शुक्रबार आफ्नो ५० ओैं वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको छ । कर्णाली प्रदेशको ठुलो र राजधानीको मुकाम पालिका रहेको वीरेन्द्रनगर पश्चिम नेपालमा उदाउँदो सहरका रुपमा विकास भइरहेको छ ।

आधुनिक सहरतर्फ उन्मुख औलोले   गुल्जार वीरेन्द्रनगरको यात्रा ५० वर्षमा

रेडक्रस दिवसकाे अवसरमा सुत्केरी लाई हर्लिस वितरण 

आधुनिक सहरतर्फ उन्मुख औलोले   गुल्जार वीरेन्द्रनगरको यात्रा ५० वर्षमा

घुयँत्राे:“१० दिनमा सुकुम्बासी समाधान : फाइल हेर्नु

Leave a comment

Your email address will not be published. Required fields are marked *