नेपालगन्जमा हुलाकी सडक विस्तार सुरु, धम्बोझीदेखि नन्दनी मिलसम्म फराकिलो बनाइँदै
बाँके ,४ मंसिर ।
नेपालगन्जको सहरी सौन्दर्य अभिवृद्धि तथा यातायात व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया सडक खण्ड विस्तारको काम सुरु भएको छ । नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको करिब दुई किलोमिटर सडक फराकिलो पार्ने गरी निर्माण कार्य अघि बढाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमबीच सडक निर्माण कार्यको शुभारम्भ गर्नुभयो । जीर्ण अवस्थामा रहेको सडक नयाँ निर्माणसँगै फराकिलो बन्ने भएपछि सहरको सौन्दर्य बढ्नुका साथै आवागमन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सडक निर्माणलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न उपमहानगरपालिकाका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सडक निर्माणका क्रममा कुनै समस्या नआउने गरी आवश्यक समन्वय गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले निर्धारित समयभित्रै निर्माण सम्पन्न गरी सर्वसाधारणलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
निर्माण कम्पनी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि दीपक खड्काले निर्माण कार्यमा कुनै अवरोध नभए निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्माणका क्रममा गुणस्तर र समयलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ छ ।
हुलाकी सडक योजना कार्यालय नेपालगन्जका प्रमुख लीला बहादुर भण्डारीका अनुसार उक्त सडक निर्माणका लागि ३९ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार १२ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक विस्तारका लागि सडकको निर्धारित सीमाभित्र पर्ने संरचना स्थानीयवासीले यसअघि नै हटाइसकेका छन् । संरचना हटाइएपछि निर्माण कार्य अघि बढाउन सहज भएको छ ।
नेपालगन्जको व्यस्त सहरी क्षेत्रअन्तर्गत पर्ने यो सडक विस्तारले लामो समयदेखि जीर्ण सडकका कारण समस्या भोग्दै आएका सर्वसाधारण तथा सवारी चालकलाई राहत पुग्ने अपेक्षा गरिएको छ । सडक निर्माण सम्पन्न भएपछि आवागमन सहज हुनुका साथै सहरी यातायात व्यवस्थापन, व्यापारिक गतिविधि र समग्र सहरी विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।





