कोरोना नियन्त्रण जनताबाटै सम्भव

पवनकुमार भट्ट । सरकारले जनता बनाएको हैन, जनताले सरकार बनाएका हुन । जनता भएको कुरा नेपालको संविधानको धारा २ ले सार्वभौमसत्ता जनतामा निहित हुने भन्ने वाक्यांशले प्रष्ट पार्दछ । मान्छे समय परिस्थिति र सन्दर्भअनुसार आत्तिने मात्तिने, ज्ञानी भलाद्मी, उग्र अपराधी, गुण्डा, राक्षस वा भगवान सबै थोक बन्न सक्छ ।
जसको उदाहरणको रुपमा प्रधानमन्त्रीले नेपालको ४२ औं प्रधानमन्त्रीको सपथ खाने बेलाको व्यवहारलाई लिन सकिन्छ । जुन शब्द उहाँ आफूले सपथ खाँदा त्यो पर्दैन भन्नुभो र महामहिम राष्ट्रपति खित्त हाँस्नु भो । तर मन्त्रीलाई सपथ खुवाउँदा प्रधानमन्त्रीले सोही शब्द उच्चारण गराउनु भो ।
कानुनी राज्य विधिको शासन कागजमा कि व्यवहारमा ? कसैलाई सबैभन्दा बढी माया के को लाग्छ भनेर सोध्यो भने भर्खर प्रेम परेकाले प्रेमी प्रेमीकाको भने पनि अधिकांशले ज्यानको भन्छन् । तर अहिले कोभिड १९ को माहामारीका कारण त्यै ज्यान जोगाउन सबैलाई धौधौ भई रहेको छ । सावधानी अपनाउँदा अपनाउँदै पनि कतिबेला संक्रमणको चपेटामा परिने हो भन्ने डर सबैमा व्याप्त छ । केहि काम गर्न पनि कोरोनाले कहाँ कति बेला कसरी मरिने हो भन्ने डर आमनागरिकलाई छ ।
घर परिवार आफन्त नातागोता इष्ट मित्रले मर्ने बेला भेटघाट गर्न पाउने हुन या होइनन् । मरेपछि पनि धार्मिक संस्कार अनुसार आफन्तले दाहसंस्कार गर्न नपाउने भए, आफन्तले चितामा दागबत्ती नदिदा स्वर्ग जाने बाटो नै रोकिने भो । विगतमा मरेर गएका आफन्तहरूसँग भेटघाट नहुने भो मर्ने बेलामा अर्ती उपदेश दिन र आफन्तको हातबाट अन्न पानी र पिण्ड समेत खान नपाइने भो भन्ने चिन्ताले कतिलाई निद्रा राम्रोसँग परेको छैन ।
कोरोनाबाट बच्नका लागि मास्क, सेनिटाइजर, साबुन पानीको प्रयोग र भौतिक दुरी कायम गर्ने नै अचुक औषधि भनिए पनि यसको प्रयोग गर्न खै किन हो सर्वसाधारणदेखि उच्चपदस्थ कर्मचारीलाई गाह्रो नै परेको देखिन्छ । अहिले पनि कोरोना पोजेटिभ भएको ब्यक्ति घरमा आईसोलेसनमा बस्नुको सट्टा बिना मास्क मर्निङ्वाक जाने, उतैबाट तरकारी किन्ने, बजारबाट अन्य सरसामान किनेर ल्याउने र बाटोमा हिँड्दा भौतिक दुरी कायम नगर्ने गरेका कारण संक्रमण बढ्दो क्रममा छ ।
कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले विभिन्न नीतिगत प्रयासहरु गरिरहेको अवस्था भए पनि दिनानुदिन संक्रमणको दर बढ्नुले रोगको पहिचान, उपचार, न्यूनिकरण र रोकथाममा अपेक्षित सुधार हुन सकेको छैन । निषेधाज्ञाका कारण सर्वसाधारणको जीवनयापन कठिन बन्दै जानु र कोरोना नियन्त्रण तथा न्यूनिकरणका प्रयासहरु अपेक्षित रुपमा फलदायी बन्न नसक्नु सरकारको लागि चुनौतीको विषय बनेको छ ।
नागरिकहरु कोरोना रोगप्रति सजग र सचेत नहुदा संक्रमण फैलिन मद्दत पुगेको देखिन्छ । स्थानीय निकाय र तहले थालेको निषेधाज्ञाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आम नागरिकको जनजीवनमा प्रभाव पारिरहेको छ । मास्क तथा सेनिटाइजरको प्रयोग नगरिएको जस्ता कारणले कतै हामी हाम्रो जीवनप्रति खेलबाड गर्दै कोरोना घर परिवारमा भित्राइ रहेका त छैनाैं ? यसबाट कोरोना संक्रमण फैलनसक्ने जोखिम बढेर गएको छ ।
सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोगलाई कडाईका साथ लागु गर्ने, साबुन पानीले हात धुने वा सेनीटाइजर प्रयोग गर्ने जस्ता सावधानीबाट बच्न सकिने कुरामा स्थानीय तहले झक्झक्याउनुपर्ने देखिन्छ । सरोकारवाला निकायहरूबाट अनुगमन गर्नुपर्ने र नागरिक सचेतना गर्नुपर्ने अति आवश्यक छ ।
