मुगु दुर्घटनाः घाइतेको हेलिकोप्टरबाट उद्धार
गाेल्डेन बुढा
जुम्ला,३० कार्तिक ।
मुगुको रारा ताल जाने क्रममा गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । आइतबार मुगुको छायानाथ नगरपालिका– ७, टोप्लामा बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटनामा परेको थियो । उक्त दुर्घटना तीन जनाको मृत्यु भएको छ। भने दुई जना घाइते भएका थिए ।
सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरले ललितपुर महानगरपालिका– १५ का गाडी चालक ५८ वर्षीय कन्चन थापा र उनकी श्रीमती अन्जु थापालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगेको मुगुका डिएसपी रविराज थपलियाले बताए। उनले घाइतेको थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल रेफर गरिएको बताए ।
जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टर उद्धार गरिएको हो । प्रहरीका अनुसार उनीहरू मध्य एकको अवस्था गम्भीर छ । उक्त दुर्घटनामा काठमाडौंको कलंकी स्थायी ठेगाना भएका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको थियो । उनीहरू रारा ताल घुम्न निस्केका पर्यटक थिए ।





