नेपाललाई दिए डेनमार्क र आयरल्याण्डले स्वास्थ्य सामग्री

रासस । डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ। युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पुर्‍याउन उक्त सामग्री उपलब्ध गराएका हुन्।

डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क छन्। ती सामग्री यही असार ३ गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री आजै (शनिबार) नेपाल ल्याइँदैछ।

यस्तै, आयरल्याण्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, ४०० वटा पल्स् अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, १०० वटा थर्मामिटर, ७२८ वटा अक्सिजन रेगुलेटर, ३९८ एयर रेगुलेटर, दुई लाख एक हजार ६०० वटा फेस् शिल्ड् र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ईयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गर्नुभएको थियो। यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भएपछि प्रदान गरिएको हो।

सो अवसरमा मन्त्री तामाङले कोभिड १९ विरुद्ध लड्दै गरेको नेपाललाई एक्यवद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नु हुने इयुका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे।

कार्यक्रममा इयुकी राजदूत डेप्रेले इयुसो सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको बताइन्। उनले भनिन्, ‘यो महामारीको सुरुवातदेखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र यस किसिमको सहयोग गर्न हामी तयार छौँ। सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन।‘

महावाणिज्यदूत धरेलले दुई देशबीच लामो समयदेखि मैत्री सम्बन्ध रहिआएको र नेपालको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको डेनमार्कले विगतका प्राकृतिक विपद्का समयमा पनि सहयोग गरेको र यसपटक पनि कोभिडविरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइदिएकामा डेनमार्क सरकारप्रति आभार व्यक्त गरे।

यसअघि स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनी, स्लोभेनिया, अष्ट्रिया र माल्टा पनि नेपाललाई विभिन्न चिकित्सा सामग्री सहयोग गरिसकेका छन्।

नेपाललाई दिए डेनमार्क र आयरल्याण्डले स्वास्थ्य सामग्री

एमाले एकता : बागमतीमा एकजुट भएर केन्द्रमा

नेपाललाई दिए डेनमार्क र आयरल्याण्डले स्वास्थ्य सामग्री

यी हुन्, बलिउडमा भविष्य खोज्दै जाने नेपाली

Leave a comment

Your email address will not be published. Required fields are marked *