सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, १९ जेठ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आठौँ अधिवेशनको चौथो बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले पूर्वाधकार विकास, पर्यटन प्रवद्र्धन, स्वास्थ्य र गरिबी नियन्त्रणलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनाको निर्माण आगामी वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ । ‘प्रदेश गौरवका आयोजनाको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट विनियोजन गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै, सुदूरपश्चिममा सडक सञ्जालसँग नजोडिएका तीन पालिकामा प्रदेश सरकारले आगमी वर्षभित्र सडक पुर्याउने लक्ष्य लिएको छ । साइपाल गाउँपालिका बझाङ, अपिहिमाल गाउँपालिका दार्चुला र स्वामीकार्तिक गाउँपालिका बाजुरालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोडिने बताइएको हो । सडक यातायात गुरुयोजनाअन्तर्गत प्रदेश लोकमार्ग र सहायक मार्गको स्तरोन्नति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, प्रदेशमा गरिबी दर बढी भएका पालिकामा प्रदेश सरकारले न्यूनीकरण कार्यक्रम चलाउने भएको छ । अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याउन सघन रूपमा कार्यक्रम सञ्चालन गरिने भएको हो । शिक्षा, स्वास्थ्य र पोषणसँग जोडेर ती पालिकामा गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
मुख्यमन्त्री लघुउद्यम कार्यक्रममार्फत रोजगारी सिर्जना गर्दै युवा जनशक्ति पलायन रोक्ने, प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने, एक स्थानीय तह एक लघु औद्योगिक ग्राम कार्यक्रमलाई विस्तार गर्ने र प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने विषय पनि नीति तथा कार्यक्रममा अटाएको छ । प्रदेश सरकारले विद्युत् प्राधिकरणसँग समन्वय गर्दै आगामी वर्षमै खप्तड र बडीमालिकामा विद्युत सेवा पुर्याउने नीति पनि ल्याएको छ । यस्तै, अपि, सुर्मा, साइपाल, बडीमालिका, रामारोशन र रानीसैनमा पदमार्ग निर्माण गरिने बताइएको छ । स्वास्थ्यतर्फ प्रदेश सरकार मातहतका अस्पताललाई स्तरोन्नति गरिने भएको छ । सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको हो । यस्तै, छ पहाडी जिल्लामा रहेका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नौ जिल्लामा रहेका १६ वटा प्रदेश निर्वाचन क्षेत्रमा एक–एक वटा नमुना विद्यालय सञ्चालन गरिने र मुख्यमन्त्री शैक्षिक प्रोत्साहन छात्रवृत्तिलाई निरन्तरता दिने बताइएको छ । खेलकुदतर्फ धनगढी रंगशालाको स्तरोन्नति, पदक विजेता खेलाडीलाई सम्मान तथा फाप्ला मैदान आवश्यक समन्वय र सहकार्य गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको हो ।






