सरकार ढाल्ने खेलमा लाग्नेविरुद्ध प्रतिवादमा उत्रिनुस् : ईश्वर पोख्रेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरका छन् ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।
निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त सृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

उनले भने, ‘ राजनीतिक अस्थिरता भइरह्यो भने, सरकार ढाल्ने खेल भयो भने । सरकार त ५ वर्षका लागि आएको हो निर्वाचित भएर। सधैँ बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् ।’
अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न सरकार ढाल्ने, सरकार ढाल्ने खेल भएको उनको भनाइ थियो । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी रहेको पनि उनले बताए ।
उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सृजना भएको बताए । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो ।
उनले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए । उनले स्थानीयस्तरमा हुने विकाश निर्माणलाई राजनीतिक रूपमा नहेर्न आग्रह गरे । राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।






