सापकोटाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । हत्या आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढाइए पनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइनेमा परेको हो ।

यसअघि पनि यो मुद्दा पटक–पटक सुनुवाइका लागि पेशीमा चढे पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो । संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।
माओवादी सशस्त्र संघर्षका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ सालमा मानअधिकारकर्मी सुशील प्याकुरलेसहित लामाकी पत्नी पूर्णिमाया लामाले २०६८ असार ६ गते सापकोटालाई प्रतिपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।






