पुरानै शैलीमा पुनर्निर्माण हुँदैछन् जाजरकोटका ऐतिहासिक दरबार : दुई वटा दरबार पुनर्निर्माणका लागि २८ करोड बजेट, पहिलो चरणमा १४ करोड कार्यान्वयनमा जाँदै
ओम शाही
सुर्खेत, १ मंसिर ।
जाजरकोटका दुई वटा ऐतिहाँसिक दरबार पुरानै शैलीमा पुनर्निर्माण हुने भएका छन् । २०८० कात्तिक १७ गतेको भूकम्बाट क्षतिग्रस्त भएका सेतो दरबार र रातो दरबार पुरानै शैली र परम्परागत सामग्रीको प्रयोगबाट पुनर्निर्माण गर्ने तयारी भएको छ । दरबार पुनर्निर्माणका लागि सरकारले बजेटको सुनिश्चितता गरिसकेको छ ।
भूकम्पले क्षति पुगेको तीन बर्षपछि सररकारले दुई वटा दरबार पुनर्निर्माण गर्न २८ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको हो । स्वीकृत उक्त रकममध्ये २० करोड रुपैयाँ सबैभन्दा ठूलो सेतो दरबार पुनर्निर्माणमा खर्च हुनेछ । ८ करोड रुपैयाँ त्यसैको छेउको रातो दरबार पुनर्निर्माणका लागि खर्च हुनेछ । उक्त बजेट सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जाजरकोटमार्फत बहुबर्षीय आयोजनाका रुपमा कार्यान्वयन हुनेछ ।
सेतो दरबार पुननिर्माणका लागि स्वीकृत भएको कुल बजेटमध्ये चालु आर्थिक बर्षका लागि ८ करोड कार्यालयलाई प्राप्त भएको छ । रातो दरबारको पुननिर्माणका लागि स्वीकृत कुल ८ करोडमध्ये ६ करोड रुपैयाँ चालु आर्थिक बर्षमा कार्यान्वयन गर्ने गरी सघन सहरी विकास तथा भवन निर्माण कार्यालयलाई प्राप्त भएको छ ।
कार्यालयका नायव सुब्बा खिमबहादुर चन्दका अनुसार यो बर्ष आएको बजेटबाट लागत अनुमान, ठेक्का आह्वान, स्वीकृतिसँगै पुनर्निर्माणको भौतिक कामको सुरुआत् गरिनेछ । तत्काल ठेक्का आह्वान गरी पुनर्निर्माणको पहिलो चरणको काम अघि बढ्ने उनले जानकारी दिए । “अब नयाँ कार्यालय प्रमुख आउनुहुन्छ, उहाँ आएपछि ठेक्का प्रक्रिया अघि बढ्छ ।” उनले भने ।
दरबारहरुको पुननिर्माण गर्दा कुनै पनि स्वरुप परिवर्तन नगर्नेगरि डिजाइन पनि तयार भईसकेको उनले जानकारी दिए । पुरानै इटा, काठ लगायतका सामग्री प्रयोग गर्ने गरी डिजाइन तयार भएको छ । “कंक्रिटको दरबार बन्दैन । जति सक्यो पहिले दरबारमा जे कुरा प्रयोग भएको थियो, त्यसैअनुसार पुनर्निर्माण हुने भनेर डिजाइन भएको छ । चन्दले भने । भूकम्पले आंशिक क्षति पुगेको जाजरकोटको सेतो दरबार त्यसपछिको बर्षात्का कारण खण्डहर बनेको छ ।
सघन सहरी विकास तथा भवन निर्माण कार्यालयमार्फत कार्यान्वयन हुने गरी भूकम्पले क्षति पुर्याएका जाजरकोटका तीन वटा संरचना पुनर्निर्माणका लागि कुल ४८ करोड रुपैयाँ संघ सरकारबाट स्वीकृत भएको हो ।
जसमध्ये २८ करोड ऐतिहासिक दरबार पुनर्निर्माणका लागि हो भने २० करोड रुपैयाँ जिल्ला अदालतको भवन पुनर्निर्माणका लागि हो । जिल्ला अदालतका लागि स्वीकृत कुल २० करोडमध्ये चाल आर्थिक बर्षमा कार्यान्वयन गर्ने गरी १० करोड कार्यालयलाई प्राप्त भएको चन्दले जानकारी दिए ।
भूकम्पका तीन झट्का
१७ कात्तिक २०८० विनाशकारी भूकम्पबाट यो सेतो दरबार भनिने जाजरकोटको मुख्य दरबारले झेलेको यो तेस्रो झट्का हो । यसले यो दरबार भत्किएन, चर्कियो मात्र । त्यस अघिका दुई वटाटा भूकम्पले दरबारलाई धेरै क्षति गरेका थिए । दुवैपटक दरबारको पुनर्निर्माण गरिएको थियो ।
२ माघ १९९० मा नेपाल र भारतको सीमाना केन्द्रविन्दू भएर गएको ८.४ रेक्टरको भूकम्पले जाजरकोट दरबार पूर्ण रुपमा भत्किएको थियो । यो नै जाजरकोट टरबारले झेलेको पहिलो भूकम्पको झट्का थियो । त्यसबेला ऐतिहासिक दरबार भत्किए पनि जाजरकोटमा मात्र कति मानवीय वा अरु क्षति भयो भन्ने रेकर्ड छैन । नेपालमा भने ८ हजार बढीले ज्यान गुमाएको रेकर्ड छ । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार १९९० सालको भूकम्पलाई दरबारमा क्षति पुर्याउने शक्तिशाली विपदका रुपमा जाजरकोटवासीले लिन्छन् ।
