सुरुङ उद्धारमा सरकारको चरम उपेक्षा आठ सय ९४ जनाको अवस्था अझै अज्ञात

सुर्खेत ,१६ भदौ ।
रसुवास्थित भोटेकोसी नदीमा १० भदौमा अएको विनासकारी भिषण बाढीपछि जलविद्युत आयोजनामा फसेका व्यक्तिहरुको उद्धार कार्य जारी राखिएको छ । तर, बाढी आएको एक सातासम्म पनि हाइड्रोपावरका सुरुङमा फसेकाहरुको उद्धारमा प्रगति हुन सकेको छैन । ढिलो गरी सुरु भएको उद्धार कार्यमा नेपाली सेनासँगै भारतीय र चिनियाँ सुरुङ उद्धारकर्मी संलग्न छन् । छिमेकी देशका अनुभवी सुरुङ विज्ञहरुले बन्द भएका सुरुङका मुख खोल्ने प्रयास जारी राखेका छन् । तर, समय घर्कदै जादा सुरुङमार्गमा थुनिएकाहरु जिवित फर्कने सम्भावना टर्दै गएको छ । उद्धारले गती लिएको खण्डमा परिवारका सदस्यहरुले आफ्ना मान्छे जिवित फर्कन सक्ने झिनो आशा पालेर बसेका छन् । निर्माणधिन त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका–१० बस्दै आएका हेमन्तराज जोशीकी श्रीमती हृदयश्वरी जोशीले ६ दिनयता श्रीमान् जिवितै फर्कने आशा मारेकी छैनन् । उनका श्रीमान् हेमन्तराज जोशी निर्माणाधीन त्रिशूली– ३ बी जलविद्युत् आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए । उनले सरकारसँग सुरुङमा फसेका श्रीमानको चाँडो उद्धार गरिदिन हारगुहार गरिरहेकी छन् । ‘म मात्रै होइन, मजस्ता पीडामा परेका अरु परिवार पनि छन् । सबैका आफन्त छन्, सबैका घरमा मानिसहरू पर्खिरहेका छन् । उनीहरूलाई राज्यले तत्काल सुरुङबाट निकालोस्,’ उनले भनिन् ।
भोटेकोसीको बाढीले सञ्चालनमा रहेका आठ र निर्माणाधिन चार गरी १२ जलविद्युत आयोजना रहेकोमा ११ वटामा ठुलो क्षति पुर्याएको छ । जसमा दुई सय ८१ मेगावाटका आयोजना सञ्चालनमा थिए, भने तीन सय ८८ मेगावाटका आयोजाहरु निर्माणाधिन अवस्थमा थिए । रसुवा र नुवाकोट जिल्लामा रहेका आयोजनाबाट उत्पादन हुने ६ सय ६९ मेगावाट विजुली बाढीबाट प्रभावित भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालले उपलब्ध गराएको तथ्यांक अनुसार क्षतिग्रस्त ११ वटा सञ्चालित र निर्माणाधीन जलविद्युत् गृहका टनेलमा सयौँ कामदार, प्राविधिकहरू फसेका छन् । जलविद्युत् परियोजनामा फसेकामध्ये हालसम्म तीन सय ६१ जनाको उद्धार गरिएको छ भने आठ सय ९४ जना अझै हराइरहेका छन् । रसुवामा निर्माधिन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा पाँच सय ७६, एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा ९३, एक सय २० मेगावाटको रसुवा–भोटेकोसीमा कार्यरत चार जना सम्पर्कविहीन छन् । यस्तै, परीक्षणको चरणमा रहेको २० मेगावाटको लाङटाङ खोलामा ४१, २२ मेगावाटको चिलिमेमा आठ, पाँच मेगावाटको मैलुङ खोलामा सात जना सम्पर्कविहिन रहेको इप्पानले जनाएको छ । नुवाकोटमा सञ्चालनमा रहेका र निर्मार्णाधिन गरी ६ आयोजनामा एक सय ६८ जना सम्पर्कविहीन छन् । जसमा २४ मेगावाटको त्रिशूली जलविद्युतमा एक, १४.१ मेगावाटको देवीघाटमा एक, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए मा ४२, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी मा एक सय २२, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा जलविद्युत आयोजनाका दुई जना सम्पर्कविहीन छन् ।
‘उद्धारमा राज्यबाट चरम लापरवाही भयो’
