होटल व्यवसायी नुर्बु लामा गुठिचौर अध्यक्षको दौडमा
गोल्डेन बुढा
जुम्ला,२ मंसिर ।
जुम्लाका होटल व्यवसायी नुर्बु लामाले आगामी स्थानीय तहको निर्वाचनमा गुठिचौर गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। राजनीतिक दलको आबद्धताभन्दा माथि उठेर गाउँपालिकाको विकास गर्ने प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।लामाले सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै गुठिचौरलाई कृषि र पर्यटनको नमुना गाउँपालिका बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्। चुनावी प्रतिबद्धतामा कुनै लोभलालच नराख्ने र जनतासामु झुटा आश्वासन नबाँड्ने उनको दाबी छ।‘गुठिचौर गाउँपालिकाको अध्यक्षमा उठ्ने चाहना भएकाले आगामी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेछु। कुनै लोभलालच छैन। कृषि र पर्यटनमा नमुना गाउँपालिका बनाउने चाहना छ। झुटको खेती नगर्ने वाचासहित मेरो उम्मेदवारी रहनेछ। यहाँहरूको साथ र सहयोगको अपेक्षा गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।जुम्ला विमानस्थल नजिकै रहेको कान्जिरोवा होटलका सञ्चालकसमेत रहेका लामाले यसपटक कुनै पनि राजनीतिक दलको चुनाव चिह्नबाट नभई स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने टेलिफोनमार्फत जानकारी दिएका छन्। यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए।
व्यवसायबाट राजनीतिमा आउन खोजेका लामाको उम्मेदवारी घोषणासँगै गुठिचौरमा चुनावी सरगर्मी बढ्ने संकेत देखिएको छ। यद्यपि, उनको उम्मेदवारी घोषणासँगै अन्य राजनीतिक दल तथा सम्भावित उम्मेदवारहरूको तयारीबारे पनि चासो बढ्न थालेको छ।स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन। निर्वाचन फागुन, चैत वा वैशाखमा हुन सक्ने अनुमानका बीच समयअगावै निर्वाचन गराउने अवस्था आए फागुनको अन्तिम साता वा चैतमा निर्वाचन हुन सक्ने चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ। निर्वाचनको मिति नजिकिने अनुमानसँगै जुम्लाका स्थानीय तहमा सम्भावित उम्मेदवारहरूले आफ्नो राजनीतिक उपस्थिति देखाउन थालेका छन्।





