काश्मीर मामिलालाई पाकिस्तानले जोडतोडका साथ उठाउनुपर्छ : यूएन सभाध्यक्ष

एजेन्सी । संयुक्त राष्ट्रसंघ (यूएन) का आमसभा अध्यक्ष वोल्कान बोज्किरले पाकिस्तानलाई भारत नियन्त्रित काश्मीर मामिलाबारे जोडतोडले आवाज उठाउन आग्रह गरेका छन्।
गत बिहीबार पाकिस्तान भ्रमणक्रममा वोल्कानले पाकिस्तानलाई यस्तो सुझाएका थिए। भारतले भने यूएन सभाध्यक्षको बयान अनुचित र खेतपूर्ण भएको भन्दै आपत्ति जनाएको छ।
वोल्कानले काश्मीरको मुद्दा थप जोडतोडका साथ उठाउनुपर्ने र सबै पक्षले यस मामिलामा कदम चाल्नुपर्ने बताएका थिए। यसो गरेमात्रै काश्मीरको स्थिति बदलिने उनले तर्क गरेका थिए।
संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्षले नै यस्तो बताएपछि भारत चिढिएको छ। यूएनको जारी ७५ औँ आमसभामा भारतका प्रतिनिधिहरुले वोल्कानको अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन्।
टर्कीका पूर्व कूटनीतिज्ञ वोल्कानले गत वर्षदेखि यूएन महासभाको अध्यक्षता गरिरहेका छन्। टर्कीले पछिल्लो समय मुस्लिम राष्ट्रहरुको पक्षमा आवाज उठाइरहेको छ र त्यसैको प्रभाव वोल्कानमा पनि परेको भारतीयहरुले आरोप लगाएका छन्।