भोटेकोसीको विनासकारी बाढीपछि सकारले नदी तटिय क्षेत्रमा उद्धारको कार्यलाई युद्धस्तरमा अघि बढाएपनि हाइड्रोपावर क्षेत्रमा फसेकाको उद्धारमा भने गम्भिरताका साथ चासो लिन सकेन । हाइड्रोपावर प्रवद्र्धक कम्पनीहरुले सुरुङभित्र थुनिएकाको तत्काल उद्धार गरिए जिवित रहने सम्भावना बढी रहेको भन्दै सरकारसँग सुरुदेखि नै अनुरोध गर्दै आएका थिए । तर, सरकारले सुनुवाई नगरेको लाङटाङ खोला जलविद्युत आयोजनाका प्रवन्ध निर्देशक विजय मोहन भट्टराई बताउँछन् । उनले परामर्शदाता कम्पनीको सहयोग लिएर आफै उद्धार गर्छौ भन्दा पनि सरकारले गर्न नदिएको दावी गरे । उनले भने, ‘लाङटाङको सुरुङ अन्यको जस्तो ठूलो छैन । एक दुई सय मिटर लामो टनेलमा अक्सिजन पर्याप्त हुन्छ । यस्ता खालका सुरुङ बाढी वा अन्य कारणले थुनिएको खण्डमा मान्छे धेरै दिनसम्म पनि बाँच्ने चान्स हुन्छ । हामीले उद्धारका लागि अनुरोध गरेको गर्यै गर्यौ, खै किन हो सरकारले गम्भीर रूपमा लिएन । ६ दिनमा आएको रेस्क्यु टिमले पनि केही गर्न सकेन । अब हामी आफ्नै म्यानपावर लगाएर सुरुङमा फसेकाहरुको उद्धार गर्छौ ।’ उद्धारमा भएको ढिलाईका कारण बचाउन सकिनेलाई पनि मर्न बाध्य पारिएको उनले बताए ।
सरकारले सुरुङमा फसेकाहरुको उद्धारमा चरम लापरवाही गरेको परिवारका सदस्यहरुले गुनासो गरिरहेका छन् । त्रिशूली–१ बीको सुरुङमा फसेका बझाङका हेमन्तराज जोशीकी बहिनी सावित्रि जोशीले सरकारले उद्धारमा ढिलाई गर्दा जिवितै बाहिर निकाल्न सकिने मान्छेहरु पनि मर्नुपर्ने अवस्थामा पुगेको बताइन । ‘सरकारले बाढीपछि नदी तटिय क्षेत्रमा जुनरुपमा उद्धारको कार्य अघि बढायो त्यसैगरी थुनिएका सुरुङमा पनि गर्नुपर्ने थियो,’ उनले भनिन्, ‘हाइड्रोपावर कम्पनीले यो ठाउँमा यति मान्छे फसे भनेर एकिन डाटा दिएको अवस्थमा पनि चार दिनपछि उद्धार सुरु हुनु राज्यको चरम लापरवाही हो । हाम्रा मान्छेहरु समयमै उद्धार नपाएर मर्न बाध्य हुँदैछन् ।’ यस्तै, निर्माणधिन त्रिशूली–३ ए जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर रहेका जाजरकोटका महेन्द्र शाहीका बुवा शेरबहादुर शाहीले पनि सुरुङमा फसेकाको उद्धारमा राज्यले चासो नदिएको गुनासो गरे । ‘विपद्को सर्वमान्य सिद्धान्त भनेकै घाइतेहरुको समयमै रेस्क्यू गर्ने हो,’ उनले भने, ‘तर, यहाँ जसलाई उद्धारको आवश्यकता छ, तिनलाई सरकारले गम्भिरतापूर्वक लिएको देखिएन ।’ उनले सुरुङमा फसेकाको १७ दिनपछिसम्म पनि सकुल उद्धार गरिएका उदाहरण भएको बताउँदै तत्काल जनशक्ति थप गरेर थुनिएका सुरुङ खोल्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताए । सरकारले सुरु गरेको सुरुङमा फसेकाको उद्धार निकै ढिला भएको शाहीले गुनासो गरे ।
सुरुङमा फसेकाको उद्धारमा के–के भयो प्रगति ?
नेपाली सेनाको नेतृत्वमा भारतीय र चिनियाँ सुरुङ उद्धारकर्मीहरुद्वारा सोमबार रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत आयोजनमा उद्धार कार्य गरेको छ । तर, मानवीय उद्धार भने सफल हुन सकेन । भारत र चीनका अनुभवी सुरुङ उद्धार विज्ञले त्रिशूली–३ बीको टनेल हेड फेला पारेर कम्प्रेसरबाट हावा दिने कार्य सुभारम्भ भएको नेपाली सेनाले जनाएको छ । उक्त टनेल भित्रको पानी निकाल्ने कार्य भईरहेको जनाइएको छ । यस्तै, त्रिशूली–३ बीमा पनि विज्ञसहितको फौज खटिई खोज तथा उद्धार कार्य गरिएको भएपनि सफलता हात पर्न सकेको छैन । चिनियाँ र भारतीयसहित संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म पुगेर फसेकाहरुको उद्धार गर्ने प्रयास असफल भएको छ । अपर त्रिशूली–१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली मैलुङमा दुई सय मिटर र हाँकूमा तीन सय मिटर सुरुङभित्र पसेर फर्किएको छ । यस्तै, खोज उद्धार कार्यको लागि स्वदेशी तथा विदेशी संयुक्त उद्धार टोली रसुवागढी हाइड्रोको सुरुङको करिब दुई सय ५० मिटरसम्म भित्र पुगेर फर्केको छ भने, लाङटाङ हाइड्रोको सुरुङमा झण्डै ६५ मिटरसम्म भित्र पुगेर एक जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ ।






