इराकविरुद्ध नेपालको २० वर्षपछिको भेट, अनुभव बटुल्ने अवसर

आज नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकप छनौटको पुर्व तयारी स्वरुप इराकले नेपाललाई मैत्रीपूर्ण खेलको लागि आतिथ्यता प्रदान गरेको हो। खेल नेपाली समयअनुसार १०:१५ बजे बसरा अन्तर्राष्ट्रिय रंगशालमा बन्द ढोकाका बीचमा हुनेछ।
हेड टु हेड नतिजा
नेपालको लागि इराक नौलो प्रतिद्वन्द्वी हैन। पछिल्लो पटक २० वर्षअघि यी दुई टोली आमने-सामने भएका थिए। जापान–दक्षिण कोरिया विश्वकपको लागि सन् २००१ मा भएको छनोटमा अन्तिम पटक यी दुई टोली आमने सामने भएका थिए। पहिलो खेल ९–१ को नतिजामा नेपाल हारेको थियो। इराकको राजधानी बगदादस्थित अल साहब रंगशालामा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले एक मात्र सान्त्वना गोल गरेका थिए।
४–० ले पछि परेको अवस्थामा निराजनले २५ औ मिनेटमा इराकविरुद्ध पहिलो ऐतिहासिक गोल गरेका थिए। तत्कालीन समयमा काठमाण्डौस्थित दशरथ रंगशालामा खेल आयोजनाको योजना भए पनि नेपाल आयोजनाबाट पछि हटेपछि एएफसीले कजाकस्तानको अल्माटीमा खेल आयोजना गर्ने तय गरेको थियो। इराकको विरोधपछि पहिलो खेल बगदादमा खेलाइएको थियो। सोही वर्ष कजाखस्तानमा भएको दोस्रो लेगमा नेपालले ४–२ को साँघुरो हार बेहोरेको थियो।
३–० ले पछि परेको अवस्थामा खेलको ३७ औ मिनेटमा हरि खड्काले इराकविरुद्ध पहिलो गोल गरे। ५ हजार दर्शकमाझ भएको खेलमा ६३ औ मिनेटमा निराजन रायमाझीले दोस्रो गोल गर्दै अग्रता कम बनाएका थिए।
त्यसभन्दा अगाडि नेपालले इराकसँग १९८२ मा एसियन गेममा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा पनि नेपाली टोली ३–० ले पराजित भएको थियो। सो प्रतियोगितामा कुवेतलाई हराउँदै इराकले स्वर्ण पदक नै प्राप्त गरेको थियो। २ दशकपछिको प्रतिस्पर्धामा नेपाली फुटबल टिमलाई प्रमाणित गर्ने अवसर छ।






