नेकपा एमालेको प्रदेश अधिवेशन असोज १० र ११ गते हुँदै

सुर्खेत ।
नेकपा एमालेको प्रदेश अधिवेशन यहीं असोज १० र ११ गते वीरेन्द्रनगरमा हुँदैछ ।
अधिवेशनले निर्वाचनमार्फत प्रदेश नेतृत्व चुन्नेछ । प्रदेश नेतृत्वका लागि पार्टीका पोलिटव्युरो तहका नेताहरुले पनि आकांक्षा देखाएका छन् ।
प्रदेश अध्यक्षलाई पोलिटव्युरो बैठकमा भाग लिने व्यवस्था गरेपछि त्यो तहका नेताहरु प्रदेशको कार्यकारी भूमिकामा आउने चाहना देखाएका हुन् ।
कर्णालीबाट एमालेका गुलाबजंग शाह, लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठ पोलिटव्युरो सदस्य छन् । यी नेताहरुमध्ये शाह र पोखरेललाई प्रदेश नेतृत्वका प्रबल दाबेदार मानिएको नेताहरु बताउँछन् । दाबेदारमध्ये श्रेष्ठ राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुले पनि प्रदेश अध्यक्षमा नेतृत्वसामु आकांक्षा व्यक्त गरेका छन् । स्रोतका अनुसार केन्द्रीय सदस्य मीनबहादुर शाही, विष्णु रिजाल, निरज आचार्य, राजबहादुर बुढा, नगिन्द्र शाही, नवराज रावत र दल रावलले पनि प्रदेश अध्यक्षमा सशक्त दाबी गरिरहेका छन् ।
कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाहीले पनि अध्यक्ष पदमा लड्ने चाहना राखेका छन् ।
हाल प्रदेश अध्यक्ष रहेका विनोदकुमार शाह प्रदेश सांसद भएकाले पार्टी केन्द्रले जारी गरेको अपानिका कारण उनी दोहोरिन पाउने छैनन् ।प्रदेश सचिव रहेका प्रदेश सांसद टेकराज पछाईले पनि कार्यकारी भूमिका पाउने छैनन् । पार्टी केन्द्रले जनप्रतिनिधिलाई कमिटीको मुख्य कार्यकारी भूमिकामा आउन नपाउने निर्णय गरेको छ ।
प्रदेश अधिवेशन नजिकिएसँगै सुर्खेतस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुको चहलपहलसमेत बढेको छ ।