त्यसका लागि सबै ब्यक्ति, घरपरिवार, गाउँ समाजले आआफनो तर्फबाट कर्तब्य निर्वाह गर्नु जरुरी छ । हामी सबैले असल नागरिकको कर्तब्य निर्वाह गरी सामाजिक दुरी, मास्कको उचित प्रयोग तथा आवतजावतका क्रममा भीडभाड गरेनौं भने निषेधाज्ञा नलाए पनि जनताले कोरोना दुई हप्तामा नियन्त्रण गर्न सक्छन् ।
कोरोना रोकथाम, नियन्त्रण तथा न्यूनीकरणमा सरकारबाट गरिएका हालसम्मका प्रयासहरूको समीक्षा गर्दा केही सकारात्मक हुँदाहुँदै पनि सरकारले यथेष्ट ध्यान पुर्याउन नसकेको प्रष्ट देखिन्छ । उपचार, विपद व्यवस्थापन, उद्दार, राहत का लागि वर्तमान अवस्थामा जति काम गरेपनि सरकारले आमनागरिकको घाउमा मलमपट्टि लाउन सकेको छैन ।
बिमारी बेड खोज्दाखोज्दै मर्न बिबस छन् । यदाकदा बेड पाइयो भने बिरामीका आफन्तले अक्सिजन खोज्दै दौडनु पर्ने ! हामी सबैको साथ सहयोग समन्वय र सहकार्यले कोराना कहरबाट आफु मात्र हैन अरुलाई पनि बचाउन सक्छौ। यसैमा घर परिवार गाउँ समाज स्थानीय तह, नेपाल सरकार सबैको भलो देखिन्छ। कोरोना नियन्त्रण सरकारले हैन आम जनताले गर्न सक्छन् ।
धन्य ओली सरकार सजिलोका बेला सिलिन्डर जत्रतत्र अप्ठ्यारोको बेला बिमारी कोमामा, बाहिर निषेधाज्ञा, सवारीसाधन भए पनि सवारी पास खोज्दा खोज्दै कतिपय मान्छेको ज्यानगएको छ । अस्पतालमा अक्सिजन छैन भने किन बिरामीको भर्ना गर्नु पर्यो त यो सरासर हत्या नै हो । यसको जिम्मेवारी सरकारले लिनु पर्छ । अस्पताल भर्ना भएर अक्सिजनको अभावमा मरेका जतिको जिम्मा सरकारले किन नलिने ? अक्सिजन अभाव हुनु जनताको समस्या हैन त्यो सरकारको समस्या हो।
अस्पताल सरकारले चलाएका कारण त्यसको जिम्मा सरकारले लिनु पर्छ । जनता सरकारले हामीलाई बचाउन हैन मार्नका लागि अस्पताल खोलेका रहेछन् भन्दैछन् । वर्तमान परिवर्तित सन्दर्भमा संक्रमण झनै बढ्दै जाँदा थप सतर्कता अपनाउनु पर्नेमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण आजको टडकारो आवश्यकता रहेको छ । तीनै तहका सरकारको मुख ताकेर जनता अझ पनि असल नागरिकको कर्तब्य निर्वाह गर्दैनन् भने अस्पतालमा हैन घरघरमा कोरोनाका बिमारी राख्ने ठाउँको अभाव भोलिका दिनमा नहोला भन्न सकिन्न ।
लकडाउनको अवधिमा बिष सेवन, मानसिक सन्तुलन गुमाउने, महिला हिंसा, बलात्कार, तथा आत्महत्याका घटनामा बढोत्तरी भएको छ। यी सवालहरूलाई सम्बोधन गर्न, संक्रमित र परिवारलाई मनोसामाजिक परामर्शको समेत आवश्यकता रहेको छ । लम्बिँदो निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भइरहेकोले बालबालिकाहरु इन्टरनेटको गलत प्रयोगमा फस्न सक्ने अवस्था बढ्दै गएको छ ।
लामो समयसम्म अनलाइनबाट संचालित कक्षाहरूमा संलग्न हुँदा तिनीहरुको स्वास्थ्यमा समस्या देखापर्ने गरेको छ ।
बालबालिकाहरु घर कोठाको चौघेरा भित्रै थुनिनु पर्ने अवस्थाले खेल्ने, मनोरञ्जन गर्ने र खुला प्राकृतिक वातावरणमा रम्न र बस्न नपाएको अवस्था छ । जसले विभिन्न मनोसामाजिक असरहरू पर्न सक्ने सम्भावना बढदै गएको यस परिवेशमा अझै केहिदिन सबैजना घरमा बस्न सक्यौं । हामी सबैको साथ सहयोग समन्वय र सहकार्यले कोराना कहरबाट आफु मात्र हैन अरुलाई पनि बचाउन सक्छौ। यसैमा घर परिवार गाउँ समाज स्थानीय तह, नेपाल सरकार सबैको भलो देखिन्छ । कोरोना नियन्त्रण सरकारले हैन आम जनताले गर्न सक्छन् ।
(थाहाखबरबाट)