त्यतिबेला भूकम्पले क्षति पुर्याएको सेतो दरबार (जाजरकोट दरबार) लाई फेरि पनि जाजरकोटी जनताको श्रमदानमा पुनर्निर्माण गरिएको थियो । उक्त दरबारले दोस्रो पटक भूकम्पीय झट्का झेलेको २०४५ सालमा हो । उदयपुर केन्द्रविन्दू रहेको उक्त बर्षको ६.९ रेक्टरस्केलको भूकम्पले दरबारको पश्चिम भाग (जसलाई पश्चिम नाल भनिन्थ्यो) मा क्षति पुगेको थियो ।
त्यसलाई २०५१ सालमा पुनर्निर्माण गरिएको हो । त्यो भूकम्पले दरबारमा क्षति पुगेपनि मानवीय क्षति भने जाजरकोटमा नभएको केसीले बताए । सेतो दरबार भनिने जाजरकोट दरबार २३१ बर्ष पुरानो तत्कालिन ‘शाही संरचना’ हो । १९९० को भूकम्प जानुभन्दा ३८ बर्षअघि १८५२ सालमा यसको निर्माण गरिएको थियो । तत्कालिन जाजरकोटी राजा ईन्द्रनारायण शाहको पालामा खलंगा क्षेत्रको सबैभन्दा अग्लो भाग छनोट गरेर यो दरबारको निर्माण गरिएको थियो ।
त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । २०८० सालअघि यो दरबारमा केही बर्ष जिल्ला विकास समिति र कृषि विकास बैंकका कामकाज हुन्थ्यो । संघीयतापछि जिल्ला समन्वय समितिको कार्यालय त्यहाँबाट चल्यो । २०८० को भूकम्पले उक्त दरबारमा पनि आंशिक क्षति गरेपछि अहिले खाली छ ।
रातो दरबार बनेको २७ बर्षपछि राजा ईन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर अर्को दरबार बनाएको जाजरकोट दरबार इतिहासका केसीले बताए । यो दरबार सुरुमा बनाउँदा पनि जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । यसका लागि राजाले जनताले श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए । राजा ईन्द्रनारायणका पालामा यो दरबार कति तलाको थियो भन्ने यकिन जानकारी भने छैन ।
जाजरकोट दरबारको समग्र संरचनामा पुनर्निर्माण गर्दा परिवर्तन गरिएको वा नगरिएको बारेमा पनि यकिन जानकारी छैन । तर इतिहासका जानकारहरुले सुरुमा बनेको संरचनामै भूकम्पपछि पुनर्निर्माण गरिएको दावी गरेको केसी बताउँछन् । यो दरबारको पुनर्निर्माण गर्दा भक्तपुरबाट नेवार समुदायका ईञ्जिनियर बोलाईएको थियो ।
राजाको शासनपछि गृहको प्रशासन
तीनपटक भूकम्पीय क्षति भोगेको जाजरकोट दरबारबाट ईन्द्रनारायण पछिका सात जना राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए । ईन्द्रनारायण भन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष केसीका अनुसार जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत २०१७ सालदेखि भने अरु सरकारी कामकाज गर्न थालिएको हो । प्रकाश विक्रमदेखि पछिका राजाहरु २०१७ देखि नै ती दरबारमा बस्न छोडेका थिए । २०१७ सालमै जाजरकोटी राजा प्रकाश विक्रमले नेपाल सरकारलाई तत्कालिन समयमा ६० हजार रुपैयाँ मूल्य लिएर जाजरकोट दरबार बेचेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रुपमा परिणत भएको हो ।
त्यसयता सेतो दरबारबाट गृह प्रशासन चल्न थाल्यो । जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान आयोगको कार्यालय, जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र यसबाट सञ्चालन भएका थिए । जाजरकोट भूकम्पपछि ती निकाय दरबार नजिकैका अस्थायी संरचना निर्माण गरेर सञ्चालन भईरहेका छन् । सोतो दरबार भन्दा २७ बर्ष जेठो रातो दरबारबाट पनि मालपोत, जिल्ला विकास समिति, सरकारी स्वामित्वका बैंक लगायतले केही समय कार्य सञ्चालन गरेका थिए ।




