संघीय सरकारले दियो प्रदेश अस्पताललाई १९ करोड बजेट

सुर्खेत । संघीय सरकारले कोरोना महामारीसँग जुध्न कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई १९ करोड बजेट उपलब्ध गराएको छ । प्रदेश अस्पताल कर्णालीमा सबैभन्दा बढी बिरामीलाई उपचार सेवा दिने अस्पताल हो ।
तर पछिल्लो समय कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव भएपछि संघीय सरकारले अस्पताललाई बजेट उपलब्ध गराउने निर्णय गरेको हो । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पतालमा तत्काल अक्सिजन प्लान्ट स्थापना, भेन्टिलेर र अन्य उपकरणका लागि बजेट माग गरेको थियो ।
आइतबार मात्र अर्थ मन्त्रालयले देशभरका अस्पतालहरुलाई बजेट निकासा गरेको छ । त्यसक्रममा सुर्खेतमा रहेको प्रदेश अस्पतालका लागि पनि १९ करोड पाँच लाख ४० हजार बजेट स्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र भेन्टिलेटर जडानका लागि उक्त बजेट निकासा गरिएको जनाएको छ ।
प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्याकं र भेन्टिलेटरका लागि १२ करोड ८० लाख रुपैयाँ स्वीकृत गरेको छ । यस्तै सोही अस्पतालमा एचडीयु स्थापनाका लागि थप ६ करोड २५ लाख ४० हजार बजेट उपलब्ध गराउने भएको छ । यो बजेटबाट अस्पतालले अक्सिजन प्लान्ट स्थापना र भेन्टिलेटर सेवा संचालन गर्नुपर्ने छ ।
बजेट अभावमा अक्सिजन प्लान्ट संचालन हुन नसकेको कर्णालीमा अब ठूलो क्षमताको अक्सिजन प्लान्ट संचालन हुने भएको छ । यो बजेटले कोरोना महामारीसँग जुध्न सहज हुने अस्पतालले जनाएको छ ।
प्रदेश अस्पताललमा हाल संक्रमितको संख्या बढेपछि अस्पताललाई थेग्न समस्या भएको छ ।
संक्रमितको संख्या बढे पनि अक्सिजनले धान्ने अवस्था छैन । यस्तै आवश्यक भेन्टिलेटर र आईसीयु लगायतका उपकरणहरु पनि पर्याप्त छैनन् । संघीय सरकारले बजेटको व्यवस्थापन गरेसँगै अब सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ । साथै बिरामीले पनि अस्पतालमा सहज रुपमा भरपर्दो सेवा पाउनेछन् ।

प्रदेश सरकारले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने
कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव भइरहेको बेला कर्णाली प्रदेश सरकारले पनि सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवत्ता मन्त्री कुर्मराज शाहीले जानकारी दिए ।
उनका अनुसार तत्काल प्लान्ट संचालन गरिने छ । ‘एक महिनाभित्र सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने निर्णय भएको छ’ मन्त्री शाहीले भने, ‘द्रुत गतीमा प्लान्ट स्थापना गरिने छ । प्लान्ट सञ्चालनका लागि भने निजी क्षेत्रसँग सहकार्य गरिने छ । यसअघि सुर्खेतमा स्थापना गर्ने भनिएका र गरिएका प्लान्टले क्षमता अनुसारको उत्पादन गर्न सफल नभएका कारण अब प्लान्ट सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइने छ । यस्तै कन्सन्ट्रेटर खरिदका लागि पाँच करोड ४५ लाख बजेटसमेत छुट्याएको छ ।
बजेटको व्यवस्थापन भइसकेका कारण जतिसक्यो चाँडो प्लान्ट सञ्चालनमा आउने सरकारको दाबी छ । प्लान्ट स्थापना तथा सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । तर प्लान्ट सञ्चालनमा आउँदा सम्मका लागि अक्सिजन सिलिण्डर खरिद गरिने छ । तत्कालको मागलाई ध्यानमा राख्दै प्रदेश सरकारले अक्सिजन सिलिण्डर खरिदका गर्न सात करोडभन्दा बढी रकम छुट्याएको छ ।
कर्णाली प्रदेशभर आवश्यक पर्ने अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापनका लागि सात करोड ३५ लाख रुपैयाँ छुट्याएको हो । त्यस्तै संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने औषधि (रेम्डिसिभिर) लगायतका औषधि खरिद्को लागि एक करोड बजेट छुट्याइएको छ । रेम्डिसिभर निमुखा र विपन्न नागरिकलाई निःशुल्यक विरतरण गरिने छ ।
उल्लेखित सबै स्वास्थ्य सामग्री खरिदका लाग प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुमति दिने निर्णय गरिएको हो । त्यस्तै कोरोना संक्रमित विरामीको उद्दारको लागि एक करोड बजेट छुट्याएको छ । दुर्गमका संक्रमितलाई हेलिकोप्टरबाट उद्दार गर्न एक करोड बजेट छ्ुट्याइएको हो ।
केन्द्र सरकारसँग एमालेका सांसदहरुको गुहार
कर्णालीमा आवश्यक अक्सिजन र सिलिण्डरको व्यवस्था गरिदिन कर्णालीका एमाले सांसदहरुले केन्द्र सरकारसँग माग गरेका छन् । आइतबार कर्णालीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद र एमाले संसदीय दल कर्णाली प्रदेशले केन्द्र सरकारका स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी र राज्यमन्त्री नवराज रावतलाई भेटेर कोरोना नियन्त्रणमा सहयोग गर्न माग गरेका हुन् ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरु धु्रवुकुमार शाही, राजबहादुर बुढा, पार्वतीकुमार विशुङ्के, मोहन बानियाँ, एमाले संसदीय दल कर्णाली प्रदेशका दलका नेता यामलाल कँडेल र प्रमुख सचेतक गुलावजंग शाहले कर्णालीमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्नमा सहयोग गर्ने केन्द्र सरकारलाई आग्रह गरेका हुन् ।
उनीहरुले तत्काल प्रदेशमा अक्सिजन र स्वास्थ्यकर्मी पठाइदिन माग गरे । ‘कोरोना नियन्त्रणका लागि केन्द्र सरकारलाई सहयोग गर्न माग गरेका छौँ’ सांसद ध्रुवकुमार शाहीले भने, ‘मन्त्रीलाई भेटेर तत्काल कर्णाली प्रदेशमा अक्सिजन र जनशक्ति पठाइदिन आग्रह गरेका छौँ ।’ कोरोनाका कारण मृत्युदर बढ्दै गएको महामारीमा केन्द्र सरकारबाटको तर्फबाट उपयुक्त कदम चाल्न स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्रीलाई आग्रह गरेका शाहीले बताए ।
कर्णालीमा कोरोना महामारी नियन्त्रणका लागि प्रदेश अस्पतालमा दैनिक पाँचसय सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट र हरेक जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनमा सहयोग गर्न सांसदहरुले अनुरोध गरेका हुन् । यस्तै सांसदहरुले कर्णालीमा एक हजार सिलिण्डर र स्वास्थ्यकर्मी पठाउन पनि माग गरेका छन् ।






