नेपाली सेनाका गुल्मपति दुई दिनदेखि बेपत्ता

डोल्पा ।
नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार दिउँसो ३ बजे बजार घुमेर आउँछु भनि भदालेस्थित गुल्म निस्केका गुल्मपति पण्डित साँझसम्म पनि नफर्किएपछि खोजी कार्य भएको थियो ।
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि गुल्मपति पण्डित कतै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।
दुई दिनदेखि बेपत्ता पण्डितको मोबाइल नम्बर पनि अफ भएको बताइएको छ ।
बेपत्ता गुल्मपति पण्डितको नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।






