सेप्टेम्बरमा इंग्याण्डमा हुन सक्छ आइपिएल

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को यो सिजन ३१ खेलपछि स्थगित भएको थियो। भारतमा बढ्दो कोरोना महामारीबीच खेलाडी तथा पदाधिकारीमा पनि कोरोना संक्रमण देखिन थालेपछि आइपिएल स्थगित गरिएको थियो।
त्यसपछि बिसिसिआई लगातार आइपिएलका बाँकी खेल खेलाउन प्रयासरत छ। जसका लागि बोर्डले २० दिनको विन्डोको खोजी गरिरहेको छ। टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार यो प्रतियोगिता अगस्ट र सेप्टेम्बरमा इंग्ल्यान्डमा हुन सक्ने जनाइएको छ।
बिसिसिआईले यसका लागि इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी)सँग छलफल गरिरहेको छ। जसमा इंग्ल्याण्ड सकारात्मक रहेको जनाइएको छ। आइपिएलका लागि इंग्ल्यान्ड र भारतबीच हुने ५ खेलको टेस्ट सिरिजको सेड्युल पनि फेरबदल हुन सक्ने छ।
आइपिएलका लागि भारत र इंग्ल्याण्डबीचको सिरिज अगस्टमै पूरा गर्न सक्ने जनाइएको छ। बिसिसिआईका लागि आइपिएल पूरा गर्नु अहिलेको मुख्य प्राथमिकताका रुपमा छ।
त्यसकारण बोर्डले इंग्ल्याण्डलाई पहिलो प्राथमिकतामा राखेको छ। टेलिभिजन राइट पाएको स्टार स्पोर्टसले पनि इंग्ल्याण्डमै प्रतियोगिता हुनुपर्नेमा जोड गरिरहेको छ।
अहिले भारत र इंग्ल्याण्डबीचको सिरिज ५ खेलको टेस्ट सिरिज ४ अगस्टबाट १४ सेप्टेम्बर सम्म गर्ने कार्यतालिका छ।






